रंगशालाले लियो आकार

रंगशालाले लियो आकार
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्याराफिट निर्माणको काम हुँदै। तस्बिर : अनिल ढकाल।

चितवन : अन्तर्राष्ट्रिय मापदण्डको मैदान। खेल हेर्न दर्शकलाई व्यवस्थित प्याराफिट। अबको ३० महिनामा भरतपुर महानगरपालिका–१५, रामपुरमा अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट रंगशालामा दर्शकले खेल हेरेर मज्जा लिन पाउँछन्। अधुरो बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणले गति लिएको छ। साउनदेखि रंगशालाको काम तीव्र गतिमा अघि बढेको छ। काम सुरु भएको पाँच महिनामा १३ प्रतिशत काम भएको छ। मैदान पिच गर्ने, थप प्याराफिट निर्माण गर्ने, भीआईपी टावर निर्माण गर्ने, ड्रेन ढाक्ने काम ३० महिनामा सकिनेछ। 

रंगशालाले आकार लिएको छ। अहिले दुई वटा भीआईपी टावर र प्याराफिट निर्माणको काम भइरहेको छ। अहिले स्ट्यान्ड १ मा प्याराफिट निर्माणको काम सुरु भएको हो। त्यसपछि २, ३ र ४ नम्बरको स्ट्यान्डमा प्याराफिट निर्माण गरिनेछ। भीआईपी टावर १ मा माथिल्लो बिमको काम अन्तिम चरणमा पुगेको छ। त्यसपछि पहिलो तलाको काम अघि बढ्नेछ। प्रोजेक्ट म्यानेजर इन्जिनियर वीरेन्द्रकुमार यादवका अनुसार टावर २ को भने तलो बीमको काम अन्तिम चरणमा पुगेको छ। यस्तै रंगशालाको मैदानको माथिल्लो भागको माटो निकालिएको छ। ‘सुरुमा झाँडी, ठूला रूखहरू, घाँसहरू पलाएका थिए। देख्दा नै उजाड जस्तो लागेको थियो। पहिला र अहिले हेर्दा नै थाहा हुन्छ कि काम कस्तो भएको छ भन्ने कुरा,’ यादवले भने, ‘यही निर्माणले गति लिएको छ। हामी तोकिएको तीस महिनाभित्रमा काम पुरा गर्नेछौं,’ यादवले भने, ‘भीआईपी टावर–१ को फुटिङ बिमको ढलान सकिएको छ। टावर–२ को ६ वटा फुटिङ ढलान गरिएको छ। प्याराफिटतर्फ स्ट्यान्ड १ र २ को पीसीसी ढलान सकिएको छ। स्ट्यान्ड ३ र ४ को १८ वटा कोठाको पीसीसी ढलान बाँकी छ। मैदानमा यसअघि रोएिको दुबो फालेर अत्याधुनिक प्रविधिबाट मैदान तयार गर्न लागिएको छ। रंगशालामा १५ हजार दर्शक अट्ने प्याराफिट बनाउन लागिएको हो। धुर्मुस–सुन्तली फाउन्डेसनले ५ हजार क्षमताको प्याराफिट निर्माण भइसकेको छ। ६ वटा ब्लकमध्ये चारवटाको पहिलो चरणको काम सकिएको छ। दर्शक बस्ने १६ मध्ये चार तहको सिँढी पहिल्यै बनेको थियो। अब १० हजार दर्शकका लागि काम थालिएको छ। रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिका र हिमालयन कालिञ्चोक बीबीआर जेभीबीच असार २३ मा सम्झौता भएको हो। निर्माण कम्पनीले ७८ करोड ५० लाखमा ठेक्का पाएर साउनबाट काम सुरु गरेको हो। वर्षात्मा पानी जम्ने समस्याले काम प्रभावित भएको थियो। थालेको कामको प्रगतिअनुसार १३ प्रतिशत काम भएको छ। 

सम्झौताअनुसार २०८३ पुस २२ गतेभित्रमा निर्माणको काम सक्नुपर्ने छ। भ्याट र पीएससहित ७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँ रहेको छ। खेल मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनएज, २ वटा ३–३ तलाको टावर बनाइने छ। भीआईपी र खेलाडी रहने एउटा ब्लक अनि अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरू हुनेछन्। रंगशाला निर्माण पुरा भएपछि चितवन क्रिकेटको हबको रूपमा चिनिने चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाले बताए ।

धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माणको जिम्मेवारीबाट अलग भएपछि भरतपुर महानगरपालिकाले स्वामित्व लिएर काम अघि बढाएको हो। तीन तहको सरकारको साझेदारीमा निर्माण अघि बढाइएको हो। संघीय सरकारले २५ करोड विनियोजन गरेको छ। बागमती प्रदेश सरकारले ठेक्का सम्झौताको ७० प्रतिशत बजेटको निर्णय गरिसकेको छ। प्रदेश सरकारको ५२ करोड ५० लाख र केन्द्र सरकारले २५ करोड बजेट बिनियोजन गरेको छ। नपुग रकम भरतपुर महानगरले आन्तरिक स्रोतबाट जुटाउनेछ। बजेटको सुनिश्चिता भएको कारण अब रंगशाला निर्माणको काम कुनै कारणले पनि नरोकिने भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बताइन्। ‘आकारसँगै कामको तीब्रता पनि बढ्दै गएको छ। अब केही कारणले पनि काम रोकिने अवस्था छैन,’ दाहालले भनिन्, ‘यो राष्ट्रिय गौरवको आयोजना हो। निर्माण सकिएपछिको खेलाडी र दर्शकको उत्साह यो मैदानमा हेर्न आतुर छौं।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.