पहिरोले भक्तपुरमा एकै घरका तीनको मृत्यु
भक्तपुर : बुधबार रातिदेखि परेको अविरल वर्षाले पहिरो जाँदा भक्तपुरमा एकै परिवारका तीनजनाले ज्यान गुमाएका छन् । चाँगुनारायण नगरपालिका ७ वागेश्वरीस्थित मझुवा गाउँमा गएको पहिरोले घरसमेत बगाएको वृद्धवृद्धा र एक बालिकाको ज्यान गएको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार जस्ताले छाएको एक तले घर पहिरोले बगाउँदा घरभित्र सुतिरहेका ७० वर्षीय बुद्ध लामा, उनकी श्रीमती ६५ वर्षीया पानमाया लामा र अढाई वर्षकी नातिनी सम्पदा लामाको ज्यान गएको प्रहरीले जनाएको छ ।
घर पछाडिको अग्लो कान्लो खसी घर थिचिएर पहिरोमा परेको परिसरका प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार बुद्धका छोराबुहारी भने नयाँ घरमा बसेकाले बच्न सफल भएका छन् । उनीहरुका छोरी बाजेबज्यैसँगै सुत्ने गरेका कारण उनी बच्न सकिनन् । अन्य क्षेत्रमा पहिरो गए पनि अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रहरी उपरीक्षक श्रेष्ठ बताउँछन् । उनका अनुसार भक्तपुरका ग्रामीण क्षेत्रमा पहिरो गएका छन् । पहिरोले घरहरु जोखिमपूर्ण अवस्थामा छन् ।
हनुमन्तेमा बर्सेनी बाढी
वर्षायाममा बर्सेनी हनुमन्ते खोला किनारका बस्तीहरु डुबानमा पर्ने समस्या सय वर्ष पछि दोहोरिएको हो । भक्तपुरको प्रमुख खोला हनुमन्ते खोला र खासाङखुसुङ खोलामा आएको बाढी सतह बढेर बस्तीमा पसेको हो । हनुमन्ते खोलामा बढेको पानीको सतहले भक्तपुर नगरको लिवाली, हनुमानघाट, चुपींघाट, राममन्दिर, बाराहीस्थान, सल्लाघारी हुँदै सृजनानगर क्षेत्र डुबाएको हो । यी क्षेत्रका बस्तीसँगै विद्यालय, अस्पताल तथा पसल व्यवसाय डुबानमा पर्दा धेरै भौतिक सम्पत्तिमा क्षति पुगेको छ ।
हनुमन्ते खोला र खासाङखुसुङ खोला मिल्ने मध्यपुर थिमी नपाको वडा नं ९ स्थित निकोसेरा र राधेराधे क्षेत्र बाढीले सबैभन्दा बढी प्रभावित भएको छ । यहाँका केही घरहरुको भुइतला पुरै डुबानमा परेको थियो । डुबानमा परेका सर्वसाधारणलाई सुरक्षाकर्मी र रेडक्रसका स्वयम्सेवकहरुले उद्धार गरेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार भक्तपुरका विभिन्न ठाउँमा भएको डुबानबाट करिब चारसय जनाको उद्धार गरिएको छ ।
बिहानै विद्यालय पुगेका विद्यार्थीहरुलाई समेत प्रहरीले डुबानबाट उद्धार गरेको छ । हनुमन्ते खोलाको बाढीले मध्यपुर थिमी नपाको निकोसेरा, राधेराधेसँगै नयाँ ठिमीको बालकुमारी, शंखधर चोकलगायतका घर तथा पसल डुबानमा परेका छन् । हनुमन्ते खोलाको बाढी भक्तपुर काठमाडौं ६ लेन सडकभन्दा बाढीसम्म आएको थियो । त्यस्तै बाढीकै कारण भक्तपुर हुँदै पुरानो ठिमी जाने बाटोसमेत अवरुद्ध भएको थियो । भक्तपुर भई काठमाडौं जाने र काठमाडौंबाट भक्तपुर भई पूर्वी नेपाल जाने सम्पूर्ण सवारीसाधन रोकिएका थिए । भक्तपुरबाट काठमाडौं जाने सवारीसाधन सृजनानगर र निकोसेरा तथा काठमाडौंबाट भक्तपुर हुँदै काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली हुँदै पूर्वी नेपाल जाने सवारीसाधन नयाँ ठिमी र पूरानो ठिमीमा रोकिएका थिए ।
हनुमन्ते खोलाको बाढी भक्तपुर–काठमाडौं ६ लेन सडकको उत्तरी लेन पानीले चुर्लुम्मै्र डुबेको थियो । ६ लेन सडकले बाढी छेक्दा मध्यपुर थिमीको बालकुमारीस्थित सामसुङ ब्राण्डको टीभी तथा इलेक्ट्रोनिक्स सामान उत्पादन गर्दै आएको हिम इलेक्ट्रोनिक्ससमेत डुबानमा परेको थियो । बाढी उक्त कम्पनीको गोदाममा राखिएका तयारी टीभीलगायत बगाएकोसमेत बताइएको छ ।