सुरु भयो बक्स अफिस, होला त चलचित्रको फलिफाप ?
काठमाडौं: लामो समयको तयारी र प्रतिक्षापछि नेपाली चलचित्र क्षेत्रमा बक्स अफिस ९सेन्ट्रल सिनेमा म्यानेजमेन्ट सिस्टम लागू भएको छ । पहिलो चरणमा साउन १ देखि राजधानीका सिङ्गल र मल्टिप्लेक्स गरी २० वटा चलचित्र हलमा बक्स अफिस लागू भएको हो । मंगलबार बिहानको शोबाटै यो प्रणालीमार्फत कारोबार भइरहेको चलचित्र विकास बोर्डले जनाएको छ ।
बक्स अफिस प्रणालीलाई प्रभावकारी कार्यान्वयन गर्न बोर्डले प्राविधिक एवम् कर्मचारी सम्मिलित एक टोलीलाई आजैदेखि विभिन्न हलमा अनुगमन तथा सहजीकरण गर्न परिचालन गरेको छ ।
ब्रेन डिजिटले तयार गरेको बक्स अफिस प्रणालीको सफ्टवेयर यसअघि परीक्षण भइसकेको छ । परीक्षणका क्रममा देखिएका कम्जोरी सच्च्याइएकाले प्राविधिकरुपमा कुनै समस्या नरहेको ब्रेन डिजिटका मनिष मानन्धरले जानकारी दिएका छन् ।
उपत्यकापछि दोस्रो चरणमा देशका अन्य हलहरुमा बक्स अफिस प्रणाली लागू गर्ने योजना रहेको छ । चलचित्र बिकास बोर्डका सदस्य एवम् बक्स अफिस कार्यान्वयन कार्यदलका संयोजक नरेन्द्र महर्जनका अनुसार उपत्याकापछि मोफसलमा यो प्रणाली लागू गर्ने तयारी गरिएको छ ।