चिराइतो सस्तिँदा लौठसल्ला र अर्गेली खेती
फिदिम : चिराइतोको विकल्पमा पाँचथरका किसान लौठसल्ला र अर्गेलीको खेतीमा लागेका छन्। चिराइतोले मूल्य नपाएपछि यहाँका किसानले लौठसल्ला र अर्गेलीको खेती गर्न थालेका हुन्।
फालेलुङ गाउँपालिका–७ बतासे र पानीपरुवाका किसानले चिराइतोको ठाउँमा लौठसल्लाको खेती सुरु गरेका छन्। चिराइतो खेती गरिँदै आएको जमिनमा कृषक समूह गठन गरी किसानले यसको खेती थालेका हुन्। कक्फुङ कृषक समूहले पानीपरुवामा हजार रोपनी जमिनमा लौठसल्लाको बिरुवा लगाएको छ। ३८ परिवारले सामूहिक रूपमा लौठसल्लाको बिरुवा रोपेको समूहका अध्यक्ष श्रीहाङ जबेगूले जानकारी दिए।
‘समूहमा आबद्ध सबैले यो सालदेखि लौठसल्लाको खेती सुरु गरेका छौं’, उनले भने, ‘चिराइतो बिक्रीमा समस्या हुन थालेपछि लौठसल्लाको खेती गर्न थालेका हौं।’
यहाँका किसानले अघिल्लो वर्ष अर्गेली खेती लगाएका थिए। जापानलगायत देशमा अर्गेलीको माग बढेपछि दाजुभाइ जडीबुटी उत्पादन तथा प्रशोधन सहकारी संस्थामार्फत यहाँका किसान यसको खेतीमा लागेका हुन्। यहाँ उत्पादित अर्गेली जापानमा नोट बनाउन प्रयोग हुने जनाइएको छ। ‘यहाँ उत्पादन भएको अर्गेली उच्च गुणस्तरको छ’, संस्थाका अध्यक्ष होमराज थाम्सुहाङले भने, ‘अर्गेलीको माग बढ्न थालेपछि व्यावसायिक खेती सुरु गरिएको हो।’
अर्गेली खेतीका लागि अघिल्लो वर्ष यहाँका किसानलाई जिल्ला वन कार्यालयले आर्थिक सहयोग गरेको थियो। यो वर्ष लौठसल्लाका लागि जिल्ला वन कार्यालयले २ लाख रुपैयाँ कृषक समूहलाई उपलब्ध गराएको छ। लौठसल्ला खेतीको प्रवद्र्धनका लागि समूहलाई आर्थिक सहयोग गरिएको वन कार्यालयले जनाएको छ। यहाँका किसानले व्यक्तिगत रूपमा ठूलो संख्यामा लौठसल्ला र अर्गेलीको खेती गरेका छन्। प्रतिपरिवार २ सय ५० भन्दा धेरै लौठसल्ला बिरुवा रोपेको जनाइएको छ। फालेलुङ–७ को वडा कार्यालयले लौठसल्लाको नर्सरीका लागि २ लाख रुपैयाँ सहयोग गरेको छ।
किसानले १८ हजार बिरुवा उत्पादन गर्ने उद्देश्यका साथ लौठसल्लाको नर्सरी राखेका छन्। लौठसल्लाको पात औषधिका रूपमा प्रयोग हुने भएकाले राम्रो मूल्यमा निर्यात हुने जिल्ला वन अधिकृत मेघराज राईले बताए। रोपेको तीन वर्षदेखि लौठसल्लाबाट आम्दानी लिन सकिने जनाइएको छ।