अति भो टिपर आतंक !

अति भो टिपर आतंक !

पटकपटकको खबरदारीपछि पनि सडकमा टिपर आतंक रोकिएको छैन। २०७४ साउनयता जेठसम्म एघार महिनामा टिपरको ठक्करबाट ३९ जनाको ज्यान गइसकेको छ। तर सम्बन्धित निकायले मृत्युको यो भयानक क्रमलाई रोक्न कुनै तदारुकता देखाएको छैन।

आतंकको अर्को नाम बनिसकेको छ टिपर। सडकमा यात्रा गर्ने जोसुकै पनि टिपरको यस किसिमको आतंकबाट अपरिचित छैनन्। टिपरका कारण मान्छे मर्ने घटना दुर्घटना हुन्थ्यो भने यस विषयमा सचेतना अपनाउँदा दुर्घटनाको क्रम रोक्न सकिन्थ्यो, तर त्यसो भएको छैन। टिपर चालकले ट्राफिक नियम पालना नगर्ने, लेन अनुशासन नमान्ने तथा बढी ट्रिपका लागि होडबाजीमा मानिसको ज्यानको ख्याल नगरी सवारी हाँक्ने गरेका छन्। अतः यो दुर्घटना होइन, हत्या हो, जघन्य अपराध हो।

सडकमा यसरी टिपर आतंकले निरन्तरता पाउनुमा चालकको लापरबाही मुख्य कारण रहेको ट्राफिक प्रहरीका उच्च अधिकारीहरू नै बताउँछन्। तीव्र गतिमा सम्भावित दुर्घटनाको कुनै वास्ता नगरी टिपर हाँक्ने चालकका कारण अनाहकमा मान्छेले ज्यान गुमाइरहेका छन्। कतिपय चालक कम उमेरका र कुनै मापदण्ड पूरा नगरी चालक बनेका छन्।

यस्तो लापरबाही गरेर यात्रुको ज्यान लिने चालक कानुनबाट सहजै उम्किने गरेका छन्। कानुन अभावमा यस्तो भएको होइन। सवारी ऐन २०४९ को दफा १६१(१) मा ज्यान मार्ने मनसायका साथ दुर्घटना गराएमा सर्वस्वसहित जन्मकैदको कडा व्यवस्था छ। तर दुर्घटना गराउने चालकलाई प्रायः सोही दफाको उपदफा (३) मा रहेको चालकले नदेखी दुर्घटना भएमा एक वर्ष कैद र दुई हजार जरिवानाको व्यवस्थाअन्तर्गत मुद्दा चलाउने गरिएको छ। अझ ज्यान गुमाएका परिवारलाई केही लाख रुपैयाँ क्षतिपूर्ति र किरिया खर्चका रूपमा दिएर मुद्दा समाप्तसमेत पारिन्छ। यसैबाट पनि टिपरका कारण ज्यान जाने घटनामा चालकले मात्र होइन, कानुन पालना गराउने निकायले समेत चरम लापरबाही गरेको पुष्टि हुन्छ। त्यसैले दुर्घटना गराएर ज्यान लिने टिपर चालकमाथि (१) नम्बरको व्यवस्थाअन्तर्गत ज्यान मुद्दा चलाइनुपर्छ।

अनुभवहीन र आलाकाँचा चालकका कारण यस्ता घटना बढी हुने गरेका छन्। त्यसलाई मध्यनजर गर्दै टिपर चलाउने अनुमतिपत्र जारी गर्दा चालकको दक्षतालाई ध्यान दिन जरुरी छ। निश्चित समय अन्य सवारी चलाएको अनुभव भएकालाई मात्र टिपरजस्तो भारी सवारी चलाउन दिइनुपर्छ। चालकमा संयमता, संवेदनशीलता, परिपक्वताजस्ता गुण पनि हुन आवश्यक छ। भारी सवारी चलाउनेको शैक्षिक योग्यता तोकिनुपर्छ। ट्राफिक प्रहरीले दुर्घटनाबारे सचेतना जगाउन चालकलाई दिने गरेको कक्षा पनि प्रभावकारी देखिएको छैन। त्यसैले यस्तो कक्षालाई कसरी प्रभावकारी बनाउन सकिन्छ, त्यसको खोजी हुन आवश्यक छ।

त्यसैगरी सहरमा टिपर चल्ने रुट तय हुनुपर्छ। जथाभावी व्यस्त सडकमा कार्यालय समयमा मालवाहक ठूला सवारी चलाउँदा दुर्घटना बढिरहेको छ। ठूला मालवाहकलाई कार्यालय समयमा चक्रपथ र भित्री सडक प्रवेशमा रोक लगाइए पनि त्यो पर्याप्त भएको छैन। त्यसैले यस्ता घटना न्यूनीकरण हुने गरी टिपर सञ्चालन समय पनि तोकिनुपर्छ। राति मात्र यस्ता सवारी चलाउने अनुमति दिइनुपर्छ।

टिपरका कारण ज्यान जाने घटना हुन थालेको र त्यसलाई रोक्न आवश्यक कदम चाल्नुपर्ने आवाज उठ्न थालेको लामो समय भइसकेको छ। तर मानिसको ज्यान गइरहेको छ। यसलाई रोक्न अपनाइएका उपाय अपर्याप्त र अपूर्ण छन्। त्यसैले सडकमा हत्या शैलीमा मानिस मारिनु दुःखान्त मात्र होइन, हाम्रो अक्षमता, राज्यविहीनता र अव्यवस्थाको प्रमाण बनेको छ। यसरी नागरिकको ज्यान जाने घटनाका लागि लापरबाह चालक मात्रै होइन, त्यसलाई रोक्न असफल र कानुनको पालना गराउन नसक्ने संयन्त्र पनि जिम्मेवार छ। पटकपटक टिपरकै कारण नागरिकले ज्यान गुमाइरहँदा राज्य किन मौन बसेको छ ? यो अराजकता नियन्त्रण गर्न किन हस्तक्षेपकारी भूमिका प्रदर्शन गर्न सकेको छैन ? टिपर आतंकबाट मानिस आजित भइसकेका छन्। राज्यले बलियो उपस्थिति देखाएर यस्ता हर्कत रोक्न नसके जनताको दिक्दारी आक्रोशमा बदलिनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.