छोटिँदै कञ्चनजंघा पदमार्ग

छोटिँदै कञ्चनजंघा पदमार्ग

फुङलिङ : अप्ठेरो र लामो भनेर आलोचित बनेको कञ्चनजंघा आधारशिविर जाने पदमार्र्ग छोट्याउने काम सुरु भएको छ।

कञ्चनजंघा संरक्षण क्षेत्र तथा व्यवस्थापन परिषद्ले फक्ताङलुङ गाउँपालिकाको तापेथोकबाट सिरिजंघा गाउँपालिकाको याम्फुदिन निस्कने गरी नयाँ पदमार्ग निर्माण थालेको हो। तापेथोकको रानीपुलबाट यसाङ–तोरोङेदेन–राम्जेर–चेराम हुँदै आधारशिविरको ओक्तामसम्म नयाँ पदमार्ग बनाइने परिषद्का अध्यक्ष खगेन्द्र फेम्बो लिम्बूले बताए। 

‘अहिलेको रुट लामो र अप्ठेरो भएका कारण विश्वको तेस्रो अग्लो हिमालले पर्यटक तान्न सकेको छैन’, अध्यक्ष लिम्बूले भने, ‘बाटोलाई सजिलो र छोटो बनाएर पर्यटक आकर्षित गर्ने हाम्रो योजना हो।’ यो आर्थिक वर्ष विनियोजन भएको १२ लाख बजेटले १ हजार ८ सय मिटर नयाँ ट्र्याक खोलिएको छ।

पदमार्गको चौडाइ पर्यटकलाई हिँड्न सजिलो हुने गरी चार फिटभन्दा बढी बनाइएको छ। नयाँ पदमार्ग बनेपछि तीन दिनको समय छोटिने उनको भनाइ छ। विदेशी पर्यटक अहिले ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारबाट २१ दिनमा आधारशिविर पुगेर फर्कन सक्छन्। 

यसाङसम्म सडक पुर्‍याउने काम भइरहेकाले त्यसपछि झनै सजिलो हुने तापेथोकका वडाध्यक्ष देउप्रसाद लिम्बूको भनाइ छ। उत्तर–दक्षिण लोकमार्गअन्तर्गत तमोर करिडोरमा पर्ने रानीपुलबाट हेल्लोक हुँदै यसाङसम्म आगामी वर्षसम्ममा पुग्ने उनले बताए। यसाङबाट माथि भने पैदल मार्ग मात्र बनाइनेछ। पहिलो चरणमा बाटो बनाउने र दोस्रो चरणमा सामुदायिक लज, खानेपानी, शौचालय, डम्पिङ साइटजस्ता पूर्वाधार निर्माण गर्ने योजना रहेको जनाइएको छ।

उच्च हिमाली क्षेत्र भएकाले यो क्षेत्रमा यात्रा गर्दा हिमालका मनमोहक दृश्यका साथै दुर्लभ जंगली जनावर पनि देख्न सकिन्छ। यहाँ दर्जनभन्दा बढी पोखरी, फाँट रहेको गोठ सञ्चालक कमल विष्टले बताए।

पाथीभरा मन्दिर क्षेत्रबाट नयाँ पदमार्ग नजिक पर्ने भएकाले मन्दिर तीर्थयात्रीसमेत तान्ने गरी योजना बनाइएको छ। ‘पाथीभरामा वार्षिक ३ लाख पर्यटक पुग्छन्’, परिषद्का पूर्वसदस्यसचिव तेन्जिङ वालुङले भने, ‘त्यसको १० प्रतिशतलाई कञ्चनजंघा लान सकियो भने ठूलो उपलब्धि हुन्छ।’

कञ्चनजंघा जान अहिले तीनवटा पदमार्ग छन्। सदरमुकाम फुङलिङबाट फक्ताङलुङ गाउँपालिकाको तापेथोक–घुन्सा हुँदै एउटा, सुकेटार–लालीखर्क हुँदै सिरिजंघा गाउँपालिकाको तेल्लोक भएर याम्फुदिनबाट र पाँचथरको गणेश चोकबाट ताप्लेजुङको हप्पुखोला–खेवाङ हुँदै अर्को रुट छन्। कञ्चनजंघा आधारशिविरमा वार्षिक ७ सय पर्यटक आउने गरेका छन्। हिमाल आरोहण गर्ने निकै कम छन्। चार वर्षपछि गत जेठमा ४६ जना कञ्चनजंघाको चुचुरोमा पुगेका थिए। पूर्वाधार राम्रो बनाउन सके पर्यटक वृद्धि हुने आरोही पेम्बा ग्याल्जेन शेर्पाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.