जसको कथा, उही कलाकार
काठमाडौं : भागेर विवाह गरेका उमेश थापा र कविता गुरुङको प्रेम कहानी अब फिल्मको पर्दामा देखिने भएको छ। सानै उमेरमा अन्तरजातीय विवाह गर्दा उब्जिएका विविध परिस्थितिलाई फिल्म ‘बबी’ मार्फत यी दुई जोडीले दर्शकसामु ल्याउन लागेका हुन्।
मिलन चाम्स निर्देशक तथा निर्माता रहेको यस फिल्मको मुख्य भूमिकामा उमेश र कविताको नै अभिनय रहेको छ। तर रियल लाइफको कहानीलाई रिल लाइफसम्म ल्याउने विषय त्यति सजिलो नभएको बताउँछन् उमेश। ललितपुरको गरिब परिवारमा जन्मिएका उमेश थापा १५ वर्षको उमेरमा नै कामको खोजीमा नर्वे गएका थिए।
एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण भएका उमेशलाई इलोक्ट्रोनिक इन्जिनियरिङ पढ्न परिवारले नेपाल फर्काएपछि उनी २०५४ मा पोखराको लामाचौरमा इन्जिनियरिङ पढ्न भर्ना भए।
पोखरा बसाइँको क्रममा उनको भेट कविता गुरुङसँग भयो। कविता लेखनाथ अर्घौंचोककी धनी परिवारकी छोरी थिइन्। पहिलो भेट रिस र दुश्मनीबाट सुरु भएको यो जोडी पछि प्रेमबन्धनमा बाँधिए। उमेशले इन्जिनियरिङको अन्तिम परीक्षा नदिँदै यी दुई भागेर काठमाडौं आए। पोखराबाट भागेका यी दुई जोडीलाई केटाको परिवारले स्वीकार गरे पनि केटी पक्षले स्वीकारेन।
इन्जिनियरिङ सकाएर उमेश फेरि नर्बे फर्किए। कविता भने नेपालमै थिइन्। माइतीले नस्विकारेपछि श्रीमान्को घरमा कविताको कस्तो अवस्था थियो ? यो कुराबाट बिल्कुल अञ्जान उमेशलाई आजभोलि त्यो परिस्थिति सम्झँदा पीडा हुन्छ। ‘म विदेशमा रहँदा कविता कस्तो परिस्थितिमा थिइन्, म कल्पना मात्र गर्न सक्छु’, उनी भन्छन्, ‘उसको भोगाइ महसुस गर्दा पीडा हुन्छ।’
उमेश अहिले जर्मन कम्पनी सिमेन्सका प्रबन्धक छन्। धनी परिवारमा जन्मिएकी कवितालाई उमेशसँगको विवाहपछि जीवन अझै सुन्दर बन्छ भन्ने लागेको रहेछ तर परिस्थिति त्यस्तो भएन। आफूले मन पराएको मान्छेसँग विवाह गर्दा मेरो परिवारले स्विकारेन, योभन्दा ठूलो पीडा अरू के हुन्छ’, उनी भन्छिन्।
प्रेमकथाका साथै पारिवारिक फिल्म भनिएको बबीको छायांकन नर्बे, काठमाडौं र पोखरामा गरिएको हो। फिल्ममा बोलिएका सबै डाइलग असली भएको निर्देशक मिलन चाम्स बताउँछन्। उनी भन्छन्, ‘फिल्ममा कहानी मात्र होइन उमेश र कविताको भेट भएको स्थानदेखि थुप्रै ठाउँसमेत हुबहु सुटिङ गरिएको छ।’ नर्बेमै बस्दै आएका कविता र उमेशलाई काठमाडौं बोलाएर अभिनय सिकाएको समेत उनले बताए। ‘उमेश र कविताको कहानीमा अरू कलाकार भिज्न नसक्ने जस्तो लागेर रियल क्यारेक्टर लिएको हुँ, उनले भने।’
चलचित्रमा कविता र उमेशसहित विजय लामा, रुवी राना, शूरवीर पण्डित, श्याम राईलगायतको अभिनय देख्न सकिनेछ। दुई करोड रुपैयाँ लागतमा बनेको बबीमा तीनवटा गीत समावेश गरिएको छ जसको संगीत ताराप्रकाश लिम्बू र वसन्त सापकोटाको छ भने कोरियोग्राफी कविराज गहतराजले गरेका छन्। फिल्म आगामी शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदैछ।