कवितामा रमायो रोल्पा
रोल्पा : रोल्पा युद्धको प्रतीक बनिसकेको जिल्ला हो। यसैकारण यहाँ राजनीतिक कार्यक्रम तथा गतिविधिले प्रधानता पाइरहन्छन्। तर, विगत एक महिनाको अवधिमा दुईवटा राष्ट्रिय स्तरका साहित्यिक कार्यक्रम सम्पन्न भएसँगै रोल्पा देशभरिका साहित्यकारको ध्यान तान्न सफल भएको छ।
रोल्पा सदरमुकाम लिबाङमा गत जेठ २१, २२ र २३ गते ‘बृहत् साहित्य सम्मेलन’ भएको थियो भने गत शनिबार सुनछहरी गाउँपालिकाको पोबाङमा ‘एकदिने रोल्पा कला उत्सव’ सम्पन्न भएको छ। दुवै कार्यक्रममा लेखक, कवि तथा चिन्तकहरूले बहस, कार्यपत्र प्रस्तुति, कविता वाचन र अन्तरक्रिया गरेका थिए।
राजधानीबाट उत्सवका लागि आएका कवि तथा लेखकलाई पोबाङका बासिन्दाले मौलिक संस्कार तथा खानपानले स्वागत गरे। कार्यक्रममा स्थानीयवासी मगर भेषभूषामा सजिएर बहस सुन्दै साहित्यकारसँग प्रश्न गरिरहेका थिए। यो दृश्य हेर्दा गाउँमा हुने विभिन्न कार्यक्रमले उनीहरूलाई पाहुनासँग बोल्न अभ्यस्त भइसकेको भान हुन्थ्यो। हालसम्म विद्युत् नपुगेको रोल्पाकै विकट मानिने सुनछहरी गाउँपालिकाको केन्द्र पोबाङमा सुनछहरी कला–साहित्य समाजको आयोजना र सुनछहरी गाउँपालिकाको सहकार्यमा ‘रोल्पा कला उत्सव’ भएसँगै साहित्यिक वृत्तमा नयाँ तरंग पैदा भएको हो।
कला उत्सवमा कविता वाचन तथा बहस गरी विभिन्न चारवटा सेसन सम्पन्न भएका थिए। ‘रोल्पादेखि रोल्पासम्म’ नामक सुरुआती सेसनमा लेखक नवीन विभास, विश्लेषक एवं पत्रकार खेम बुढा र तत्कालीन सशस्त्र युद्धमा पनि सहभागी सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनमगरले विगत र वर्तमानको रोल्पामाथि बहस गरे।
बहसमा विश्लेषक खेम बुढाले रोल्पा पञ्चायत सरकारले गठन गरेको तत्कालीन नयाँ जिल्ला भएकाले सुरुआतबाट नै उपेक्षामा पर्दै आएको बताए। उनले भने, ‘यसै कारणले रोल्पाका नागरिकमा ‘एन्टी स्टेट साइकोलोजी’ विकास भइरहने गर्छ र त्यसलाई राज्यले सम्बोधन गर्न सक्दैन।’ यस्तै कार्यक्रमस्थल भएकै गाउँपालिकाका अध्यक्ष आशबहादुर पुन मगरले आफू जनयुद्धमा सामेल हुँदाका घटना स्मरण गर्दै आजको रोल्पाले विकास र सद्भाव खोजेको धारणा राखे। अर्का वक्ता लेखक नवीन विभासले युद्धको वर्णन मात्र गरेर अब केही फाइदा नहुने धारणा राख्दै भने, ‘रोल्पाको वास्तविक भावना र चाहनालाई सम्बोधन गर्नसक्ने मुद्दा राष्ट्रिय रूपमै उठाउनुपर्छ।’
यसैगरी ‘कविता कोलाज’ नाम दिइएको दोस्रो सेसनमा काठमाडौं तथा देशका विभिन्न भूभागबाट आमन्त्रित आठजना कविले कविता सुनाए। रंगवादी कविको रूपमा परिचित कवि स्वप्नील स्मृतिको दुईवटा कविताबाट सुरु भएको सेसनमा कविहरू दीपक सापकोटा, बीना थिङ तामाङ, विष्णु सन्न्यास, निर्भीकजंग रायमाझी, धीरज राई, जयन्ती सरगम र रामचन्द्र श्रेष्ठले आआफ्ना कविता सुनाए। कविहरूले विशेष गरी जनयुद्ध तथा संक्रमणकालीन राजनीतिको विषयलाई जोड दिएकाले कविता सुनाउँदै गर्दा स्थानीय जनप्रतिनिधि एवं श्रोताहरू निकै भावुक बनेका थिए।
तेस्रो सेसनमा ‘आजका नेपाली कविता’मा कविहरू स्वप्नील स्मृति, बीना थिङ र समीक्षक एवं पत्रकार रमन पौडेलबीच बहस चल्यो। पत्रकार एवं कवि दीपक सापकोटाले मोडेरेसन गरेको यस सेसनमा नेपाली कविताको पछिल्लो चित्रबारे बहस भयो। बहसमा समीक्षक पौडेलले आजका कवितामा नयाँ शैली र विचार नभएकाले नाम छोपेर पढे पनि सबैको कविता उस्तै हुने बताउँदै गर्दा अर्का कवि स्वप्नील स्मृतिले त्यसमाथि प्रतिवाद गरे। ‘विचार मिल्नेहरूबीच स्वतः गुट बन्ने हुनाले कतिपय कुरा साझा देखिन्छ’, स्मृतिले भने, ‘आजका कविता कमजोर छैनन्।’ समीक्षक पौडेलले सबैजना कवि बन्न रहर गर्नु नपर्ने बताइरहँदा कवि बीना थिङले भने जति धेरैबाट सिर्जना आउँछ त्यति नै नेपाली कविता परिस्कृत हुने बताइन्।
अन्तिम सेसनमा हाम्रा कविता रोल्पा विशेषमा दुईवटा मातृभाषाका कवितासहित १० जना रोल्पाली सर्जकले आआफ्ना सिर्जना प्रस्तुत गरे। कवि संगीत मगर र ब्योम जी अवतारले स्थानीय खाम भाषामा कविता वाचन गरे भने डीबी टुहुरो कमल, कमल विवश, पुरन क्षेत्री, खेमराज गाउँले, नवीन लोचन मगर, दीप दर्पण, महेश मानवलगायत रोल्पाली स्रष्टाले आफ्ना रचना वाचन गरे।
रोल्पाकै साहित्यकार डीबी टुहुरोले समग्र रोल्पाली साहित्यको कार्यपत्र प्रस्तुत गर्दै रोल्पामा आएर कवि कृष्ण सेनहरूले निकै उत्कृष्ट रचनाहरू सिर्जना गरेको स्मरण गराए। ‘अनेकौं कठिनाइ र युद्धबीच पनि रोल्पाले कला–साहित्यलाई जगेर्ना गरिरहेको छ’, टुहुरोले भने।
कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका रोल्पा नगरपालिका प्रमुख पुरन क्षेत्रीले राजधानीमै हुने तहको विशिष्ट कार्यक्रम यसपटक रोल्पामा भएकाले यसको विशेष महत्व रहेको बताए। साथै रोल्पाबाटै समकालीन नेपाली कवितामा हस्तक्षेप गरिरहेका अर्का युवाकवि विष्णु सन्न्यासले अवसर पाए रोल्पाका धेरै युवा प्रतिभाले मूलधारकै लेखनमा आफूलाई उभ्याउन सक्ने बताउँदै त्यसका लागि कडा परिश्रम गर्न स्थानीय युवा स्रष्टाहरूसँग अनुरोध गरे।