जसको नसा नसामा नृत्य छ

जसको नसा नसामा नृत्य छ

काठमाडौं : ‘अब नाच्छ नेपाल’ भन्ने नाराका साथ एपी वान टेलिभिजनले सुरु गरेको प्रथम डान्स रियालिटी सो बुगीवुगीमा कडा प्रतिस्पर्धा चलिरहेको छ । शुक्रबार राति भएको एलिमिनेसन राउन्डबाट छानिएका उत्कृष्ट पाँच प्रतियोगी टाइटल विजेता बन्ने प्रतिस्पर्धामा छन् ।

बुगीवुगीका लागि अनलाइन अडिसनमार्फत देशभरबाट तीन हजार डान्सर सहभागी भएका थिए । तीमध्ये एक सय ५० डान्सरलाई दोस्रो राउन्डको अडिसनका लागि काठमाडौं बोलाइएको थियो । उनीहरूमध्येबाट उत्कृष्ट १८ प्रतियोगी छानिए । उनीहरूबाट पनि भिडियो राउन्ड, कला प्रदर्शन राउन्डलगायत विभिन्न चरणका कठिन सिँढी उक्लँदै उत्कृष्ट पाँच छनोट भएका हुन् ।

डान्स रियालिटी सोको ग्रान्ड फिनाले साउन १२ गते काठमाडौंमा हुने कार्यक्रम प्रमुख सुरेश पौडेलले जानकारी दिए ।

भारतको सोनी टेलिभिजनसँगको सहकार्यमा एपी वान टेलिभिजनले नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय फेन्चाइजको रियालिटी सो आयोजना गरिरहेको छ ।

एपी वान टेलिभिजनको स्टुडियोसँगै रहेको एउटा घरको चौथो तल्ला । बुगीवुगीमा सहभागी डान्सरहरू सात महिनादेखि यही घरमा छन् । बुधबारको दिन, यतिबेला कोही लुगा मिलाउँदै थिए त कोही जुत्ता सफा गर्दै । कोही कोठाभित्र नृत्यका विभिन्न मुद्राको अभ्यासमा व्यस्त थिए । बुगीवुगीको अन्तिम ६ सहभागीको प्रर्फमेन्स राउन्डको छायांकन सुरु हुने समय हुन लागेको थियो । हजारौंबाट छानिएर उत्कृष्ट १८ हुँदै विभिन्न एलिमिनेसन राउन्ड पार गर्दै यहाँसम्म आइपुगेका जुझारु ६ जनामा थिए सृष्टि महर्जन, प्रगति पुन, प्रतिष्ठा पौडेल, रविन भुजेल, सरोज मोक्तान र कविता नेपाली ।

बुगीवुगीको ‘क्लोज क्याम्प’ मा उनीहरूको दिनहुँ तालिम र अभ्यास चलिरहेको छ । सात महिना भइसक्यो घर जान नपाएको । कहिले होमसिक हुन्छन् त कहिले परिवारको यादमा विचलित पनि ।

प्रतिष्ठा भन्छिन्, ‘भाइसँग मात्र सानो परिवारमा हुर्केकी म । सुरुसुरुमा त निकै गाह्रो भयो । अहिले सहभागी नै परिवारजस्तो भएका छांै ।’ सबैलाई बुगीवुगीको टाइटल जित्ने भोक छ । बिहान ५ बजे उठेदेखि उनीहरू नृत्यको अभ्यासमा लागिहाल्छन् । कुनै स्टेप राम्रोसँग मिलेन भने उनीहरू रातभर पनि अभ्यास गरिरहन्छन् । नृत्यबाहेक उनीहरूलाई केही सोच्ने फुर्सद छैन ।

बुगीवुगीको सेटमा आएदेखि नै उनीहरूले धेरै सिक्ने मौका पाए । समूहमा घुलमिल हुने, फरक मान्छे र वातावरणमा सामञ्जस्य मिलाउने तरिका उनीहरूले यहीँ आएपछि सिके ।

विजेता को हुने हो त्यो त प्रतियोगिताको आगामी चरणले बताउँदै जानेछ तर उत्कृष्ट प्रतियोगीको संघर्षको कथा भने सबैका लागि प्रेरणाको स्रोत बनिरहन्छ ।

सृष्टि महर्जन

स्वयम्भूकी १६ वर्षीया सृष्टि मर्हजन संयुक्त परिवारमा हुकेकी हुन् । अजा, अजी, बुवा, आमा, काका, काकीहरू सगोलमा छन् । घरमा दिदी नाचेको देखेरै उनी पनि सानैदेखि नाच्न थालिन् । स्कुलमा हुने कार्यक्रममा अक्सर पनि जितेर आउने गर्थिन् । सृष्टिको नृत्य कलाको औपचारिक शिक्षा भने सन् २०१० सुरुबाट भएको हो । स्वयम्भूको ढल्कुमा नेपाल डान्स एकेडेमी स्थापना भएपछि उनी त्यहीँ जान थालिन् । उक्त एकेडेमीमा कोरियोग्राफर थिइन् रोहिया महर्जन ।

त्यही एकेडेमीमा सिक्न आउनेलाई आफूले जानेको सिकाउने र आफू पनि सिक्ने गरिन् । यसले उनको क्षमता थप माझिने मौका पायो । उनको घरमा गाई फर्म छ । उनका बुवा फोटोग्राफर हुन् ।

सिर्जना आर्ट कलेजमा फाइन आर्टकी विद्यार्थी हुन् उनी । पढाइमा समेत अब्बल सृष्टिले अघिल्लो सेकेन्ड सेमेस्टरको परीक्षामा गोल्डमेडलसमेत पाएकी थिइन् । बिहान कलेज त्यसपछि डान्स एकेडेमीमा सात÷आठ घन्टा समय बिताउने उनले बुगीवुगी कार्यक्रमको प्रोमोमा समेत गु्रप डान्स गरेकी छन् ।

जित्छु नै जस्तो लाग्छ त ?       उनी भन्छिन्, ‘खै सकेसम्म आफूले वेस्ट दिने हो । जजको कति मन खान्छ र दर्शकले कसरी लिनुहुन्छ त्यो उहाँहरूको अधिकारको कुरा हो ।’ भन्छिन्, ‘टप ६ मा पुगेपछि जिम्मेवारी बढेको जस्तो लाग्छ । विजेता बने पनि नबने पनि यहाँसम्म आइपुग्नु नै मेरो लागि विशेष हो । यहाँ सिकेका सीप र ज्ञान अरू समक्ष बाड्ने योजना छ । रिजल्ट फेयर हुन्छ भन्ने पूर्ण विश्वास छ ।’ नेपालमै बसेर डान्समै केही गर्न धेरै भन्दा धेरै ज्ञान हुन जरुरी छ । यसका लागि विदेश पढ्न जाने सोच उनले बनाएकी छन् ।

प्रतिष्ठा पौडेल

भक्तपुर बालकोटकी १९ वर्षीया प्रतिष्ठा पौडेल मल्टिमिडिया विषयमा स्लिलिङ्टन कलेज कमलपोखरीमा स्नातक दोस्रो वर्षमा अध्ययनरत छिन् । सानो हँुदा औपचारिक रूपमा डान्स सिक्ने मौका नमिले पनि उनलाई घरमा भने कुनै कुराको अभाव थिएन । बुवाआमाले जहाँ जे गर्छु भने पनि लैजाने गर्थे उनलाई । स्कुलको डान्स टिचरबाट नृत्यका केही स्टेप सिक्ने अवसर पाएकी उनी स्कुलबाट विभिन्न डान्स प्रतियोगितामा भाग लिने अवसर पाएकी थिइन् ।

प्रतिष्ठा ब्युटी पेजेन्ट लिटिल लेडी भक्तपुरकी विजेता तथा लिटिल चाम्सकी विजेता हुन् । उनी डीआईडी लिटिल मास्टरको सिजन २ मा पनि टप सयसम्म पुगेकी थिइन् । पटनामा दुईवटा अडिसन, कोलकातामा दुई पटक र मुम्बईमा एक पटकको अडिसनमा छनोट भएपछि मात्र उनी डीआईडीमा पुगेकी थिइन् ।

। उनका बुवाआमा दुवै सरकारी जागिरे हुन् ।

उनी भन्छिन्, ‘नाच मेरो रगतमा बगेको छ जस्तो लाग्छ । म नाच्नकै लागि जन्मेकी छु सायद । डान्स गर्दा अद्भुत खालको महसुस हुन्छ । डान्स नै मेरो जिन्दगी हो ।’

डान्सको टेक्निकल पाटोमा आफूलाई केही थाहा नभएको र बुगीवुगीमा आएपछि मात्र यसको धेरै कुरा सिक्ने मौका पाएको बताउँछिन् उनी । कोरियोग्राफर गम्भीर विष्टसँग एक वर्ष डान्स सिकेकी छन् उनले ।

फिल्म बनाउने तथा भिडियो खिच्ने काममा पनि चाख राख्ने प्रतिष्ठा डान्स भनेको आफूमा लुकेर रहेको आफ्नो विशेष परिचय हो भन्छिन् । ‘मान्छेले बोलेरभन्दा पनि शरीरको हाउभाउबाट बढी देखाउन सक्छ । कोहीसँग कुरा गर्दा होस् या बस्दा, हिँड्दा जे गर्दा हातखुट्टाले ताल समाइरहेको हुन्छ । म आफैंसँग रमाइरहेको हुन्छु ।’

प्रगति पुन

पोखरामा रहेको क्रु क्रिस्टल क्लबमा काम गर्ने तनहँुकी प्रगति पुन क्लबमै नाच्ने, सिकाउने र नाचसम्बन्धी सम्पूर्ण काम गर्थिन् । त्यहीँ उनले डान्सको भिडियो बनाउने, गु्रप डान्समा प्रस्तुति दिने काम गर्दागर्दै नृत्यमा रस बस्यो । जिन्दगीको सबैभन्दा खुसी हुने वस्तु वा चिज नै डान्स हो जस्तो लाग्छ उनलाई । भन्छिन्, ‘नाच्न थालेपछि सब दुःख बिर्सन्छु ।’

उनी उक्त डान्स क्लबमा २०१४ बाट काम गर्न थालेकी हुन् । नेपालमा हुने डान्स प्रतियोगिता भोटिङ राउन्ड सुरु भएर भोटकै आधारमा निर्णय हुने हुँदा फेयर हुन्छ र जित्न सकिन्छ जस्तो लाग्दैनथ्यो उनलाई । तर अहिले एपी वानले सुरु गरेको कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरको प्रक्रिया अपनाइन्छ भनेर उनलाई साथीहरूले भनेका थिए । उनी अनलाइन अडिसन दिएर छनोट भएकी हुन् ।

कक्षा ११ को परीक्षा दिएपछि नै उनलाई पढ्न मन लागेन । पढाइ छाडेर डान्सतिर लागिन् । आमाले पनि बारम्बार फोन गरेर हौसला बढाइरहने गरेको उनी बताउँछिन् । । २०१२ मा बुवा गुमाएकी प्रगतिको घरमा आमा र भाइमात्र छन् । टप ६ मा आउनपाउँदा अत्यन्त खुसी लागिरहेको र डान्सबाट नसोचेको सफलता पाइरहेकोमा उनले खुसी व्यक्त गरिन् । उनी आफू नै विजेता बन्नेमा पनि आशावादी देखिन्छिन् ।

कविता नेपाली

श्री शान्ति विद्या श्रम ललितपुर ११ कक्षामा अध्ययन गर्ने सर्लाहीकी कविता नेपाली नाच के हो भन्ने थाहा नहुँदादेखि नै नाच्न थालेकी हुन् । उनलाई हात खुट्टा हल्लाउने, उफ्रने नै नाच हो भन्ने लाग्थ्यो । ‘स्टार आर्ट कल्चर’ मा सहभागी कविता त्यहीँको गु्रप ‘द अल इन वान’ मार्फत सक्रिय भएर यो क्षेत्रमा काम गर्दै आएकी छन् ।

आमाबुवाले त नाचबाट केही हुन्न, नजाऊ भनेका थिए उनलाई । उनका आमाबुवा दुवै ढलानको काम गर्छन् । सिमेन्टको काम गरेर, ज्यामी काम गरेर उनलाई पढाएका हुन् । दुवैजनाले उनलाई धेरै पढाउने सपना देखेका छन् ।

उनी मार्सल आर्टकी खेलाडी पनि हुन् । कलेजकी अब्बल विद्यार्थी पनि हुन् उनी । उनलाई नाचसँगै पढाइ पनि अघि बढाउने चाहना छ । उनी केही अगाडिसम्म मार्सल आर्ट खेल्थिन् । खेल्दाखेल्दै खुट्टामा चोट लागेपछि उनको खेल खेलेर अन्तर्राष्ट्रिय अवार्ड जित्ने चाहना अपुरो भयो ।

त्यसपछि उनलाई नाचमै केही गर्नुपर्छ भन्ने लाग्यो । ‘अवार्ड त नृत्यबाट पनि त पाइने रहेछ’, उनले आत्मविश्वास पोखिन् । जित्नभन्दा पनि राम्रो सिक्न र अब्बल प्रस्तुति दिनका लागि बुगीवुगीमा आएको बताउने कविताले डान्समा विस्तारै अवसर बढ्दै गएको जानकारी दिइन् । प्रतियोगितामा जित्नकै लागिभन्दा पनि केही सिक्न र राम्रो प्रस्तुति दिन सहभागी हुनुपर्ने उनको भनाइ छ ।

यहाँ आएपछि जजहरूले पनि अत्यन्त राम्रो सहयोग गर्ने तथा सुटिङ सकिएपछि पनि व्यक्तिगत रूपमा कमजोरी बताइदिने गरेको उनले जानकारी दिइन् । कोरियोग्राफरले पनि दिन रात नभनी अत्यन्त सहयोग गरिरहेकोमा उनी दंग छिन् ।

रविन भुजेल

विराटनगर मिल्स एरियाका रविन भुजेलले सानै हुँदा नै बुवा गुमाउनुप¥यो । हजुरबुवासँग बसेर काम गर्दै, पढ्दै गरेका हुन् उनले । तर ८ कक्षामै रोकियो उनको पढाइ । घरको सबै जिम्मेवारी उनको टाउकोमा थियो । फिल्म हलमा बरफ बेच्ने काम होस् या जुट मिलमा कामदार बनेर होस् उनले घरका आवश्यकता पूरा गर्ने काम गर्थे ।

फिल्म हेर्न मन पराउने उनी साथीसँग समूहमा नाच्ने र एक्टिङ गर्ने गर्थे । सञ्जय तामाङसँग नृत्यको सामान्य सीप सिकेका हुन् उनले । त्यसपछि डान्सर सुरज प्रधानसँग पनि लामो समय संगत गरे । सँगै हिँड्ने, नाच देखाउने गर्थे । काठमाडांै र इन्डियाका होटेलमा नाचेरै उनले जीवन गुजारेका छन् ।

बुगीवुगीमा आउनुअघि सिक्किमको क्यासिनोमा काम गर्ने रविनले डान्सकै लागि धेरै पटक हन्डर खाएका छन् । छमछमी सिजन २ को टप १२ सम्म पुगेर उनी बाहिरिएका थिए ।

रविन नेपालमा डान्सरको खासै राम्रो अवसर नभएको बताउँछन् । उनले बुगीवुगी अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता भएकाले पनि केही बढी आशा गरेका छन् । यसपछि यो क्षेत्रमा केही अवसर प्राप्त हुनेमा उनी विश्वस्त छन् ।

भारतबाट पनि डान्स टिचर बोलाएर बुगीवुगी आयोजकले अत्यन्तै राम्रो तालिम दिएकोमा उनले खुसी व्यक्त गरे । कहिल्यै नगरेको स्टेप पनि सिक्ने मौका पाएको उनले जानकारी दिए ।

जीवनमा धेरै समय डान्सकै लागि समर्पण गरेका उनी भन्छन्, ‘सबैले मलाई छाडेको बेलामा नृत्यले मलाई साथ दियो । आजसम्म मेरो जे जे छ त्यो सबै मेरो डान्सको कलाले दिएको हो । यो कार्यक्रममा विजेता भए पनि नभए पनि म जीवनभर नाचिरहन्छु । शरीरमा हुने आत्मा जस्तै हो मेरा लागि डान्स ।’

सरोज मोक्तान

काभ्रेका २४ वर्षीय सरोज मोक्तान विश्व निकेतन कलेजमा स्नातक पढ्दापढ्दै छोडिदिए । उनलाई पढाइभन्दा नाच नै ठूलो काम हो जस्तो लाग्छ । आमाले सुन्धाराको गेटमा नाङ्लामा व्यापार गर्छिन् भने उनका बुवा साझा यातायातको गाडी चलाउँछन् ।

त्रिपुरेश्वर एरियाको सुकुमवासी बस्तीमा बस्दै आएका सरोजले माओवादीको कलाकार संघमा नृत्य सिक्ने मौका पाए । त्यही केही समय कलाकार भएर काम पनि गरे । राष्ट्रवादी र प्रगतिशील गीतमा नाच्दानाच्दै उनमा नाचको भोक यति जाग्यो कि उनले जीवनमा नाच्नेबाहेक अन्य काम देखेनन् । डिल्लीबजारको डान्स सेन्टरमा नृत्य सिकाउने र आई क्लबमा समेत काम गर्ने मौका पाए ।

‘नृत्य देखाउने कला हो । यो अरूका लागि गरिँदैन आफ्ना लागि गरिन्छ । आफूभित्र भएको भाव व्यक्त गर्ने कला हो डान्स । मेरो जिन्दगी हो डान्स’, उनले भने । सरोज बाटोमा हिँड्दा पनि ज्यान हल्लाउने, हातका स्टेप देखाउने उनी थप्छन्, ‘कानमा इयरफोन लगाएर गीतको तालमा नाच्दै हिँड्ने डान्सरलाई कतिपयले पागलसमेत भन्ने गरेका छन् ।’

विजेता बन्ने कति विश्वास छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘विजेता बन्नु एउटा कुरा हो, सबैको मनमा बस्नु अर्को कुरा हो । म जित्छु नै भन्न त सक्दिनँ तर सबैको मनमा बस्न सकुँ भनेर राम्रो गर्ने कोसिस गरिरहेको छु ।’ ०००


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.