प्रदेश नम्बर चारको नाम अन्तत: गण्डकी
पोखराः लामो रस्साकस्सपछि प्रदेश नम्बर ४ को नाम गण्डकी राखिएको छ । शुक्रबार बसेको प्रदेश ४ को संसद बैठकमा गरिएको मतदानमा ५६ मध्ये ५४ जनाले गण्डकीको पक्षमा मत जाहेर गरेका थिए ।
जातीय आधारमा प्रदेश ४ को नाम तमुवान राखिनुपर्ने आवाज उठिरहेका बेला प्रदेश संसदको बहुमतले नाम गण्डकी राख्ने निर्णय गरेको हो । गण्डकी नामको विपक्षमा केबल २ जना मात्रै सांसद उभिएका थिए । नयाँ शक्तिका सांसदहरु हरिशरण आचार्य र धनमाया लामाको मात्रै यो नाममा असहमति जनाएका थिए ।
प्रदेश ४ ले यसअघि नै स्थायी राजधानी पोखरालाई तोक्ने निर्णय गरिसकेको छ । प्रदेशको नाम जातीय आधारमा राखिनुपर्ने माग विभिन्न जातीय संगठनले गरेपनि नदीको नामलाई नै प्रदेश संसदले अनुमोदन गरेको हो ।