झलनाथ खनाल भन्छन् : माक्र्सवादको व्याख्या समय सापेक्ष गरौं
नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टीका बरिष्ठ नेता झलनाथ खनालले माक्र्सवादको व्याख्या समय सापेक्ष रुपमा गर्नुपर्ने बताएका छन् । कार्ल माक्र्स जन्म द्वीशतवार्षिकी समारोहले शुक्रबार नेपालगन्जमा प्रदेश ५ स्तरीय प्रादेशिक गोष्ठीको उद्घाटन गर्दै नेता खनालले माक्र्सवादमा आधारित रहेर पनि समाजवाद हुँदै साम्यवादमा पुग्ने बाटो देश अनुसार फरक हुने बताए ।
उनले उत्तरी छिमेकी देश चीनको उदाहरण दिँदै भने, ‘विश्वमा कम्युनिस्ट व्यवस्था ओरालो लागेको बेला चीन नयाँ ढंगले अघि बढ्न सुरु गर्याे । खुलापनको नीति थाल्यो । अत्यन्त तिब्र गतिमा सुधार भयो । यद्यपी त्यो सुधारलाई पूँजीवादको कुरा हो भनेर कम्युनिष्टहरुले आरोप लगाए । वहसहरु भए ।’
त्यही चीन विश्वको दोस्रोे शक्तिशाली राष्ट्र भएको छ । अहिले चिनियाँ विशेषताको समाजवादको रुपमा व्याख्या हुन थालेको खनालले बताए । उनको कथन थियो, ‘हरेक देशमा कसरी समाजवाद निर्माण गर्ने त्यसका कार्यदिशा र सिद्धान्त त्यो देशको कम्युनिस्ट पार्टीले विचार गर्नुपर्ने कुरा हो ।’
त्यस्तो समाजवादको बाटो तय गर्न अरुका कुरा सुन्ने र आफ्ना अडान नछोड्ने नीति लिनुपर्ने खनालको भनाइ थियो । उनले नेकपामा विगतमा एमाले र एमाओवादी जस्तो गुटबन्दी, पक्षधरता, पार्टीमा कसैलाई जिम्मेवारी नदिने र कसैलाई जिम्मेवारी बढी दिने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने पूर्वनिर्धारित कार्यक्रम पार्टी बैठकका कारण स्थगित भएको थियो । सो अवसरमा कार्ल माक्र्स जन्म द्वीशतवार्षिकी समारोहका संयोजक तथा नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुसाल र सह–संयोजक राम कार्की लगायतले कार्ल माक्र्सका विचार अहिले पनि सान्दर्भिक भएको बताएका थिए ।
गोष्ठीमा प्रदेश ५ का १२ जिल्लाका नेकपा लगायत अन्य कम्युनिस्ट घटकका १ हजार पाँच सय कम्युनिस्ट कार्यकर्ताहरुको सहभागिता रहेको छ । गोष्ठी शनिबारसम्म चल्नेछ ।