सूचना दिन अझै पनि मानिसकै भर
(मिरुल) रोल्पा : थबाङ गाउँपालिका–३ मिरुल टुँटुस्थित प्रहरीचौकीका इन्चार्ज यामबहादुर घर्तीमगर खबर सञ्चार गर्नुपर्यो भने अग्लो डाँडा उक्लिने गर्छन् । फोनको नेटवर्क चौकी आसपाससम्म पुग्दैन । सञ्चार सम्पर्कका लागि त नेटवर्क टिप्ने अग्ला डाँडामा पुग्नैपर्ने उनको बाध्यता छ ।
सञ्चार सुविधा सहज नहुँदा कैयौं कठिनाइ झेल्नुपरेको उनी बताउँछन् । उनी मिरुलस्थित रानागाउँ प्रहरीचौकीमा सरुवा भएर आएको तीन वर्ष भइसक्यो । उनले आएदेखि सञ्चार समस्या भोग्दै आएका छन् भने गाउँलेले त वर्षौंदेखि । यस भेगका मिरुल, कुरेली र थबाङमा पनि नेटवर्कक समस्या यस्तै छ । केही वर्षअघि एक प्रहरी जवान अग्लो डाँडामा पुगेर फोनको नेटवर्क सर्च गर्दा लडेर गम्भीर घाइते भएका थिए । उनलाई हेलिकोप्टरबाट तत्कालन उद्धारसमेत गर्नुपरेको थियो ।
फोन सेवा प्रभावकारी नहुँदा महŒवपूर्ण खबर आदानप्रदानमा गाह्रो हुने मिरुलगाउँकी लक्ष्मी डाँगी बताउँछिन् । ‘हातमा फोन बोकेर के गर्नु नेटवर्क नै देखाउँदैन’, लक्ष्मी भन्छिन्, ‘मिरुलको आसपास फोनको टावर नै छैन ।’ छिमेकी थबाङ र राङकोटमा रहेको टावरले अग्ला डाँडामा थोरै नेटवर्क देखाउने भएकाले गाउँले फोन गर्न अग्ला डाँडातिर जाने गर्छन् ।
गजुल स्थायी घर भई जिल्लाको सदरमुकाम लिबाङमा बसोबास गर्दै आएका चन्द्रज्योति सुवेदी थबाङ गाउँपालिका ३ नं वडा कार्यालय मिरुलका सचिव हुन् । घरबाट कार्यालय पुगेपछि सञ्चारविहीन भएर कार्यसम्पादन गर्नुपर्छ । सचिव सुवेदी भन्छन्, ‘परिवारलाई कार्यस्थलमा पुगिसकेको खबरसमेत गर्न सकिँदैन । जरुरी काम पर्यो भने अग्लो डाँडामा हस्याङफस्याङ गर्दै उक्लिएर फोन गर्छु ।’ कार्यालयमा इन्टरनेट सुविधा त झन कहाँबाट पाउनु । विभाग र गाउँपालिकाबाट आउने महŒवपूर्ण इमेल हेर्न नसक्दा कार्यसम्पादनमा समस्या आउँछ ।
तत्काल गर्नुपर्ने काम सञ्चार अभावले मिति गुज्रिएपछि मात्र खबर गाउँमा पुग्ने अवस्था हुँदा प्रभावित हुने सचिव सुवेदी बताउँछन् । मिरुल टुँटुमा रहेको वडा कार्यालय छेउमा एनसेलको न्यून क्षमताको नेटवर्क देखाउने भएकाले फोन गर्ने मानिस त्यहीँ झुम्मिएका हुन्छन् । स्वास्थ्यचौकी इन्चार्ज सविना रोका पनि सञ्चार सुविधा नहुँदा खबर आदानप्रदानमा बाधा पुगेको बताउँछिन् । गाउँमा रहेका स्वास्थ्य स्वंसेविका र आमा समूहलाई महŒवपूर्ण खबर गर्न स्वास्थ्यकर्मी आपैmं गाउँ कुद्छन् ।
तत्काल गर्नुपर्ने काम सञ्चार अभावले मिति गुज्रिएपछि मात्र खबर पुग्ने गरेको छ।
यस भेगमा रेडियो र एफएम समेत राम्रोसँग सुनिदैनन् । महŒवपूर्ण घटना सदरमुकाम र सहरबाट गाउँ पुगेकाले बताए मात्र सुन्नुपर्ने बाध्यता छ । त्यस्तै पूर्वीरोल्पाको पोबाङमा रहेको सुनछहरी गाउँपालिका कार्यालयमा पनि फोन सेवा छैन । त्यहाँका जनप्रतिनिधि र कर्मचारी फोन गर्न नेटवर्कले खोज्दै हिँड्छन् । ‘फोनको नेटवर्कले कार्यालयस्थल वरपर काम नगर्दा कार्यसम्पादनमा बाधा आएको छ’, अध्यक्ष आशबहादुर पुन भन्छन्, ‘कसैले हामीलाई फोन गर्न चाह्यो भने सम्भावनै छैन । हामीले फोन गर्न नेटवर्क लाग्ने स्थानमा पुग्नुपर्छ ।’
सुनछहरी र थबाङ गाउँपालिका जिल्लाको विकट उत्तरी भेगमा अवस्थित छन् । विद्युत् सेवासमेत नपुगेको यहाँ कतिपय ठाउँमा लघु जलविद्युत् निकालिएको छ । फोन र मोबाइलको ब्याट्री चार्ज गर्नसमेत मुस्किल हुने यी गाउँ सञ्चारविहीन छन् । गाउँपालिकाले पोबाङमा ठूलो मिहिनेत र खर्च गरेर इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । सातदोबाटोबाट सिउरीको अग्लो डाँडामा रिले टावर राखेर गाम, सिउरी र पोबाङलगायत कार्यालयमा केही महिना अघिदेखि वाईफाई सञ्चालनमा ल्याइएको सुविसुका जिल्ला प्रतिनिधि वीरेन्द्र श्रेष्ठ बताउँछन् ।
जिल्लाका धेरैजसो खोंचमा रहेका गाउँमा नेटवर्कले काम नगर्दा गाउँले सञ्चारविहीन छन् । सञ्चार अभावले उनीहरूको दैनिकीसमेत प्रभावित हुने गरेको छ । सञ्चारविहीन गाउँलेले अग्ला डाँडामा फोनको टावर राख्न मागसमेत गर्दै आएका छन् । अग्ला भूभाग र खोंचयुक्त गाउँमा डाँडामा राखिएको फोनको टावरले काम नगर्दा कतिपय गाउँले फोन र इन्टरनेट सुविधाबाट वञ्चित हुनुपरेको नेपाल टेलिकमले जनाएको छ ।
फोटो १ र २ ः रोल्पा थबाङ गाउँपालिका–३ मिरुल टुँटुमा थोरै भए पनि नेटवर्कले काम गर्ने स्थानमा फोन गर्दै युवा ।