काठमाडौं : जसपा नेपालको फुटले मधेस सरकार अल्पमतमा पर्ने खतरा बढेको छ। सरकारमा मुख्य सहयात्री दल एमाले र माओवादीले जसपा नेपालको नेतृत्व सरकार ढाल्ने तयारी गरेका छन्। मधेस प्रदेशको ठूलो दल एमाले नेतृत्वमा सरकार बनाउने कसरत भइरहेको छ। यो रणनीति सफल भयो भने जसपा नेपालका नेता सरोजकुमार यादवको नेतृत्वको वर्तमान सरकार ढल्ने छ।
१ सय ७ सदस्यीय प्रदेशसभामा अहिले १ सय ६ जना सांसद छन्। मधेसमा सरकार टिकाइराख्न वा बनाउन बहुमतका लागि ५४ सांसद आवश्यक हुन्छ। अहिले विकास भइरहेको राजनीतिक घटनाक्रमअनुसार एमाले, माओवादी, जनमत, एकीकृत समाजवादी र लोसपा मिलेको अवस्थामा नयाँ सरकार बन्ने छ।
एमालेका २३, माओवादीका ९, लोसपाका ८, जनमतका १३, एकीकृत समाजवादीका ७ जना सांसद छन्। उपेन्द्र यादवबाट फुटेको नयाँ जसपाको मधेस प्रदेशसभामा कति जना सांसद छन् ? त्यो खुलेको छैन।
यता जसपा नेताबाट फुटेर गठन भएको जसपाका महासचिव नेता इस्तियाक राईले आफूहरूसँग मधेस प्रदेशसभामा पार्टीका बहुमत सांसदहरू रहेको दाबी गरेका छन्। बिहीबारको पत्रकार सम्मेलनमा बोल्दै भने, ‘निर्वाचन आयोगबाट सनाखतका लागि २१ दिने सूचना जारी भएको छ। कतिले हाम्रो विचार र पार्टीलाई सकारात्मक रूपमा लिएर आउनुहुन्छ भन्ने कुरा छिट्टै थाहा हुन्छ। उपेन्द्र यादवभन्दा मधेस प्रदेशमा हामीसँग प्रदेश सांसद बढी नै छ।’
मधेस प्रदेशका मुख्यमन्त्री यादवले मधेस प्रदेश सरकार अल्पमतमा नरहेको दाबी गरेका छन्। आफू नेतृत्वको सरकार बचाउन बुधबार काठमाडौं आएका मुख्यमन्त्री यादवले अन्नपूर्णसँग कुरा गर्दै भने, ‘जसपा नेपाल नेतृत्वको सरकार कुनै पनि हालतमा ढल्दैन।’