मृत्युको खबरले गाउँ शोकमा
तुलसीपुर : केही दिन अघि मात्रै कामको लागि मुस्ताङ गएका दाङ राजपुर गाउँपालिका– १ गुरुङखोलाका तीनजनाको शुक्रबार भएको टिपर दुर्घटनामा मृत्यु भएको छ ।
राजपुर गाउँपालिका १ गुरुङखोलाका कमल बुढा, बालकुमार घर्ती, शान्ति थापा तथा राप्ती गाउँपालिकाका कविता घर्ती र सुवेर चोैधरीको मुत्यु भएको छ । चार जनाको मृत्युको खबर सुनेर गुरुङखोला गाउँ शोकमा डुबेको स्थानीय सूर्य चौधरीले बताए ।
‘हामी शोकमा छौ, पत्याउनै नसकिने घटना घटेको छ, चौधरीले भने, परिवारसम्म त अबेर राति मात्रै खबर पुगेको छ ।’ घरमा आर्थिक स्थिति कमजोर भएर कमाउनका लागि उनीहरु मुस्ताङ गएको भन्दै मृत्युको खबरले सबैलाई दुखित बनाएको बताए ।
चौधरीले उनीहरुसँगै सात÷आठ जना अरु पनि कामका लागि मुस्ताङ गएको बताए । चौधरीले भने,‘कमल मेरो साथी पनि हो, राम्रो कमाई हुन्छ रे म पनि मुस्ताङ जान्छु भनेर गएको थियो चौधरीले भने, उ आफै कहिल्यै नर्फकने गरि गयो । ’
जिल्लाको विकट क्षेत्रको रुपमा रहेको उक्त क्षेत्रका प्रायः सबै मानिसहरु कामको लागि बाहिर जाने गर्दछन ।