भानुभक्त नै हुन त आदिकवि ?

भानुभक्त नै हुन त आदिकवि ?

पृष्ठभूमि

साहित्य सिर्जना बृहत्तर राजनीति र इतिहास निरपेक्ष हँदैन । अझ समाज निरपेक्ष त साहित्यको सिर्जना हुनै सक्दैन । वैयक्तिक भावना, आवेग, कुण्ठा, हाँसो, रोदनका साहित्यिक अभिव्यक्तिका स्रोत पनि सामाजिक, पारिवारिक परिवेश नै हुन् । भानुभक्त आचार्यको आदिकवित्व अथवा उहाँलाई प्रदान गरिएको वा आजसम्म सम्बोधन गर्ने गरिएको ‘आदिकवि’ शिरफूललाई पनि विशिष्ट ऐतिहासिक, राजनीतिक र सामाजिक पृष्ठभूमिमा बुझ्नुपर्छ । त्यसैगरी उनका रचनाहरूलाई पनि त्यही पृष्ठभूमिमा हेर्नुपर्छ ।

नेपाल-अंग्रेज युद्ध सुरु भएको वर्ष सन् १८१४ मा भानुभक्तको जन्म पश्चिम नेपालको तनहुँमा भएको थियो । नेपाल-अंग्रेज युद्ध सुरु हुनु अघिको नेपालको राजनीतिक शक्ति क्रमशः नेपाल (काठमाडौं) पूर्व र पश्चिमतर्फ विजय अभियान जारी रहेको अवस्था थियो । वीर गोर्खालीहरूले पूर्व पश्चिम हानिरहेको कालमा वीर रसमय कविताहरू रचिएका थिए, ‘फिरंगी हटाई लुटिपिटी चाँडो, पुगी काली गंगा पखाल्नु छ खाँडो ।’ सन् १८१६ को सुगौली सन्धिले यस्ता वीरता, शूरता र साहसभाव जगाउने कविता रचनाको अन्त्य गरिदियो, कारण गोर्खाली मुलुक अंग्रेजसँग हारेको थियो । भानुभक्त आचार्यको जन्म यस्तै बेला भयो र उनी हुर्कंदै बढ्दै जाँदा समाजले वीर रसमय कविता रच्न छाडेर भगवान् शरणम् जप्ने र भगवान् भक्तिमय कविता कथ्ने, कहने क्रम सुरु भयो ।

यसरी भानुभक्त आचार्यको कवि जीवन भक्तिधाराका, आदर्श सामाजिक सन्देशवाहक र महिलामाथि अलि हेय दृष्टिका साथ कविता रचना गर्ने कविका रूपमा विकसित हँदै गयो । युद्ध हारेको देश र समाजले कस्तो कल्पना र कामना गर्छ, त्यसको चित्रण भानुभक्तका कवितामा पाइन्छन् । भानुभक्त बित्नुभन्दा दुई वर्षअगाडि विसं १८२३ मा जन्मिएका मोतीराम भट्टले भानुभक्तलाई प्रकाशमा ल्याए तर मोतीराम भट्टकै जीवनको सामाजिक, राजनीतिक, ऐतिहासिक वास्तविकता भने राणा शासनको चरमोत्कर्षको काल थियो । राणा श्री ३ र कमान्डिङ जर्नेलहरूका जीवनशैली बडा रागमय, प्रेममय थिए । त्यसैले चाकरी र शृंगार रसमय कविताहरू कोरिए । प्रेम, विरह, बिछोडको वेदना पोखिएका कविताहरू रचिए । मोतीराम आफैं शृंगारिक रचना कालका नेतृत्वमा थिए ः

रुइ दूई कि फुई यी तीन थोक चाहिन्छ जाडा महा

दुखित छु रुई फुई छन् ता पनि दूई नहुँदा महा

परदेसिएका खसमको सम्झना र बिछोडको विरहजन्य अभिव्यक्ति हो यो । राणा कालमा रचना यस्तै हुन्थे । राणा कालमा न कुनै देशलाई आक्रमण गरेर जितिहाल्नु थियो, न युद्ध हारेको औडाहामा भक्ति दर्शनमा लाग्नु नै थियो । वश, कि चैं राणाहरूको स्तुतिगान, कि त भने माया, प्रेम, विरहका गीतहरू । यो पृष्ठभूमि बाँध्नुको धेय यतिमात्र प्रस्ट्याउनु हो कि कुनै पनि रचना र सिर्जनाको पृष्ठभागमा विशिष्ट राजनीति र ऐतिहासिकता हुन्छ । त्यसमा भानुभक्त अपवाद थिएनन् ।

खस गोर्खाली भाषामा रामायण

वाल्मीकि रामायणको सहज सम्प्रेषणीय र बोधगम्य खस गोर्खाली भाषामा श्लोकहरू अनुवाद गरी आम खस गोर्खाली भाषीहरूले श्लोक हाल्न, गाउन सक्ने रामायण महाकाव्य आफ्नो समाजलाई उपहार दिन सक्नु नै गोर्खालीभाषी समाज र समुदायमा भानुभक्त आचार्यको विशिष्ट योगदान रह्यो । अत्यन्त सरल र गेयात्मक शैलीमा भानुभक्तले गोर्खाली भाषामा रामायणको उल्था गरे । उदाहरणतः रामायणको यौटा सुन्दर उपकथालाई भानुभक्तले कति सुन्दर र सुबोध्य रूपमा कविता उल्था गरेका रहेछन्, हेर्न सकिन्छ । उपकथा यस्तो छ, ‘क्षत्रीयहरूले संसार जिते, विनाश गरे भनेर क्षत्रीयहरूको नाश गर्न परशुराम (ब्राह्मण) नारायणको तपस्या गर्छन् ।

नेपालमा एकात्मक राज्यसत्ताका अनुयायीहरूमाझ भानुभक्तप्रति जुन बुझाइ हुन्छ, सीमान्तकृत आदिवासी तथा मधेसीहरूमाझ त्यही हुन्छ भन्ने छैन ।

नारायण खुसी हुन्छन् र परशुरामको अभीष्ट सिद्धिका लागि वरदान दिँदै भन्छन्, ‘तिमी क्षत्रीयहरूको नाश गर्न सक्छौ तर जुन दिन मेरो अवतारसँग तिम्रो भेट होला, त्यही दिन तिम्रो शक्ति नाश होला ।’ अब परशुराम क्षत्रीयहरूलाई जित्दै जित्दै अघि बढ्छन् र कालक्रम बित्दै जाँदा राजा जनकको दरबारमा यस्तो अवसरमा पुग्छन्, जहाँ रामचन्द्रसमेत शिवधनु ताँदो चढाएर वाण हान्ने प्रतियोगितामा हुन्छन् । रामचन्द्रले शिवधनुको ताँदो तानेको देखेपछि क्षत्रीय (विजयले उन्मत्त भएका परशुरामले व्यक्त गरेको रिसलाई भानुभक्तले यसरी श्लोक रचेका छन् ः

कसको पुत्र तँ होस बता मकन रे जाबो पुरानो धनु

भाँच्दैमा अति गर्व भो तँकन ता धेरै कुरा के भनुँ

यो ता हो हरिको धनु वीर भया ताँदो यसैमा चढा

भन्दै खुब रिसले रह्या परशुराम रामकै अगाडि खडा

परशुरामबाट आफ्नो धनुमा ताँदो तान्ने हाँक सुनेपछि रामचन्द्रले परशुरामको हातबाट धनु जसै खोसेर ताँदो चढाउन खोज्छन्, तसै परशुरामले पनि नारायणको अवतारसँग आफ्नो जम्काभेट भएको र आफ्नो शक्ति तत्काल क्षीण भएको समेत थाहा पाउँछन् र धनु रामचन्द्रलाई नै चढाई, ढोगी उनी अलप हुन्छन् ।

यसरी भानुभक्त खस गोर्खाली भाषीहरूका निमित्त जनकवि, लोककवि जस्ता भए । उनले रचेका कविता बोधगम्य र गेयात्मक गुणका थिए । उनका कविता जान्न बुझ्न संस्कृत भाषा जान्न बुझ्नै परेन । भानुभक्तभन्दा करिब ७० वर्षपछि जन्मेका कवि सोमनाथ सिग्द्यालले ‘आदर्श राघव’ (अर्को गोर्खाली भाषी रामायण) रचना गरे । सिग्द्यालले माथि भानुभक्तले लेखेका श्लोककै सारलाई कति क्लिष्ट र दुरुह बनाएर लेखेका छन्, हेरौं ः

पुराण धनु भाँचियो गजब के छ जो भो भयो

बुता यदि भए अझै पनि उठोस् छुटाई चाप यो

प्रचण्डमद नत्र यो परशुकण्ठको पीठमा

भयंकर कठोरता प्रकट गर्दछ छोडी क्षमा

भानुभक्त र सोमनाथका कविता कथ्य शैलीको तुलना यस अर्थमा मात्र गरिएको हो कि भानुभक्त सरल, सहज र सुबोध्य कविता रच्थे । यसैले, उनी खसभाषी दुनियाँका लागि बुझिने र गाउन सकिने कवि भए । सोमनाथलाई महान् शब्दशिल्पी कवि भनिन्छ । तर, उनका कविता दुर्बोध्य छन् । सोमनाथको कवितामा साधारण पाठकले छेउटुप्पो भेउ पाउँदैनन् ।

नारीको स्थान

भानुभक्तका कवितामा नारीप्रतिको दृष्टिकोण र वर्णन पढ्दा उनी यौटा ठेट पाखे गाउँले बाहुन प्रवृत्तिका देखिन्छन् । ‘समाज यस्तो होस्’को आग्रह उनमा छैन । ‘महिलाहरू यस्तो हुनुपर्छ, उस्तो हुनुपर्छ’को आदर्श उपदेशहरू भानुभक्तका ‘वधूशिक्षा’मा पाइन्छ । हुन त भानुभक्त बितेको एक सय ५० वर्षपछि पनि महिलाले अधिकारका लागि ‘चूँ’ सम्म गर्दा ‘एनजीओ ट्याउँट्याउँ चुप लाग्’ भनेर आदेश दिन्छन्, वर्तमान नेपालको प्रधानमन्त्रीले भने भानुभक्तकालीन महिलाहरूलाई हाँस्न मनाही गर्नु कुन ठूलो कुरा हो र ? ‘वधूशिक्षा’को एक श्लोक हेरौं ः

हाँस्नु छैन कदापि नारीहरूले वेश्या हुने हाँस्तछन्

वेश्या लौ नहउन् तथापि घरको काम नास्तछन्

एक्लै हाँस्न हूँदैन कोहि नभई अर्को सँगी भो जसै

हाँस्तैमा दिन जान्छ एहि रितले सब् काम बित्छन् तसै

‘वधूशिक्षा’ले तत्कालीन नेपाली समाजका पुरुषप्राधन्य बाहुन समुदायमा नारीलाई कस्तो रूपमा हेरिन्थ्यो भन्ने सामाजिक इतिहास प्रस्ट पार्छ । काठमाडौंमा महिला, किशोरीहरू सार्वजनिक हिँडडुल, घुमफिर गरेका दृश्यहरूले गाउँले भानुभक्त आचार्यको आँखा बिझाउँछन् र कविता रचना गर्छन् ः

कटि कुच कसी हिडन्या युवती

चलन्या पथमा नलजाई रति

सँगमा छ युवा दल ओरिपरी

अमरावति कान्तिपुरी नगरी

भानुभक्तकालीन नेपाल खाल्टो, तीन सहरभित्र हिन्दू बाहुन क्षेत्रीहरूको जनसंख्या त्यति उल्लेख्य थियो जस्तो लाग्दैन । यसर्थ पक्कै पनि तीन सहर नेपालका आदिवासी नेवार किशोरीहरूको हिँडडुलले भानुभक्तको नजर बिझाएको हुनुपर्छ । जे जसो भनिए पनि भानुभक्तले महिलालाई जुन दृष्टिले हेर्थे, आजको नेपालको सत्ताधारीहरूको नजर त्योभन्दा प्रगतिशील देखिँदैन । उदाहरण, ‘एनजीओ ट्याउँट्याउँ’विरुद्ध प्रधानमन्त्री ओलीको खरो निषेधात्मक आदेश नै काफी छ ।

के भानुभक्त आदिकवि हुन् ?

भानुभक्तभन्दा अघिको समयमा पनि खस गोर्खाली भाषामा कविता रचना भएका थिए । माथि नै उदाहरण प्रस्तुत गरियो । उनलाई आदिकवि उपाधि दिने प्रथमतः मोतीराम भट्ट थिए भनिन्छ । सायद मोतीरामले भानुभक्तका रचनाका पाण्डुलिपिहरू जम्मा गरेर पुस्तकका रूपमा छाप्दा नै आदिकवि लेखिदिए र उनको चिनारी आदिकविको रूपमा सुरु भएको हुन सक्छ । तर, जहाँसम्म भानुभक्त नेपाली भाषाका आदिकवि भन्ने सवाल छ, यस विषयलाई दुईवटा शब्दहरूको ऐतिहासिकी हेरेर बुझ्न सजिलो होला । पहिलो ‘आदि’ भनेको के हो ? अर्को ‘नेपाली’ भाषा के हो र कहिलेदेखि यो नामकरण भयो ? यी दुई शब्दको प्रचलन र बिस्तारको प्रसंग मूलतः पहिचानवादी दृष्टिकोण र गैरखस-गोर्खाली-नेपालीहरूका नजरबाट देखिन्छन् ।

नामकरणकै हिसाबले पनि आज जुन भाषालाई नेपाली भनिन्छ, यसो भन्न सुरु भएको लगभग ६०÷६५ वर्षमात्र हुँदैछ । त्यसअघि यो भाषालाई गोर्खाली भाषा भनिन्थ्यो, त्यसअघि खस भनिएको हुन सक्छ ।

हजुरबुवासँग संस्कृत पढेका भानुभक्तले लौकिक खस भाषामा लेखे र उनीभन्दा अगाडिका सर्जकभन्दा धेरे लेखे र महत्वपूर्ण लेखे । यो नै उनको महान् देन हो, यस अर्थमा उनी खस भाषाका आदिकवि हुन सक्छन् तर नेपालमा मूलतः सत्तासीन जाति पनि खसभाषी नै हुनुको परिणामतः आदिकवि शब्दको को यसरी अर्थ बिस्तार भयो कि नेपालकै आदिकविका रूपमा स्थापित भए । तर, आजको विशिष्ट सामाजिक, राजनीतिक परिवेशमा ‘आदि’ शब्दको अर्थ सिर्फ आदिकवि भन्नुमा सीमित रहेन । ‘आदि’ शब्दलाई ध्वन्यार्थमा आदिवासी समुदायहरूले अलि बढी अपनत्व ग्रहण गरेझैं लाग्छ । त्यसैले पनि भानुभक्त नेपालका आदिकविभन्दा कता कता के नमिलेझैं लाग्छ ।

जब नेपालमा पहिचानवादी र भाषिक आन्दोलनहरू सुरु भए, तब चैं हाम्रो भाषाको आदिकवि त आफ्नै पो थियो त भन्ने चेतना र खोजबिन सुरु भयो । बहुभाषीय यो देशमा दर्जनौं भाषामा आआफ्नै साहित्य सिर्जना हुन्छन् । नेवार (नेपाल भाषा)को आफ्नै रञ्जना लिपिमा र लिम्बूका आफ्नै सिरिजंगा लिपिमा साहित्य सिर्जना भइरहेकै छन्, सैयौं वर्षदेखि । भानुभक्तले साहित्य सिर्जना गरिरहेकै समयमा लिम्बूका सिरिजंगा लिपिमा लेखिएका पुस्तक थिए । मधेसमा मैथिली, भोजपुरी भाषामै कति सय वर्ष पुरानो सिर्जना होलान् । मैथिली, भोजपुरी, थारू, शेर्पाभाषीलगायत सर्जकहरूलाई ‘हाम्रा आदिकवि भानुभक्त’ भन्दा कति सहज, कति असहज महसुस हुँदो हो । हामी कल्पना गर्नमात्र सक्छौं, अनुभूति गर्न सक्दैनौं । यति अवश्य हो, भानुभक्तको साहित्यिक योगदान र सिर्जनाहरूलाई खसभाषी एकात्मक राज्यसत्ताले आफ्नो स्वार्थ अनुकूल समायोजन गर्दै ल्याउने क्रममा गैरखस भाषीहरूका आदिकविहरू उनीहरूकै इतिहासको गर्तमा पुरिए ।

 नेपाली भाषा, राष्ट्रियता र भानुभक्त

नेपाली राजनीतिमा विगत ६ दशकयता, मूलतः पञ्चायती कालदेखि, नेपाली भाषाका माध्यमबाट एकल र एकात्मक राष्ट्रियताको बिस्तार भइरहेको छ । र, यस भाषाजन्य एकल राष्ट्रियता निर्माणका लागि भानुभक्त र उनका रचनालाई नेपालमा भाषिक एकताका सूत्रधारका रूपमा चित्रण गरिँदै ल्याइएको छ । संकथन यस्तो निर्माण गरिएको छ कि सम्पूर्ण नेपालीलाई राजनीतिक रूपमा पृथ्वीनारायण शाहले ‘एकीकरण’ गरे भने भाषिक रूपमा भानुभक्तको रामायणमार्फत एक सूत्रमा बाँध्ने काम भयो । खस भाषामा लेखिएको हिन्दू धार्मिक महाआख्यानले सारा नेपालीलाई एक सूत्रमा बाँध्यो भन्ने भनाइ र बुझाइ नै नेपालका आदिवासीहरूलाई हिन्दूकृत गरिएको उदाहरण हो । बहुभाषीय नेपालमा कुनै एक भाषाका माध्यमबाट राष्ट्रियता निर्माण हुन्छ भन्ने विश्वास र राजनीति हिजो निरंकुश पञ्चायत कालमा जबर्जस्त रूपमा विस्तार गरियो । तर, आजको लोकतान्त्रिक भनिएको राज्यसत्ताले समेत पञ्चायती प्रतीक र त्यसै कालमा निर्मित राष्ट्रियतामा विश्वास गर्नु झनै उदेकलाग्दो लाग्छ ।

भानुभक्तलाई नेपालका सबै भाषाका आदिकविका रूपमा र भाषिक राष्ट्रियताका प्रतीकका रूपमा प्रस्तुत र प्रचार गरिनुमा उनको कुनै दोष छैन । उनी रचयिता हुन्, सर्जक हुन् । तर, बृहत् हिन्दू नेपाल निर्माण गर्ने, एकात्मक चरित्रको मुलुक बनाउने र एकात्मक राष्ट्रियता निर्माण गर्ने लामो राजनीतिक प्रक्रियामा शासकहरूले भानुभक्तको नाम र उनका कृतिहरूको उपयोग गर्दै ल्याए । यस मामलामा हालको सत्ता झनै आक्रामक ढंगले अघि बढ्लाझैं देखिँदैछ ।

भानुभक्त : फरक देश, फरक उपयोग

खस नेपाली भाषा मातृभाषाका रूपमा बोल्नेहरू वा सम्पर्क भाषाका रूपमा मात्र बोल्नेहरू दुवै पक्षले देशअनुसार फरकफरक अर्थमा भानुभक्तलाई उपयोग गर्ने गरेका छन् । जस्तै— नेपाली राज्यको चरित्र र भारतीय राज्यको चरित्र फरक छन् । नेपालबाहेक दार्जिलिङ, सिक्किम, भाक्सु, असम, मेघालयमा रहने नेपालीहरूले भानुभक्तलाई फरक ढंगले एकताको प्रतीकका रूपमा बुझ्छन् र पुज्छन् । यता नेपालमा एकात्मक राज्यसत्ताका अनुयायीहरूमाझ भानुभक्तप्रति जुन बुझाइ हुन्छ, सीमान्तकृत आदिवासीहरू तथा मधेसीहरूमाझ त्यही हुन्छ भन्ने छैन ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.