जय ट्रफीमा आर्मीले पुलिसलाई दियो १७२ रनको लक्ष्य
वीरगन्ज : वीरगन्जमा जारी जय ट्रफी मेन्स एलिट कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबसामु १७२ रनको लक्ष्य दिएको छ।
वीरगन्जको नारायणी क्रिकेट मैदानमा भइरहेको दुई दिवसीय खेलको दोस्रो इनिङ्समा सोमबार आर्मी ५३ ओभर खेल्दै १७५ रनमा अलआउट भएपछि पुलिसले जितका लागि १७२ रन लक्ष्य पाएको हो।
दोस्रो इनिङ्समा आर्मीका ब्याटर सोमपाल कामीले अविजित ८२ रन बनाए ।१३८ बलको सामना गरेका सोमपालले १० चौका र १ छक्का प्रहार गरे। त्यस्तै त्रितराज दासले ५१ ब्लमा ३४ रन जोडे। भीम सार्कीले १५ रन जोड्दा विवेक यादवले ११ रनमात्रै बनाए। दोस्रो इनिङ्समा बलिङ्तर्फ पुलिसका कुशल भुर्तेलले ४, गुल्शन झाले ३, ललित राजवंशीले २ र रसिद खानले १ विकेट लिए।
त्यसअघि सोमबार बिहान ७ विकेटको क्षतिमा १०३ रनबाट दोस्रो दिनको खेल सुरु गरेको पुलिस थप २२ रनमात्रै जोड्दै अलआउट भएको थियो। उसका लागि गुलशन झाले ५४ बलमा ४७ रन बनाए भने अमित श्रेष्ठले १८ र रसिद खानले १६ रन बनाए। बलिङ्तर्फ आर्मीका लागि सहाब आलम एक्लैले ८ विकेट लिए। १५.१ ओभरमा ५९ रनमात्र खर्चिएका आलमले ८ विकेट लिए। सोमपाल कामी र पवन कार्कीले भने समान एक-एक विकेट लिए।
आइतबारदेखि सुरु खेलमा आर्मीले आफ्नो पहिलो इनिङ्समा ३४.४ ओभरमा १२१ रन बनाएको थियो। जारी खेलमा पुलिसले अहिले १७२ रनको लक्ष्यका साथ दोस्रो इनिङ्सको ब्याटिङ गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस !