नेपाल–भारत पानीजहाज वार्ता : संस्थागत संरचना बनाउने सहमति
काठमाडौं : नेपाल र भारतका अधिकारीबीच पानी जहाज (जल यातायात) सञ्चालनका लागि काम–कारबाही तुरुन्त अगाडि बढाउन सहमति भएको छ । नेपाली टोलीले भारतको र भारतीय टोलीले नेपालको नदी प्राविधिक जाँचपडताल गरी स्थलगत अध्ययनबाट प्राप्त सिफारिसका आधारमा दुवै पक्षबीच संस्थागत संरचना गठन गर्ने सहमति भएको छ ।
काठमाडौंमा दुवै पक्षबीच सोमबार सम्पन्न बैठकपछि जारी जल तथा ऊर्जा आयोगले जारी गरेको विज्ञप्तिमा दुवै पक्षबाट आ–आफ्नो तर्पmको प्राविधिक टोली गठन गरी यथाशीघ्र दुवै पक्षलाई सुविधा हुने समयमा स्थलगत भ्रमण गर्ने उल्लेख छ ।
विज्ञप्तिअनुसार नेपाली प्राविधिक टोलीले भारतको गंगा नदी (एनडब्लू–१) का हाल निर्माणाधीन कोलकाता हल्दिया–वाराणसी जलमार्गको अध्ययन गर्नेछ । त्यसैगरी भारतीय पक्षको विशेषज्ञ टोलीले नेपालतर्पm कोसी तथा नारायणी नदीमा जल यातायातको स्थलगत अध्ययन गरी दुवै पक्षबीच छलफल गर्ने सहमति भएको छ ।
‘यी दुवै टोलीहरूको स्थलगत अध्ययनबाट प्राप्त सिफारिसका आधारमा दुवै पक्षबीच द्विपक्षीय संस्थागत संरचना गठन गर्ने सहमति भयो,’ आयोगको विज्ञप्तिमा छ ।
नेपाललाई समुद्रसम्म जलमार्गमार्पmत जोड्ने (इनल्यान्ड वाटरवे कनेक्टिभिटी) सम्बन्धमा नेपाल र भारतमा यसका सम्भावना र अवसरबारे काठमाडौंमा आइतबारदेखि छलफल तथा वार्ता भएको थियो । वार्तामा नेपाली पक्षको नेतृत्व आयोगका सहसचिव माधव बेल्बासे र भारतीय अन्तर्देशीय जलमार्ग प्राधिकरणका उपाध्यक्ष प्रवीर पाण्डेले गरेका थिए ।
प्रधानमन्त्री केपी ओलीको गत चैत २३ गते भएको भारत भ्रमणपछि जारी संयुक्त विज्ञप्तिको बुँदा नं. ९ मा ‘भारत र नेपालबीच इनल्यान्ड वाटरवेजको माध्यमबाट नयाँ कनेक्टिभिटी’ गरिने उल्लेख छ । सोही सम्झौतालाई कार्यान्वयन गर्न दुवै देशका प्राविधिक अधिकारीबीच छलफल भएको हो ।
विज्ञप्तिअनुसार छलफलका क्रममा नेपाली टोलीले नेपालमा जल यातायातको सम्भावना र हालसम्मका गतिविधि सम्बन्धमा प्रस्तुति गरेको थियो । यसैगरी भारतीय पक्षले विशेष गरी जलमार्ग विकास परिमार्जन अन्तर्गत कालकाताबाट वाराणसीसम्मको एक हजार चार सय किलोमिटर लम्बाइमा भइरहेको जल यातायातसम्बन्धी गतिविधि तथा गण्डक (नेपालको नारायणी) र कोसीमा यसको सम्भावना तथा गतिविधिबारे प्रस्तुति गरेको थियो ।
‘नेपालमा जल यातायात नारायणी र कोसीमार्पmत गंगा नदीसँग जोडिंदै भारतको हल्दिया हुँदै बंगलादेश र अन्य मुलुकहरूसँग जोडिने प्रचुर सम्भावना रहेको र यसबाट उल्लेखनीय आर्थिक विकासमा सहयोग पुग्ने कुरामा दुवै पक्ष सहमत देखिए,’ विज्ञप्तिमा छ ।
वार्तामा कोसी, गण्डकी तथा कर्णाली नदीमा जल यातायातको प्राविधिक–आर्थिक सम्भावना तथा यसका विभिन्न आयामबारे विस्तृत छलफल भएको आयोगका सहसचिव एवं टोली नेता बेल्बासेले बताए । उनका अनुसार वार्ताका क्रममा नेपाल र भारतबीच जलयातायात विकासको विधि र मोडालिटीबारे पनि छलफल भएको थियो । नेपाललाई आवश्यक पर्ने जनशक्तिलाई तालिम तथा संस्थागत क्षमता अभिवृद्धि गर्न आवश्यक सहयोग दिन सकिनेमा भारत सहमत भएको बेल्बासेले जानकारी दिए ।
प्रारम्भिक अध्ययनले भारतको हल्दिया बन्दरगाहलाई जलमार्गबाट जोड्ने उपयुक्त नदी गण्डक र कोसी देखिएको छ । यी दुवै नदीमा अति सुख्खायाममा समेत डेढदेखि दुई मिटरको गहिराइ उपलब्ध छ । पाँच सय टनको सामान ओसार्ने बार्ज यो नदीसम्म ल्याउन डेढ मिटर गहिराइ पर्याप्त रहेको बेल्बासेले बताए । हल्दियादेखि कोसीको नेपाल भारत सीमा क्षेत्रसम्म सात सय २५ किलोमिटर दूरी छ भने गण्डकसम्म आठ सय ५० किलोमिटर पर्छ ।
हल्दिया बन्दरगाह कलकत्तादेखि ४५ किलोमिटर टाढा छ । यो जलमार्ग योजना सफल भएमा नेपालको सामुद्रिक बन्दरगाहसम्म सजिलो पहुँच पुग्ने अपेक्षा दुवै देशको छ । सामान्यतया ५ मिटर गहिराइ भएको नदीमा एक हजार पाँच सय टनको सामान बोक्ने बार्ज चल्न सक्छ । दुवै देशमा जलमार्ग सञ्चालन गर्न प्राविधिक रूपले सम्भव भएमा नेपालले गर्ने आयात–निर्यात लागत (ढुवानी खर्च) स्थलमार्गभन्दा २० देखि २५ प्रतिशतले सस्तो पर्न आउँछ ।