शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण
तानसेन : पाल्पा बगनासकाली गाउँपालिका–२ का प्रेमबहादुर बगालेले स्नातक तह उतीर्ण गरे । तर रोजगारी कतै पाएनन् । उनको योग्यताको प्रमाणपत्रले कतै काम दिएन । केही दिनअघि तिनै प्रमाणपत्र धितो राखेर ऋण पाएपछि उनी दंग छन् । उनले स्नातक तह उतीर्ण गरेको शैक्षिक प्रमाणपत्र मात्र धितो राखेर ४ लाख रुपैयाँ ऋण पाएका छन् । सोही रकमले गाउँमै एकीकृत कृषि प्रणालीमार्फत समूह बनाएर तरकारी खेती र पशुपालनको काम गर्दै आएका छन् ।
बगनासकाली गाउँपालिका–९ का हरिप्रसाद बस्यालले पनि स्नातक तहको शैक्षिक प्रमाणपत्र धितो राखेर पालिकाबाट १ लाख रुपैयाँ ऋण लिएका छन् । बस्यालले बाख्रा पालन व्यवसायका लागि ऋण लिएका हुन् । यसैगरी सोही वडा–२ का भगवान् गैरे र दुर्गा गैरेले पनि स्नातक तहको शैक्षिक प्रमाणपत्र धितो राखेर लेयर्स जातका कुखुरा पालनका लागि पालिकाबाट १ लाख रुपैयाँ ऋण पाएका छन् । तरकारी व्यवसाय गर्दै आएका वडा–२ का सचिना अधिकारी र अमृता पाण्डेले पनि शैक्षिक प्रमाणपत्र धितो राखेर १ लाख रुपैयाँ ऋण लिएका छन् ।
‘गाउँका घरजग्गा, कृषि पशु फार्मको धितो राखेर बैंकमा धेरै पटक धायौं, तर ऋण पाएनौं । अहिले गाउँपालिकाबाटै शैक्षिक प्रमाणपत्रका आधारमा ऋण पाउँदा निकै खुसी लागेको छ’, उनले भने ।
गाउँपालिकामा रहेका शैक्षिक बेरोजगारलाई कृषि पशुपालनमार्फत रोजगारी दिलाउने, वैदेशिक रोजगारीलाई न्यूनीकरण गराउने, बसाइँसराइको क्रमलाई न्यूनीकरण गराउने अभियानका साथ शैक्षिक प्रमाणपत्रका आधारमा गाउँपालिकाले ऋण लगानी सुरु गरेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । गाउँपालिकाले युवा स्वरोजगार कार्यक्रमअन्तर्गत युवाहरूलाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण लगानी गरेको हो । सरकारले आगामी आर्थिक वर्षदेखि बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लगानी गर्ने घोषणा कार्यान्वयन नगर्दै बगनासकाली गाउँपालिकाले शैक्षिक धितोकर्जा कार्यान्वयनमा ल्याएको हो ।
गाउँपालिकाले बिनाब्याज शैक्षिक धितो ऋण उपलब्ध गराएको छ । दुई वर्षको सीमा अवधि राखी ऋण लगानी गरेको गाउँपालिकाले समय सीमाभित्र ऋण चुक्ता गरेमा ५ प्रतिशत छुट दिने निति बनाएको छ । शैक्षिक प्रमाणपत्र धितो राखी ऋण लगानी भएका कृषिजन्य उद्योगहरूको समय समयमा अनुगमन गर्ने, प्रगतिका आधारमा गाउँपालिकाले थप ऋण सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अर्यालले बताए । आगामी वर्ष पनि शैक्षिक प्रमाणपत्र राखी ऋण लगानी वृद्धि गर्दै गाउँपालिकाभित्र शैक्षिक बेरोजगारको अन्त्य गर्ने उनले बताए ।
पालिकाले सुरु गरेको शैक्षिक प्रमाणपत्र धितो ऋण प्रवाह कार्यक्रममार्फत गाउँपालिकालाई समृद्ध बनाउने, गाउँमै रोजगारी बढाउने, वैदेशिक रोजगारी घटाउने, कृषि उत्पादनमा वृद्धि गराउने, बढ्दो बसाइँसराइ नियन्त्रण गर्न सहयोग पुग्नेछ ।