धनीलाई थाहै नदिई जग्गा खरिदबिक्री गर्ने दुई पक्राउ
राजविराज : जग्गा धनीलाई थाहै नदिई जग्गा किनबेच गरेको आरोपमा प्रहरीले कर्मचारीसहित एक महिलालाई पक्राउ गरेको छ।
सप्तरी प्रहरीले राजविराज नगरपालिका ५ निवासी जिल्ला मालपोत कार्यालयका नायव सुब्बा सीताराम चौधरी र राजविराज नगरपालिका ७ की देवरानी दासलाई पक्राउ गरेको हो।
राजविराज नगरपालिका ६ घर भई अमेरिकामा बस्दै आएकी ६९ वर्षीया उषा अर्यालको नाममा रहेको तीन कित्ताको जग्गाको किर्ते कागज बनाई साहले बिक्री गरेका थिए। साहलाई प्रहरीले असार १८ गते नै पक्राउ गरेको छ। साहले किर्ते गरी अर्यालको नामबाट राजीनामा पास गरेर २०७४ मंसिर १३ गते आफ्नो नाममा रजिष्ट्रेशन गरेको एक महिनाभित्र दुई महिलालाई जग्गा बिक्री गरेका थिए।
लामो समय अमेरिका बसेर फर्किएकी जग्गाधनी अर्यालले मालपोत कार्यालय जाँदा आफ्नो जग्गा थाहै नपाई अर्कैको नाममा बिक्री भइसकेको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।