फिफा विश्वकप २०२६ : ब्राजिल समूह विजेता

फिफा विश्वकप २०२६ : ब्राजिल समूह विजेता
सुन्नुहोस्

एजेन्सी/मायामी : ब्राजिल र मोरक्को फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन्। बिहीबार बिहान भएको खेलमा ब्राजिलले स्कटल्यान्ड र मोरक्कोले हाइटीलाई हराउँदै नकआउट चरणमा प्रवेश गरेका हुन्। 

समूह ‘सी’अन्तर्गत एटलान्टा स्टेडियममा मोरक्कोले हाइटीलाई ४–२ गोलले पराजित गरेको गर्दा मायामी स्टेडियममा ब्राजिलले स्कटल्यान्डलाई ३–० ले हराउँदै समूह विजेता बनेको हो। ब्राजिलले तीन खेलमा ७ अंक बटुल्यो भने समान सात अंक रहेको मोरक्को हेड टु हेडमा उपविजेता बन्दै अन्तिम ३२ मा पुगेको हो।

ब्राजिललाई सहज जित दिलाउन भिनिसियस जुनियरले दुई गोल गरेका थिए। यस्तै  म्याथेस कुन्हाले एक गोल गरेका थिए। भिनिसियसले खेलको सातौं मिनेटमा गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए। भिनिसियसले नै पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै ब्रासजलको अग्रता दोब्बर बनाएका थिए। ६०औं मिनेटमा कुन्हाले गोल गर्दै ब्राजिललाई ३–० ले अगाडि बढाएका थिए। यसैगरी दुई पटकको अग्रता जोगाउन नसक्दा हाइटीले मोरक्कोलाई ४–२ को नतिजा सुम्पिएको हो। 

खेलको १०औं मिनेटमा आत्मघाती गोलमार्फत हाइटीले अग्रता लिएको थियो। मोरक्कोका बुनोले आफ्नै पोस्ट्को जाली चुमाएका थिए। ३९औं मिनेटमा मोरक्कोले बराबरी गोल फर्काएको थियो। अचरफ हाकिमीले टोलीलाई अग्रता दिलाएका थिए। ४३औं मिनेटमा हाइटीले दोस्रोपटक अग्रता लिएको थियो। विल्सन इसिडोरले दिलाएको त्यो अग्रता पनि हाइटीले जोगाउन सकेन। 

पहिलो हाफको इन्जुरी समयमा स्माइल साइबारीले गोल गर्दै मोरक्कोलाई बराबरीमा फर्काएका थिए। खेलको ७८औं मिनेटमा सौफिन रहिमीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए। त्यसपछि ८९औं मिनेटमा गेस्मिन यासिनले गोल गर्दै मोरक्कोलाई जित दिलाएका थिए। 

यसैगरी सहआयोजक क्यानडा पहिलोपटक विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डसँग पराजित भए पनि घरेलु टोली विश्वकपको नकआउट चरणमा प्रवेश गरेको हो।

समूह ‘बी’ बाट स्विट्जरल्यान्ड विजेता बन्दा क्यानडा उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको हो। सन् १९८६ र २०२२ मा विश्वकप खेलेको क्यानडा त्यतिबेला समूह चरणबाटै बाहिरिएको थियो। यसपटक घरेलु मैदानमा नकआउट चरणमा स्थान पक्का गरेको हो। यससँगै यस पटकको तीन वटै सहआयोजक नकआउट चरणमा प्रवेश गरेका छन्। अमेरिका र मेक्सिकोले यसअघि नै नकआउट चरणमा स्थान बनाइसकेका छन्।

क्यानडासँग समान अंक भएको बोस्निया एन्ड हर्जगोभिना गोलअन्तरको आधारमा तेस्रो स्थानमा रह्यो। बोस्निया एन्ड हर्जगोभिना पनि उत्कृष्ट तेस्रो स्थानको टोली बन्दै नकआउट चरणमा स्थान बनाउन सफल भयो। बोस्निया एन्ड हर्जगोविना तेस्रो स्थानको उत्कृष्ट आठ टोलीभित्र पर्दै नकआउट चरणमा प्रवेश गरेको हो। बोस्नियाले समूह चरणका तीन खेलमा एक जित, एक हार र एक बराबरी खेलेको थियो। क्यानडासँग हेड टु हेडमा पछि पर्दा बोस्निया उपविजेता बन्नबाट बञ्चित भएको थियो। पहिलोपटक सहभागी भएको सन् २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको बोस्निया दोस्रो प्रयासमा नकआउट चरणमा पुग्न सफल भएको हो।

यस्तै दक्षिण अफ्रिका पनि पहिलोपटक नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘ए’अन्तर्गतको अन्तिम खेलमा दक्षिण कोरियालाई १–० गोलले पराजित गर्दै दक्षिण अफ्रिका नकआउट चरणमा प्रवेश गरेको हो। दक्षिण अफ्रिकालाई जित दिलाउन थापेलो मासेकोले निर्णायक गोल गरेका थिए। उनले दोस्रो हाफको ६३औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेको थियो। 

चौथोपटक विश्वकप खेलेको दक्षिण अफ्रिका पहिलो पटक समूह चरण पार गरेको हो। सन् १९९८, २००२ र २०१० मा विश्वकप खेलेको दक्षिण अफ्रिकाले समूह चरण पार गर्न सकेको थिएन। दक्षिण अफ्रिकाले तीन खेलबाट ४ अंक जोड्दै समूह उपविजेताको रुपमा नकआउटमा पुगेको हो। सहआयोजक मेक्सिको नौ अंकसहित समूह विजेता बन्दै नकआउटमा स्थान बनाएको छ। 

तेस्रो स्थानमा रहेको दक्षिण कोरियाको तीन अंक छ। तेस्रो स्थानमा रहेकामध्ये उत्कृष्ट आठमा पर्दै नकआउट चरणमा पुग्ने दक्षिण कोरियाको सम्भावना पनि जीवितै छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.