अन्तिम खेलमा टर्कीएलाई सुखद नतिजा : अमेरिका समूह विजेताको रूपमा नकआउटमा
काठमाडौं : फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा टर्किएले समूह डीको विजेता अमेरिकालाई पराजित गरेको छ । अन्तिम खेलमा हार व्यहोरे पनि अमेरिका समूह डीको विजेताको रुपमा नकआउट खेल्ने छ ।
लस एन्जलस स्टेडियममा भएको खेलमा टर्किएले अमेरिकालाई ३–२ले पराजित गरेको हो । पहिलो हाफमा टर्किएले २–१ को अग्रता बनाएको थियो । दोस्रो हाफमा अमेरिकाले १ गोल थप्दै १ गोल व्यहोर्यो । खेलको तेस्रो मिनेटमा अमेरिकाको लागि अस्टन ट्रस्टीले गोल गर्दै खेलमा अग्रता बनाएको थियो।
त्यसको ६ मिनेटपछि टर्किएले बराबरी गोल फर्कायो । खेलको दशौं मिनेटमा अर्डा गुलरले वान बाइ वानमा उत्कृष्ट फिनिस गरे । अमेरिकाविरुद्ध खेलको ३१ औं मिनेटमा टर्किएले दोस्रो गोल गर्यो । टर्किएको लागि ओरकुन कोक्चुले गोल गरे । पहिलो हाफमा २–१ अग्रता बनाएको टर्किएले दोस्रो हाफमा एक गोल व्यहोर्यो ।
खेलको ४९ औं मिनेटमा अमेरिकाको लागि सेबास्टियन बरहाल्टरले गोल गरे । खेलको अन्तिम मिनेटमा टर्किएका लागि कान अहानले गोल गर्दै अमेरिकाविरुद्ध सुखद नतिजा दर्ता गरेको हो । यद्यपि यो जीतले टर्किए भने अगाडि बढ्दैन । यो खेल अगाडि नै टर्किए प्रतियोगिताबाट बाहिरिसकेको थियो । अमेरिकालाई पराजित गर्दै टर्कीएले विश्वकप २०२६ को सुखद अन्त्य गरेको छ । अमेरिका यो खेल अगाडि नै नकआउटमा प्रवेश गरिसकेको थियो। अमेरिकाले राउन्ड अफ ३२ मा बोस्निया एण्ड हर्जगोभिनासँग बुधबार खेल्ने छ ।
प्रतिक्रिया दिनुहोस !