घरमा पनि रोकिएन विद्यार्थीको रुवावासी
प्यूठान : कक्षाकोठामा विद्यार्थीहरुमा रुने, कराउने, लडीबुडी गर्नेजस्ता समस्या देखिएपछि अमृत जीवन माध्यमिक विद्यालय नारीकोटले एक साता विद्यालय बन्द ग¥यो । दिनप्रतिदिन धेरै विद्यार्थीहरुमा समस्या बढ्दै गएपछि बाध्य भएर विद्यालय बन्द गर्नुपरेको थियो । ४७ जना विद्यार्थीहरु कक्षाकोठामा पहिलो घण्टी पढिसकेपछि सामूहिक रुपमा रुने, कराउने, छटपटिने गरेका थिए । अभिभावकहरुको सल्लाहमा बिद्यालय बन्द गरेपनि समस्या जस्ताको त्यस्तै छ । घरमा बस्दा पनि बालबालिका विद्यालयमा जस्तै गर्न थालेको अभिभावकहरुले गुनासो गरे ।
जिल्लाको दुर्गम गौमुखी गाउँपालिका–७ पिपलरुखास्थित नारीकोटमा महिनौदिन समस्या बढ्दै गएको प्रधानाध्यापक रामचन्द्र गिरीले जानकारी दिए । ‘घरमा पनि विद्यार्थीहरु स्कुलकै जस्तै गर्नथाले’,उनले भने,‘एकहप्ता विद्यालय बन्द गरेका थियौँ । समाधान नभएपछि एक महिना सम्म थप भएका छ ।’
असार २१ देखि गरिएको बिदा साउन २२ गतेसम्मका लागि थप गरिएको उनले बताए । गाउँमा आएका स्वास्थ्यकर्मीको टोलीले विद्यार्थीहरुलाई सामूहिक रुपमा नराख्न सुझाव दिएका छन् ।
अभिभावक, शिक्षक, विद्यार्थीहरुलाई सँगै राखेर स्वास्थ्य शिक्षा दिइएको उनले बताए । विद्यार्थीहरु एकै ठाउँ नबस्ने, उनीहरुका नजिक नहुने, बुवा आमाले धेरै नसम्झाउन समेत चिकित्सकहरुले सुझाव दिएका छन् ।
विद्यालय पुगेपछि दैनिक दुई÷तीन घण्टा विद्यार्थीहरु कक्षाकोठामा बस्नै नसक्ने गरी रुने कराउने गर्दछन् । विद्यार्थीहरुमा समस्या झनै बढेपछि पठनपाठन प्रभावित भएको छ । गत असार ५ गतेबाट कक्षा २ देखि सातसम्मका धेरैजसो छात्राहरुलाई उक्त समस्या देखा परेको हो । ३७ जना छात्रा र दश जना छात्रहरुमा समस्या देखिएको हो । शिक्षिकाले पढाइरहेका बेला एक्कासी तीन कक्षाकी छात्रा विमला विक रुन थालेपछि सबैमा यस्तो समस्या आएका हो । विद्यार्थीलाई निको हुने आशामा महिनौ बितेपनि समस्या ज्यूँका त्यूँ छ।
भुतप्रेतको आशंकमा अभिभावकको सल्लाह अनुसार विद्यालयले पूँजाआजा समेत गरेको थियो । धेरैजसो बालबालिकाहरु ६ देखि १६ वर्ष उमेरका छन् । ‘मुटु दुख्ने, आङ काप्ने, भुत आयो, नाँइ जादिँन, मलाई किन लतारेको’ जस्ता उनीहरुले रुँदै भन्ने गर्छन् । यसअघि विद्यालयमा पुगेकी प्यूठान अस्पतालमा कार्यरत डा. सोफिया थापाले पनि ‘मास हिस्टरिया’कै कारण विद्यार्थीहरुमा यस्तो समस्या देखिएको बताएकी थिइन् ।