नेपाली चलचित्रः प्रतिकुल असारमा विश्वकपको मार
काठमाडौं : असार महिना यसै पनि नेपाली चलचित्रका लागि प्रतिकुल महिना, त्यसमाथि यो वर्ष विश्वकप फुटबलको रौनक। यसबेला हलसम्म गएर चलचित्र हेर्ने जाँगर धेरैले देखाएनन्। सम्भवतः नेपाली चलचित्रका लागि यो असार सबैभन्दा प्रतिकुल सावित भयो। चलेका र ठूला ब्यानरका एउटा पनि चलचित्र यो महिना रिलिज भएनन्।
थोरै लगानीका साना तथा पुराना चलचित्र प्रदर्शनमा आए। तर न दर्शकले थाहा पाए न निर्मातालाई नै राहत भयो। ‘असार नेपाली चलचित्रका लागि राम्रो मानिँदैन, त्यसमाथि विश्वकप फुटबल’, निर्माता तथा प्रदर्शक नरेन्द्र महर्जनले भने। उनका अनुसार असारमा प्रदर्शन भएका कुनै पनि नेपाली चलचित्रले दर्शकको राम्रो साथ पाउन सकेनन्।
तीन कारण
नेपाली चलचित्र यसबाट अछुतो रहने कुरै भएन। चलचित्रका अधिकांश दर्शक फुलबलका फ्यान हुन् भन्दा फरक पर्दैन। चार वर्षमा एकपटक आउने विश्वकप घरमा बसीबसी हेर्न छाडेर झरी, हिलो र धुलो छिचोल्दै चलचित्र हेर्न हलसम्म पुग्ने दर्शक कमै हुन्छन्।
दोस्रो कारण हो असारको चटारो। मानो खाएर मुरी उब्जाउने महिनामा चलचित्र हेर्न जाने कमैमात्र हुन्छन्। राजधानी होस् वा मोफसल यो महिना खेतीका लागि हो। नेपाली चलचित्रको ठूलो बजार अहिले पनि राजधानी नै हो। कतिपयलाई लाग्न सक्छ राजधानीवासीलाई असारको चटारोले छुँदैन। तर त्यो गलत हो, राजधानीमा पनि खेतीपातीलाई समय दिने उल्लेख्य छन्। प्रायः हरेक वर्ष असारमा ठूलो ब्यानरका राम्रा नेपाली चलचित्र रिलिज नै हुँदैनन्।
यो असारमा राम्रा नेपाली चलचित्र रिलिज नहुनुको तेस्रो कारण हो, बलिउडका दुई प्रभावशाली चलचित्र ‘रेस ३’ र ‘सन्जु’ आउनु। नेपालमा सलमान खानका धेरै फ्यान छन्। उनी अभिनित अधिकांश हिन्दी चलचित्रले नेपालमा उल्लेख्य व्यापार गरिरहेका छन्।
त्यसमाथि सुपरहिट हिन्दी चलचित्र ‘रेस’को सिक्वेल। बलिउडका सामान्य चलचित्रले त नेपाली चलचित्रलाई प्रभाव पार्छन् भने ‘रेस ३’ सँग प्रतिस्पर्धा गर्ने साहस कुनै नेपाली निर्माताले गरेनन्। जुन १५ मा रिलिज भएको यो चलचित्रले विश्वकपको महासंग्रामबीच पनि दुई सय ४६ करोड भारतीय रुपैयाँ भन्दा बढीको व्यापार ग¥यो।
हिन्दी चलचित्र ‘रेस ३’ रिलिज भएको दुई सातापछि जुन २९ मा रणवीर कपुर अभिनित अर्को हिन्दी चलचित्र ‘सञ्जु’ आयो। बलिउडका प्रभावशाली निर्देशक राजकुमार हिरानी निर्देशित यो चलचित्र रिलिज अगावै धेरै चर्चामा थियो। यसले बलिउडका केही रेकर्ड तोड्ने आँकलन पनि गरिएको थियो।
बलिउड अभिनेता सञ्जय दत्तको बायोपिक भएकाले पनि प्रदर्शनअघि नै चलचित्रको ‘हाइप’ राम्रो थियो। सञ्जय दत्तको वास्तविक जीवन निकै रोमाञ्चक र उत्तारचढापपूर्ण छ। यसको कलात्मक प्रस्तुतिले दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको थियो। विश्वकपको रौनकबीच पनि यो चलचित्रले चारसय करोड भारतीय रुपैयाँको हाराहारीमा व्यापार गर्न सफल भयो।
लामो समयको मौनता र कमजोर व्यापारपछि असार २९ गते मिलन चाम्स निर्देशित चलचित्र ‘बोबी’ रिलिज हुँदैछ। दर्शकले रुचाएको ‘लिली बिली’पछि चाम्स निर्देशित अर्को चलचित्र दर्शकमाझ आउन लागेकाले यसले नेपाली चलचित्रको असारे दर्शकलाई ब्रेक गर्ने अपेक्षा गरिएको छ।
वास्तविक कथामा वास्तविक पात्रले नै अभिनय गरेको यस चलचित्रप्रति निर्देशक चाम्स निकै आशावादी छन्। ‘बोबी’पछि दयाहाङ राई अभिनित ‘भैरे’, आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित ‘कायरा’, साम्राज्ञी अभिनित तथा रेनाशा वान्तवा निर्देशित ‘इन्टु मिन्टु लण्डनमा’ जस्ता चलचित्र रिलिजका लागि तयार छन्।