लोकगायक बुद्धिकृष्णको ६४ औं जन्मदिन मनाइयो

लोकगायक बुद्धिकृष्णको ६४ औं जन्मदिन मनाइयो

भक्तपुर

घाँस काट्ने खुर्केर
आयो जोवन हुर्केर

कसलाई दिऊ
यो जोवन
सदाबहार यस नेपाली लोकगीतका गायक बुद्धिकृष्ण लामिछाने ६४ वर्षमा टेकेका छन् । २०१२ साल साउन १ गते भक्तपुरको साविक वागेश्वरी गाविस वडा ३ मा उनको जन्म भएको हो । 

हाल मधुमेहलगायतका रोगले थलिएका प्रसिद्ध लोकगायक लामिछानेको घरमै गएर मंगलबार भक्तपुरका गायक, गीतकार, संगीतकारलगायतले ६४ औं जन्म दिन मनाएका छन् ।

भक्तपुर सांगीतिक समाजको अगुवाइमा गएका गायक, गीतकार, संगीतकारलगायतले केक काटेर उनको जन्म दिन मनाएका हुन् । उक्त अवसरमा चाँगुनारायण नपाका प्रमुख सोमप्रसाद मिश्रले वरिष्ठ लोकगायक लामिछानेलाई फूलको माला, ढाकाको खादा र कालो भादगाउँले टोपी लगाई दिएर जन्म दिनको शुभकामना दिएका थिए । त्यस्तै लामिछानेलाई उपस्थित सबैले जन्मदिनको शुभकामना दिँदै केक खुवाएका थिए ।

बुबा टीकाराम र आमा ब्रह्मकुमारी लामिछानेका छोरा बुद्धिकृष्ण अहिले मधुमेहका कारण आँखा देख्दैनन् । उनकी जहान दुर्गादेवीका अनुसार मधुमेहको उपचार ढिलो हुँदा आँखामा असर गरेको थियो । एकपटक दुर्घटना नचलेका उनका गोडा अहिले पनि टेक्न हुँदैनन् । त्यसैले उनी आफू घर भित्रबाहिर गर्न नसक्ने भएको दुई तीन वर्ष भएको उनी बताउँछिन् ।

पाँच छोरी र दुई छोराका पिता बुद्धिकृष्णको घर २०७२ साल बैशाखमा आएको भूकम्पले क्षतिग्रस्त बनायो । तर भूकम्प गएको तीन वर्ष पूरा हुँदा पनि उनको बाँस जस्ताको टहरामा भइरहेको छ ।

गएको जेठ १९ गतेमात्रै भक्तपुर सांगीतिक समाजले वरिष्ठ गायक लामिछानेलाई नगद दस हजारसहित सम्मान गरेको थियो । उक्त सम्मान कार्यक्रममै उनको नजिकिँदै गएको जन्मदिनसमेत मनाउने घोषणा गरेअनुसार घरसम्मै पुगेर जन्मदिन मनाएको समाजका अध्यक्ष प्रवीण शाहीले जानकारी दिए ।

उनले अग्रज गायकको सम्मान गर्ने समाजको नीति रहेको बताउँदै प्रत्येक वर्ष वरिष्ठ गायक लामिछानेको जन्मदिन मनाइने सुनाए । चाँगुनारायण नपाका प्रमुख मिश्रले गायक लामिछानेको सम्मानस्वरुप उनको घर पुग्ने सडकको नाउँ नै बुद्धिकृष्ण लामिछाने मार्ग राख्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

उनले गायक लामिछानेको परिवारलाई आवश्यकताअनुसार नपाले आर्थिक सहयोग गर्ने वचनसमेत दिए । गायक लामिछानेलाई जस्ताको टहराबाट बाहिर ल्याई जन्मदिनको शुभकामनासँगै केक खुवाउँदा उनकी जहान दुर्गादेवीको आँखा थामिएनन् । उनले एक हातले आँसु पुछ्दै श्रीमानलाई केक खुवाएकी थिइन् । रेडियो नेपालका पूर्वकर्मचारीसमेत रहेका गायक लामिछानेका एकसयभन्दा बढी गीत रेकर्ड भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.