चीन लाने गैंडा काठमाडौं पठाइयो
चितवन : चीन सरकारलाई उपहारस्वरुप पठाउन लागिएको एक जोडी गैंडा मंगलबार चितवनबाट काठमाडौं पठाइएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट ती जोडी गैंडालाई स्थानीय तहका प्रतिनिधि, सरकारी कर्मचारीको उपस्थितिमा ट्रकमा हालेर काठमाडौं पठाइएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले डेढ वर्षको भाले ‘भद्र’ र दुई वर्षकी पोथी ‘रुपसी’लाई उपहारस्वरुप चीन लानको लागि काठमाडौं पठाइएको जानकारी दिए । असार २८ गते विशेष कार्गो विमानबाट ती गैँडालाई चीन लगिनेछ । चीन लानु अघि ती गैँडालाई जाउला खेलस्थित चिडियाखानामा राखिनेछ ।
गैंडा चीन छाड्नको लागि निकुञ्जका दुई पशु चिकित्सक र तीन प्रविधिकसहितको टोली समेत चीन जाने भएका छन् । वरिष्ठ चिकित्सक डा. कमल गरै, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक किरण रिजाल लगायतको टोली १ महिनासम्म चीन बस्नेछ ।सरक्षण, प्राकृतिक प्रजनन, अध्ययनको लागि गैंडा चीन लगिन लागेको हो ।
अर्को वर्ष अर्को जोडी गैँडा चीन पठाइने छ । हालसम्म चितवन राष्ट्रिय निकुञ्जबाट बिभिन्न देशमा हालसम्म २६ गैँडा उपहारस्वरुप पठाइएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालका अनुसार अमेरिकामा छ र भारतमा चार तथा बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, म्यान्मा, जापान, जर्मनी, बेलायत र अष्ट्रियामा दुई दुई गैँडा पठाइएको छ ।
निकुञ्ज तथ्यांकअनुसार पहिलो पटक सन् १९८५ मा भारतको दुधुवामा चार गैँडा पठाइएको थियो । पछिल्लो पटक सन् २००६ मा अष्ट्रियामा एक जोडी गैँडा पठाइएको थियो । बाह्र वर्षपछि पुनः अहिले दुई जोडी गैँडा चीन पठाउन लागिएको हो । यससँगै निकुञ्जबाट पठाइएका गैँडा ३० पुग्नेछन् ।