'भैरेको कथा मन परेकाले छाड्न सकिनँ'
काठमाडौं : ‘लुट’मा ‘गोफ्ले’को भूमिका निर्वाह गरेपछि रातारात चम्किएका दयाहाङ राई अहिलेका व्यस्त कलाकारको लिस्टमा दरिन्छन् । महँगा अभिनेताको सूचीमा पनि उनी अग्रणी नै छन् । गएको वर्ष महिनैपिच्छे नयाँ फिल्म लिएर हल छिरेका उनी यस वर्षका लागि दर्शकलाई फिल्म ‘भैरे’ पहिलो कोसेलीस्वरूप दिँदैछन्, जुन साउन ४ बाट प्रदर्शनमा आउँदै छ । यसमा उनी लिड रोलमा छन् ।
एभरेस्ट सूर्य बोहरा निर्देशित फिल्ममा दयाहाङ टाइटल क्यारेक्टरमा छन् । ‘लुट’ले ‘गोफ्ले’ नामबाट परिचित गराएझैं ‘भैरे’ले पनि आफूलाई नयाँ परिचय दिनेमा उनी विश्वस्त छन् । भन्छन्, ‘भैरे’को कथा मन पर्यो अनि छाड्न सकिनँ । यो मेरो टाइपको फिल्म बनेको छ ।’
‘भैरे’ सोसल ड्रामा हो । पहिलादेखि जसरी फिल्म बनिरहेका थिए, त्यसैको एक अवधारणा हो । यो कुनै ठाउँविशेषको कथा होइन । नेपालभरको एक प्रतिनिधि गाउँमा सुटिङ गरिएको छ, जुन मुस्ताङ र अपर मुस्ताङमा खिचिएको छ’, उनले भने ।
उनी ‘भैरे’लाई कमर्सियल फिल्म भन्न चाहन्छन् । दर्शकलाई सोच्न विवश नबनाए पनि फिल्मले मनोरञ्जन दिन्छ । ‘भैरे’ तपार्इंको करिअरको फरक फिल्म हो ? उनी भन्छन्, ‘त्यो त भन्दिनँ तर मेकिङको हिसाबबाट भने फरक भन्न सक्छु ।’ उनी फिल्मले राम्रो नतिजा ल्याउने दाबी पनि गर्छन् । यसमा दयाहाङको जोडी अभिनेत्री सुरक्षा पन्तसँग बाँधिएको छ । ‘सान्नानीलाई भेट्न आउँदा’ र ‘सनम माया लाको’ गीतले फिल्मको हाइप मेन्टेन गरिरहँदा ट्रेलरले पनि दर्शकमा फिल्मप्रति चासो जगाइरहेको छ ।
यो फिल्मका निर्माता प्रेमप्रसाद पौडेल र देवीमाया अधिकारी हुन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल, सिन्धु पौडेल र कुमार बस्नेत फिल्मका सहनिर्मातामा छन् । नेपालय सिनेमा इन्टरनेसनलद्वारा निर्मित तथा लेखबहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’को सम्पादन बनिश शाहले गरेका छन् । पुरुषोत्तम प्रधानले ‘भैरे’को सम्पूर्ण दृश्य खिचेका छन् ।
सूर्य थोक्करको द्वन्द्व रहेको फिल्ममा वर्षा शिवाकोटी, बुद्धि तामाङ, विक्रान्त बस्नेत, सुनील थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, जान्वी बोहरा, जयनन्द लामा, सुरवीर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारको पनि अभिनय छ ।