राजेश अघिअघि प्रियंका पछिपछि
![राजेश अघिअघि प्रियंका पछिपछि](https://annapurnapost.prixacdn.net/media/albums/Rajesh_Priyanka_20180718114156_JxH4uqQ7qM.jpg)
काठमाडौं : केही साताअघि नायिका प्रियंका कार्की लगभग सम्पर्क बाहिर रहिन्। कतिपय नजिकका साथीसँग पनि उनी सम्पर्कमा थिइनन्। केही समयपछि उनी सुखद समाचारसहित निस्किन्। त्यो थियो प्रेमी आयुशमान देशराज जोशीसँगको ‘इङगेजमेन्ट’। त्यसपछि सञ्चारमाध्यममा फेरि उनी ‘हेड लाइन’ बनिन्।
एकपछि अर्को गर्दै सफल चलचित्र दिएकी प्रियंका अहिले दर्शकको पहिलो रोजाइकी नायिका हुन्। रेखा थापाको दबदबा चिरेर नम्बर वान नायिकामा दरिएकी उनले राजेश हमालको पथ पछ्याइरहेकी छन्। कुनै बेला यस्तो समय थियो, पर्दामा राजेश हमालले दौराको तुना बान्दा पनि हलभित्र हुटिङ हुन्थ्यो। राजेश देखिँदा दर्शक ताली र सुसेला हान्दै रमाउँथे। पर्दामा हमालको यो क्रेज लामो समयसम्म कायम रहयो।
लगभग अढाइ दशकअघि चलचित्र ‘युगदेखी युगसम्म’बाट अभिनय प्रारम्भ गरेका हमालले आफ्नो स्वभाव कहिल्यै परिवर्तन गरेनन्। त्यो उनको स्वभाव हो, फर्केर कामको मूल्यांकन नगर्ने अनि स्क्रिप्ट माथि खासै ध्यान नदिने। यत्तिसम्म कि आफूले अभिनय गरेको चलचित्र रिलिज भयो वा भएन याद नगर्ने र हेर्न पनि नजाने। अभिनयको क्लाइमेक्समा रहेका बेला उनलाई चलचित्र हेर्ने फुसर्द पनि हुँदैनथ्यो। तर फुर्सदको बेला पनि आफू अभिनित चलचित्र हेर्न हल जाने, प्रचार अभियानमा जुट्ने उनको स्वाभाव थिएन र छैन।
चलचित्र समीक्षकले भन्ने गर्थे, ‘राजेश हमालले चाहेको भए नेपाली चलचित्रको धार परिवर्तन गर्न सक्थे।’ तर उनी त्यतातिर कहिल्यै लागेनन्। केवल भ्याएसम्म काममात्रै गरी रहे। एकै दिन धेरै सिफ्टमा काम गर्थे। आफ्नो समयमा उनी ‘मनि मेकिङ मेसिन’जस्तै थिए। जसले जे भने पनि आफ्नो लय उनले कहिल्यै छाडेनन्।
राजेशले चाहेको भए नेपाली चलचित्रको धार परिर्वतन हुन्थ्यो वा हुँदैनथ्यो त्यो केवल समीक्षक र चलचित्रकर्मीको भनाइमै सिमित रहयो। तर आफ्नो समयमा उनले जे गरे ठिक गरे। अहिले धेरैले यसै भन्छन्। अभिनयबाट उनले जति नाम र दाम कमाए अब अभिनय नगरे पनि पुग्छ। त्यसमा उनी सन्तुष्ट र खुसी पनि देखिन्छन्।
नायिका प्रियंका कार्की पनि केही वर्ष यता राजेशकै लयमा छन्। भ्याएजति काम गर्छिन्। चलचित्रमा मुख्य भुमिका नै हुनुपर्छ भन्ने मान्यता राख्दिनन्। सहायक भूमिकामै भए पनि अभिनय गर्छिन्। आइटम डान्सदेखि म्युजिक भिडियो समेत छाड्दिनन् तर कसेर पारिश्रमिक लिन्छिन्। उनको बढी ध्यान सायद बैंक ब्यालेन्समा हुनुपर्छ। आफ्नो समयमा राजेश हमालको लय यस्तै देखिन्थ्यो।
प्रियंकालाई थाहा छ अभिनेत्री भएर टिक्न जति सजिलो छ ‘हिरोइन’ भएर टिक्न त्यतिकै गाह्रो छ। सायद हिरोइन् छँदै उनी बैंक ब्यालेन्स भरपुर बनाउन चाहन्छिन्। यस्तो अवस्था र अवसर सबै कलाकारले नपाउन सक्छन्। यो आफैंमा सफलताको एउटा उत्कर्ष हो। उनी त्यसैमा रमाइरहेकी छन्।
प्रियंकाअघि नम्बर वानको ट्याग पाएका धेरै नायिका अहिले अस्तित्व रक्षाका लागि संघर्ष गर्दै छन्। यस्तो बेला न काम हुन्छ न त दाम नै। सायद यो कुरा उनलाई राम्ररी थाहा छ। बढ्दो उमेर, वैवाहिक जीवन प्रवेशको तयारी, आफूलाई पछ्याइरहेका प्रभावशाली नयाँ नायिकाको बढ्दो क्रेज अनि छिटो छिटो परिवर्तन भइरहेको चलचित्रको शैलीका कारण उनी परिस्थितीलाई उछिन्न खोजीरहेकी छन्।
आफ्नो समयमा राजेश हमाल वास्तवमै ‘ट्रेन्ड सेटर’ थिए। ठूलो पर्दामा चलेका नायक नायिका प्रायः म्युजिक भिडियोमा मोडलिङ गर्न हिच्किचाउँथे। जब उनले म्युजिक भिडियोमा मोडलिङ गरे त्यसयता अधिकांश नायकनायिका म्युजिक भिडियोमा देखिए।
लामो कपाल राजेशको ब्राण्ड नै बनेको थियो। उनको समयमा युवामा लामो कपाल पाल्ने लहर चल्यो। आफ्नो पिए (सहयोगी अर्थात म्यानेजर) राख्न सुरु गर्ने अभिनेता उनै हुन्। त्यो लहर उनको समकालिन हुँदै अहिले पल शाहसम्म आइपुगेको छ। यस्ता अनगिन्ती उदाहरण छन् जसमा राजेशलाई पछ्याइएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)