विरुवा मरे सरकारलाई सय, हुर्काए किसानलाई सय
दाङ : तुलसीपुर उपमहानगरपालिकाअन्तर्गत कृषि विकास शाखा कार्यालयले विरुवा लगेर जोगाउन नसक्नेलाई एक सय रुपैयाँ जरिवाना गर्ने भएको छ । शाखाले शाखाबाट लगेर हुर्काए एक सय रुपैयाँ प्रोत्साहनवापत दिने भएको छ ।
कृषि विकास शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक केसीले भने, ‘बिरुवा लगेर जोगाउनेलाई प्रतिविरुवा एक सय दिएर प्रोत्साहनस्वरुप दिन्छौं। तर यहाँबाट लगेका बिरुवा मरे भने प्रतिबिरुवा एक सयका दरले किसानलाई जरिवाना तिर्न लगाउँछौँ।’
केसीका अनुसार नगरपालिकाका १९ वडाका किसानलाई वरुवा वितरण गरेको हो । हालसम्ममा शाखाले किसानलाई विभिन्न प्रजातिका १३ हजार ६ सय तीन फलफूलका विरुवा निःशुल्क रुपमा वितरण गरेको छ।
अझै ११ हजार विरुवा वितरणका लागि तयारी अवस्थामा छ। कार्यालयले किसानलाई लक्ष्य गरी २० हेक्टर जमीनमा फलफूलका बिरुवा उत्पादन गरेको थियो ।
आफूले उत्पादन गरेका विरुवा अपुग भएपछि कार्यालयले कृषि अनुसन्धान केन्द्र धनकुटा, सल्यान लगायतका जिल्लाबाट ल्याई वितरण गरिरहेको केसीले जानकारी दिए।
वडा कार्यालयबाट सिफारिस लिएर आउने किसानलाई प्रतिकिसान २५ वटा विरुवाका दरले निःशुल्क वितरण गरिँदैआएको छ।
वितरण गरिएका विरुवामा सबैभन्दा बढी कागती, लिची, कटहर, अमला, लिची, अनार र अम्बा छन्। केराको बिरुवा ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराउने कार्यालयले जनाएको छ।
तुलसीपुर उपमहानगरपालिकाले नगर क्षेत्रमा फलफूल बगैँचा निर्माण गर्ने नीति नगरसभाबाट पारित गरेको छ। सोही सभाबाट विरुवा जोगाउनेलाई प्रोत्साहन तथा विरुवा मरेमा कारबाही गर्ने नीति पनि पारित गरिसकेको छ।
रासस