सुठौली छोटी भन्सार स्तरोन्नतिले सहज

सुठौली छोटी भन्सार स्तरोन्नतिले सहज

तौलिहवा : कपिलवस्तुको सुठौली छोटी भन्सारको स्तरोन्नतिले उद्योगी व्यवसायीलाई सहज हुने भएको छ। सुठौली ठूलो भन्सार कार्यालयको रूपमा स्थापना हुने भएपछि व्यवसायीहरू उत्साहित छन्। लामो समयदेखि कृष्णनगर भन्सार कार्यालयको मातहतमा रहेको यस नाका ठूलो भन्सार कार्यालयको रूपमा स्थापना हुन लागेको हो।

मन्त्रिपरिषदको हालै बसेको बैठकले यशोधरा गाउँपालिकाको मर्यादापुरमा अवस्थित छोटी भन्सारको स्तरवृद्धि गर्ने निर्णय गरेको छ। हरेक चुनावमा छोटी भन्सार दलहरूको विशेष प्राथमिकतामा पर्दै आएको थियो। जिल्ला सदरमुकाम तौलिहवासँगै भगवान् गौतम बुद्धको क्रीडास्थल तिलौराकोटसँग सीधा जोडिएको भए पनि यस नाका व्यवस्थित हुन सकेको थिएन। छोटी भन्सार कार्यालय व्यवस्थित हुन नसक्दा तिलौराकोटलगायतका बुद्धस्थल घुम्न आउने पर्यटक पनि घुमाउरो बाटो प्रयोग गरेर यहाँ आउने गरेका थिए। यहाँ आउने पर्यटकले कृष्णनगर र सुनौली नाकाको प्रयोग गर्दै आइरहेका छन्।

छोटी भन्सार नाकाको स्तरोन्नति भएसँगै पर्यटक आवागमनमा पनि वृद्धि हुने कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलकोे अपेक्षा छ। ‘भन्सार नाकाको स्तरवृद्धि भएसँगै दोस्रो तथा तेस्रो मुलुक हुँदै यहाँ घुम्न आउने पर्यटकहरू पनि बढ्नेछन’, अध्यक्ष पौडेलले भने यो समग्र जिल्लाको लागि खुसीको कुरा हो।’

सुठौली पुरानो नाका हो। तर स्तरोन्नति नहुँदा ओझेलमा पर्दै आएको थियो । प्रमुख भन्सार भएसँगै व्यापार प्रवद्र्धन, रोजगारीहरू सिर्जना हुनुका साथै सो क्षेत्रमा भौतिक पूर्वाधार विकास हुने जिल्लाबासीले अपेक्षा गरेका छन्। सुठौली भन्सार प्रमुख नाका भएपछि प्रदेश ४ र ५ लाई फाइदा हुने प्रतिनिधिसभा पूर्वकानुनमन्त्री तथा क्षेत्र नं. २ का सांसद वृजेशकुमार गुप्ताले बताए। नाका स्तरोन्नतिसँगै अब जिल्लाको व्यापार-व्यवसायले गति लिने बताए । उनले औद्योगिक क्षेत्र बन्ने र रोजगारी सिर्जना हुने बताए । सुठौली नाकामा सुक्खा बन्दरगाह निर्माण गर्ने र भारतबाट रेल ल्याउन सके धेरै फाइदा हुने उनको तर्क छ ।

नाकाबाट मेसिनरी सामग्री, फलफूल क्लिंकरलगायत सामग्री आयात हुनेछ । जिल्लाको एक मात्र कृष्णनगर मूल भन्सारमा अत्यधिक चाप हुने भएकाले विगतमा हुने गरेका राजस्व चुहावटमा नियन्त्रण आउने विश्वास गरिएको छ । छोटी भन्सारहरूबाट हुने चुहावट र खुला सिमानाका कारण भइरहेको समस्या नियन्त्रण तथा राजस्व वृद्धि हुने मर्यादापुरका स्थानीय रमेश शर्मा बताउँछन् । सुठौली भन्सारले भारतबाट उत्पादित वस्तु नेपाल आयात तथा नेपालबाट उत्पादित वस्तु भारतमा निर्यात गर्न सक्नेछ । तर, सो नाकाले तेस्रो मुलुकबाट आयातित वा तेस्रो मुलुक निर्यात गर्ने वस्तु भन्सार गर्न नपाउने व्यवस्था छ।

सुठौली छोटी भन्सारको स्तरवृद्धिले यस क्षेत्रको व्यवसायमा ठूलो योगदान पुग्ने व्यापारीको पनि अपेक्षा छ। लामो समयदेखि ओझेलमा परेको यस नाकाको विकाससँगै सदरमुकाम तौलिहवा, गोरुसिंगे र चार नम्बर, वनगाई बजारसमेत लाभान्वित हुनेछन। सुठौली नाकाबाट आयातित वस्तु अर्घाखाँची, गुल्मी हुँदै बाग्लुङ-ढोरपाटन सडक सञ्जालमार्फत मध्यपहाडी क्षेत्रसम्म पुर्‍याउन निकै सहज हुने व्यापारीको भनाइ छ । सरकारले छोटी भन्सार नाकालाई मुल भन्सारमा परिणत गरेपछि राजस्वमा समेत वृद्धि हुने हुने अपेक्षा छ । अहिले दैनिक १० देखि १५ लाख राजस्व संकलन हुने गरेकामा मुल भन्सार भएपछि दैनिक दुई करोडसम्म राजस्व संकलन गर्ने लक्ष्य राखेको कृष्णनगर भन्सार कार्यालय प्रमुख पुण्यविक्रम खड्का बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.