गोविन्द केसीको जीवनरक्षाको माग गर्दै प्रदर्शन (फोटो)
काठमाडौं : माथेमा आयोगको प्रतिवेदनअनुसार चिकित्सा शिक्षा विधेयक संसदमा पेश गर्न माग गर्दै सरोकारवालाले आज काठमाडौंमा प्रदर्शन गरेका छन्। प्राध्यापक डा. गोविन्द केसी जुम्लामा १६ औँ दिन अनसन बसिरहँदा काठमाडौंमा दबाबमूलक र्याली भएको हो।
चिकित्सा शिक्षा सुधारका मागसहित कर्णाली प्रदेशको जुम्लामा असार १६ गतेदखि अनसनरत डा. केसीको स्वास्थ्य नाजुक बनेको छ। राजनीतिक दलका नेता, विभिन्न पेशाकर्मी, चिकित्सक, विद्यार्थी र सर्वसाधारणले चिकित्सा शिक्षासम्बन्धी माथेमा आयोगको प्रतिवेदनअनुसारको चिकित्सा शिक्षा विधेयक ल्याई डा. केसीको जीवनरक्षा गर्न माग गरेका छन्।
कार्यक्रममा चिकित्सा शिक्षासम्बन्धी नीति तर्जुमा उच्चस्तरीय कार्यदलका संयोजक प्रा केदारभक्त माथेमाले कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न नसक्नुका कारणबारे स्पष्ट पार्न सरकारलाई आग्रह गरे। उनले भने, 'हामीले बुझाएको प्रतिवेदन प्रष्ट र सरल छ, हामीले त्यसमा चिकित्सा शिक्षाको गुणस्तर माथि हुनुपर्छ र काठमाडौँमा धेरै नै मेडिकल कलेज भयो भनेर भनेका हौँ, त्यो भन्नुको कारण दिएका छौँ।'
उनले काठमाडौँमा धेरै भएकाले राजधानी बाहिर मेडिकल कलेज स्थापना गरी बाहिरका जनताको पहुँचमा शिक्षा र सेवा पुर्याउन सकिने आधारमा त्यस्तो सिफारिस गरिएको बताए।
काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्यालीपछि कोणसभा भएको थियो। कार्यक्रममा पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठ, चिकित्सा शिक्षा सुधारका लागि गठित कार्यदलका संयोजक प्रा. डा. केदारभक्त माथेमा, पूर्व स्वास्थ्यमन्त्री एवं कांग्रेस सांसद गगन थापा, विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलगायत सहभागी थिए।
हेर्नुस् माइतीघरको प्रदर्शनमा दीपेन श्रेष्ठले खिचेका फोटोः
नयाँ बानेश्वरमा भएको कोणसभामा सरोज बैजुले खिचेका फोटाः