वागीश्वरी र सुप्रिम अन्तिम चारमा
भक्तपुर : वागीश्वरी मावि र सुप्रिम एकेडेमी स्कुल भक्तपुरमा जारी एन्फा कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल भएका छन्।
भक्तपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको मंगलबार भएको क्वार्टरमा वागीश्वरीले बाल विकास र सुप्रिमले वाइजल्याण्डलाई पाखा लगाउँदै अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।
भक्तपुर नपा ७ स्थित माहेश्वरी खेल मैदानमा भएको क्वार्टरफाइनलमा वागीश्वरीले बाल विकासलाई टाईब्रेकरमा ३–२ गोलले पन्छाएको हो । निर्धारित समयको खेलमा दुवै स्कुलबाट एकएक गोल भएको थियो । उक्त खेलको तेस्रो मिनेटमै गोल गर्दै सन्दीप कार्कीले वागीश्वरीलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफसम्म अगाडि रहेको वागीश्वरीविरुद्ध ईशान शिवहरिले गोल फर्काउँदै बाल विकासलाई बराबरीमा ल्याएका थिए । बराबरी भएपछि प्रतियोगिताको नियमानुसार सिधै पेनाल्टी सुटआउटबाट निर्णय लिइएको थियो।
मंगलबार नै भएको अर्को खेलमा सुप्रिम एकेडेमीले पनि वाइजल्याण्ड स्कुललाई टाईब्रेकरमै ६–५ गोलले हरायो । निर्धारित ६० मिनेटको खेलमा दुवै स्कुलबाट एकएक गोल गरेका थिए । सुप्रिमको लागि कृष्ण थापाले गोल गर्दा वाइजल्याण्डको लागि एलिस सिबञ्जारले गोल फर्काएका थिए ।
ट्राइब्रेकरको पहिलो पाँच प्रहारमा दुवै स्कुलबाट चारचार गोल गरेपछि पुनः एकएक पेनाल्टी प्रहार गराइएको थियो । उक्त पेनाल्टीमा दुवै स्कुलबाट गोल भएपछि पुनः थपिएको एकएक गोलमा वाइजल्याण्डका खेलाडी गोल गर्न चुक्दा नतिजा सुप्रिमको पक्षमा गएको हो । मंगलबार नै भएको अर्को समूहतर्फ एड्भान्स एकेडेमी र विनायक शिक्षा निकेतन क्वार्टरफाइनल पुगेका छन् ।
एड्भान्सले अक्सफोर्ड प्राक्टिकल स्कुललाई ५–० गोलले हराएको हो । एड्भान्सको लागि विमल राजवाहक, निरज लामा, रिकेश थापा, विशेष थापा र एलिस राजवाहकले एकएक गोलको योगदान गरेका थिए । विनायक शिक्षा निकेतनले पनि जेन्युइन स्कुललाई ५–० गोलले पन्छाएर क्वार्टरफाइनलको यात्रा तय गरेको छ ।
विनायकको लागि शेखर खड्काले दुई गोल गर्दा प्रनिश प्रजापति, राज प्रजापति र मदन खत्रीले एकएक गोल गरेका थिए । प्रतियोगितामा जिल्लाका १८ विद्यालयहरुको सहभागिता रहेको छ । असार ३० गतेसम्म हुने प्रतियोगिताको विजेता विद्यालय प्रदेशस्तरमा हुने एन्फा कपमा छनोट हुनेछ ।