टुट्यो मनको तार
सम्पूर्ण
काठमाडौं : 'ड्रिम्स' डेब्यू अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाहको ब्रेकअपको खबर छ। साम्राज्ञी र मयंक खड्काबीचको तीन वर्ष लामो प्रेम अन्ततः ब्रेकअपमा परिणत भएको हो। 'ड्रिम्स' प्रदर्शनलगत्तै मयंकसँग नजिक भएकी साम्राज्ञी र उनको विवाह हुनेसमेत कुरा थियो। मयंक साम्राज्ञीको घर जाने नियमितजस्तै थियो भने साम्राज्ञीले पनि मयंकको बागलुङको पुख्र्यौली घरमा गएर परिवारसँग भेटिसकेकी थिइन्।
तर, दुवैबीच 'तिमीसँग' को सुटिङको समयदेखि मनमुटाव सुरु भएको दुवै निकट स्रोतको दाबी छ। फिलिपिन्समा 'कायरा' को सुटिङमा व्यस्त हुँदा यो दूरी झनै गाढा भएको थियो। दुवैको ब्रेकअपको हल्लालाई दुवैका फरक-फरक अभिव्यक्तिले पुष्टि गरेका छन्।
साम्राज्ञीले पत्रकारको 'तपाईंको ब्रेकअप भयो ?' भन्ने प्रश्नमा 'अनि के त' भन्ने उत्तर र मयंकको 'मैले शंका गरेँ रे' भन्ने फेसबुक स्ट्याटसले दुवैको सम्बन्धमा पूर्णविराम लागेको संकेत गर्छन्।
एकातिर पछिल्लो फिल्म फ्लप, अर्कोतिर रिलिजको सँघारमा भएको फिल्मको खास चर्चा छैन। त्यसमाथि ब्रेकअप। साम्राज्ञीलाई तनावैतनाव !