विश्वकपमा युरोपको बढ्दो प्रभुत्व, किन पछि पर्यो दक्षिण अमेरिका ?
काठमाडौं : रुसमा जारी फिफा विश्वकपको २१ औं संस्करणमा शुक्रबारका खेलमा उरुग्वे र ब्राजिल बाहिरिएपछि, यसपालीको विश्वकप उपाधि पनि युरोपियन राष्ट्रले जित्ने निश्चित भइसकेको छ । २० विश्वकप मध्ये हालसम्म युरोपियन राष्ट्रले ११ र दक्षिण अमेरिकी राष्ट्रले ९ पटक उपाधि जितेका छन् । अन्य महादेशका टोली हालसम्म दाबेदारका रुपमासमेत प्रस्तुत हुन सकेका छैन ।
२००२ मा दक्षिण कोरिया र जापाले संयुक्तरुपमा आयोजना गरेको विश्वकपमा ब्राजिलले जित निकालेपछि हालसम्म विश्वकप उपाधिमा युरोपियन राष्ट्रहरुले मात्रै कब्जा जमाउँदै आएका छन् ।
तीन संस्करणपछि सेमिफाइनलमा युरोप मात्रै
विश्वकपका ३ संस्करणपछि फेरि विश्वकपको सेमिफाइनल दक्षिण अमेरिकी राष्ट्रविहीन भएको छ । २००६ को विश्वकपमा पनि सेमिफाइनलमा युरोपियन राष्ट्र मात्रै पुगेका थिए । इटाली, फ्रान्स, जर्मन र पोर्चुगल त्यतिबेला सेमिफाइनलमा पुग्ने टोली थिए ।
दक्षिण अमेरिकाका तीन विश्वविजेता मध्ये उरुग्वे विश्वकप मै छनोट हुन सकेको थिएन । अर्का दुई दाबेदार मध्ये ब्राजिल र अर्जेन्टिना क्वाटरफाइनलबाटै बाहिरिएका थिए । क्वाटरफाइनलमा ब्राजिल फ्रान्ससँग र अर्जेन्टिना जर्मनीसँग पारजित भइ घर फर्केका थिए ।
२०१० को विश्वकपमा अर्जेन्टिना जर्मनसँग र ब्राजिल नेरल्याण्डसँग पराजित भइ अन्तिम ८ बाटै बाहिरिँदा उरुग्वे सेमिफाइनलसम्म पुगेको थियो।
२०१४ मा ब्राजिल र अर्जेन्टिना दुवै सेमिफाइनल पुगेका थिए । ब्राजिल जर्मनसँग पराजित हुँदाअर्जेन्टिना नेरल्याण्डमाथि जित निकाल्दै फाइनलमै पुगेको थियो ।
विश्वकप इतिहासमा युरोप र दक्षिण अमेरिका
विश्वकप फुटबलको उद्गमस्थल दक्षिण अमेरिका
दक्षिण अमेरिका विश्वकप फुटबलको उद्गम स्थल नै हो । पहिलो पटक सन १९३० विश्वकप फुटबल प्रतियोगिताको सुरुवात दक्षिण अमेरिकी राष्ट्रकै सक्रियतामा भएको थियो । आयोजक राष्ट्र थियो उरुग्वे र उपाधि पनि उसैले जितेको थियो ।
पहिलो विश्कपमा सहभागी १२ राष्ट्र मध्ये ६ राष्ट्र दक्षिण अमेरिकी नै थिए । उक्त विश्वकपमा आयोजक उरुग्वेसँगै दक्षिण अमेरिकी राष्ट्रहहरु अर्जेन्टिना, ब्राजिल, चिली, पेरु, बोलिभिया र पाराग्वे सहभागी थिए ।
युरोपबाट पहिलो विश्कप खेल्नेमा बेल्जियम, फ्रान्स, रोमानिया र युगोस्लाभिया थिए । बाँकी दुई टोलीमा उत्तर अमेरिकी राष्ट्र संयुक्त राज्य अमेरिका र मेक्सिको थिए ।
फाइनलमा उरुग्वेले अर्जेन्टिनालाई पराजित गरी उपाधि जितेको थियो ।
दोस्रो विश्वकपदेखि युरोप हाबी
पहिलो विश्वकपमा फिफाको निमन्त्रणकै आधारमा विश्वकपमा टोलीहरुले सहभागिता जनाएकोमा १९३४ को दोस्रो विश्वकपदेखि छनोट खेल हुन थाल्यो १६ राष्ट्र सहभागी विश्वकपमा १२ टोली युरोपियन नै छानिए । दक्षिण अमेरिकाबाट अर्जेन्टिना र ब्राजिल मात्रै छानिए । युरोपियन राष्ट्रबाहेक छनोट हुने अन्यमा युएसए र इजिप्ट थिए । इटालीले उपाधि जित्यो
१९३८ को तेस्रो विश्वकपमा दक्षिण अमेरिकाबाट क्युबा र ब्राजिल मात्रै छानिए । यस पटक पनि विश्वकप खेल्ने १६ मध्ये १२ राष्ट्र युरोपियन नै थिए । उपाधि इटालीले नै जित्यो ।
दोस्रो विश्वयुद्धका कारण १९४२ र १९४६ को विश्वकप हुन सकेन चौथो विश्वकप १९५० मा भयो । ब्राजिलमा भएको यस विश्वकपका लागि ५ दक्षिण अमेरिकी राष्ट्र छनोट भएका थिए । उपाधि उरुग्वेले जित्यो ।
१९५४ को विश्वकपमा १२ युरोपेली राष्ट्र छनोट हुँदा , दक्षिण अमेरिकाबाट ब्राजिल र उरुग्वे मात्रै छानिए । पश्चिम जर्मनीले उपाधि जित्यो ।
१९५८ को विश्वकपमा सोभियत युनियन बाहेक नै ११ युरोपेली राष्ट्र विश्वकपमा छानिएका थिए । दक्षिण अमेरिकाबाट ब्राजिल, अर्जेन्टिना र पाराग्वे छनोट भएका थिए । उपाधि ब्राजिलले जित्यो ।
१९६२ मा भने पाँच दक्षिण अमेरिकी टोली विश्वकपमा छनोट भए । अर्जेन्टिना, कोलम्बिया, ब्राजिल, उरुग्वे र चिली उक्त विश्वकपमा छानिएका थिए । सोभियत युनियनबाहेक ९ युरोपेली राष्ट्र छानिएका थिए । यसपटक पनि उपाधि ब्राजिलले जित्यो ।
१९६६ मा ९ युरोपेली राष्ट्र छनोट हुँदा ४ दक्षिण अमेरिकी राष्ट्र छनोट भए । ब्राजिल, अजेन्टिना, चिली र उरुग्वे छनोट भएका थिए । उपाधि इङ्ल्याण्डले जित्यो ।
१९७० को विश्वकपमा ८ युरोपेली राष्ट्र छानिए भने ४ दक्षिण अमेरिकी राष्ट्र विश्वकपका लागि छानिए । उपाधि ब्राजिलले जित्यो ।
१९७४ को विश्वकपमा ९ युरोपेली राष्ट्र छनोट हुँदा ४ दक्षिण अकेरिकी राष्ट्र छानिए । उपाधि पश्चिम जर्मनीले जित्यो ।
१९७८ को विश्वकपमा ९ युरोपेली राष्ट्र छनोट हुँदा ३ दक्षिण अमेरिकी राष्ट्र मात्रै विश्वकपमा छानिए । उपाधि अर्जेन्टिनाले जित्यो ।
१९८२ पछि विश्वकप खेल्ने टोली १६ बाट २४ भए । फिफाले १९७० मै टोली खेलाइने योजना बनाएको भएपनि त्यो १९८२ को १२ औं विश्वकपबाट लागु भयो त्यसपछि सम्रग नभएर क्षेत्रीय रुपमा विश्पकपमा सुहभागी हुने टोली छानोट गर्न थालियो । युरापबाट १२ र दक्षिण अमेरिकाबाट ४ टोली विश्वकपमा छनोट हुने व्यवस्था फिफाले गर्यो ।
१९९८ को १६ औं विश्वकपबाट ३२ टोली विश्वकपमा सहभागी हुन थालेपछि युरोपबाट १४ र दक्षिण अमेरिकाबाट ५ टोली विश्वकपमा छनोट हुने व्यवस्था रहेकोछ । २०२६ को विश्वकपदेखि ४८ टोली सहभागी गराउने फिफाले घोषणा गरेको छ ।
यस पटकको विश्वकपमा दक्षिण अमेरिकाबाट ब्राजिल, अर्जेन्टिना, उरुग्वे, कोलम्बिया र पेरुले सहभागिता जनाएका थिए । पेरु समूह चरणबाटै बाहिरिए पनि अन्यले अन्तिम १६ मा स्थान बनाएका थिए । दक्षिण अमेरिकाको बलियो टोली चिली रुस विश्वकपका लागि छनोट हुन सकेन ।
यसरी हालसम्म विश्वकपको दक्षिण अमेरिकाका ३ र युरोपका ५ गरी ८ राष्ट्रले मात्रै विश्वकपको उपाधि जितेका छन् । २०१८ को उपाधि पनि युरोपकै पोल्टामा जाने निश्चित भइसकोको छ । रुस विश्वकपको उपाधि होडमा दुई पूर्वविजेता फ्रान्स र इङ्ल्याण्डसहित ६ युरोपियन राष्ट्र रहेका छन् । यी पूर्वविजेताकै हातमा उपाधि जान्छ की ? नयाँ राष्ट्रले हातपार्छन ? केही दिन कुर्नुपर्ने देखिन्छ ।