लेभल थ्री को स्की अब नेपालमै

लेभल थ्री को स्की अब नेपालमै

काठमाडौं : तीन वर्षयता सुरु भएको व्यावसायिक स्की खेलको विकास गर्न तेस्रो स्तरको स्की प्रशिक्षक नेपालमै तयार हुन थालेका छन् । नेपाल पर्वतीय प्रतिष्ठानले यस वर्षदेखि तेस्रो स्तरको दक्ष स्की प्रशिक्षकलाई प्रशिक्षण दिन थालेको हो ।

स्कीको सम्भावना देखिएपछि आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित प्रशिक्षक प्रशिक्षित गर्न सुरु गरिएको नेपाल पर्वतीय प्रतिष्ठानका कार्यकारी निर्देशक रोमनाथ ज्ञवालीले जानकारी दिए । पर्वतारोहण पथप्रदर्शक छिरिङ जाङबु, रितेन जाङबु र आङदावा शेर्पा तेस्रो तहका स्की प्रशिक्षक बनेको उनले जानकारी दिए । तीन वर्षयता पहिलो तहको स्की तालिम नेपालमा दिइँदै आएको छ ।

स्विट्जरल्यान्ड र फ्रान्सको अल्पाइन क्लबले नेपाली पर्वतारोहण गाइडलाई दोस्रो तहको स्की तालिम दिँदै आएको छ । यसै महिना प्रतिष्ठानले बर्खायाममा मुस्ताङको भृकुटी पिक (६,३६१ मिटर) आरोहणसहित स्की तालिम सम्पन्न गरेको छ । नेपालीले सरकारसँग अनुमति लिएर स्की खेलेको यो देशकै पहिलो पटक हो । हाल नेपालमा २६ जना पर्वतारोहण पथप्रदर्शकले दोस्रो तहको तालिम लिएका छन् ।

अन्य देशभन्दा फरक हुने हाइअल्टिच्युट स्कीको नेपालमा प्रशस्त सम्भावना रहेको भन्दै प्रचारप्रसारसहित जनशक्ति व्यवस्थापन गर्न दक्ष प्रशिक्षक तयार पार्न थालिएको हो । सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न स्कीको पनि प्रमुख भूमिका हुने भन्दै प्रतिष्ठानले सोलुको मेरापिक, खप्तड, बागलुङको ढोरपाटन, मुक्तिनाथ, दोलखाको सैलुङ र मुस्ताङको भृकुटी पिकमा सम्भाव्यता अध्यन गरी स्की खेल्नयोग्य गन्तव्यमा विकास गरिसकेको छ ।

तेस्रो स्तरका दक्ष स्की प्रशिक्षक छिरिङ जाङबु, रितेन जाङबु र आङदावा शेर्पालाई प्रमाणपत्रसहित सम्मान गर्दे संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी ।

३ हजार मिटरमाथिका हिमालमा स्की खेल्न सकिने अध्ययनले देखाएको छ । स्की गाइड र नियमावली नहुनु, भौगोलिक विकटता, होटललगायत सुविधा नहुँदा नेपालमा स्कीको विकास हुन नसकेको प्रशिक्षकहरूको भनाइ छ । नेपालमा स्की खेल्न व्यक्तिगत रूपमा आउने गरे पनि सामूहिक रूपमा नआउँदा राज्यले राजस्व संकलन गर्न सकेको छैन ।

अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने एउटै मात्र क्षेत्र पर्यटन भएकाले संख्यात्मक मात्र नभएर गुणस्तरीय पर्यटकसहित कुल गार्हस्थ्य उत्पादनमा सहयोग पुग्ने गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारले राखेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बताए । ‘पर्वतारोहण पर्यटकको सम्भावना बढी छ । स्की पनि यसको एउटा माध्यम हो । जनशक्ति उत्पादनमा सरकार लागेको छ’, उनले भने । सन् १९९८ मा १० लाख पर्यटक भित्राउने लक्ष्य थियो तर २० वर्ष बितिसक्दा पनि जम्मा ७ लाख मात्र पुगेकाले थप सुधार गर्न सरकार कटीबद्ध भएर लागेको उनले जानकारी दिए ।

२० लाख पर्यटक भित्र्याउन एक वर्षभित्र भैरहवा विमानस्थल र तीन वर्षभित्र पोखरा विमानस्थल निर्माण गरिने मन्त्री अधिकारीले दाबी गरे । त्यसपछि सन् २०३० सम्ममा ५० लाख पर्यटक भित्र्याउने लक्ष्य सम्भव हुनेछ । स्कीलाई थप सहज र व्यवस्थित बनाउन समयानुकूल ऐननियम परिमार्जन गर्नु तथा सेतो र खैरो कपाललाई मात्र पर्यटक नठानी आन्तरिक पर्यटक विकासमा पनि सरकारले काम गर्नु पर्ने स्की प्रशिक्षक छिरिङ जाङबु शेर्पाले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.