अमेरिकामा नेपाली म्युजिक फेस्टिभल
काठमाडौं : पोखरामा निर्माणाधीन कराँते प्रशिक्षण भवनको सहयोगार्थ अमेरिकामा ‘नेपाली म्युजिक फेस्टिभल २०१८’ आयोजना गरिएको छ।
सन् २००६ मा स्थापित गैर नाफामुलक संस्था हिमालयन फाउन्डेसन कर्पले सान फ्रान्सिस्कोमा आयोजना गरेको महोत्सवमा अन्जु पन्त र राजु लामाका साथमा द एक्स ब्याण्डले आआफ्ना चर्चित गीत प्रस्तुत गरेका थिए।
फाउन्डेसनद्वारा जारी विज्ञप्तिमा जनाइए अनुसार महोत्सवमा सात सयभन्दा बढी नेपाली उपस्थित थिए। कार्यक्रमबाट ६९ लाख रुपैयाँ संकलन भएको फाउन्डेशनका संस्थापक अध्यक्ष यज्ञलाल श्रेष्ठले जानकारी दिए।
कार्यक्रमको खर्च कटाएर बाँकी सबै रकम कराते प्रशिक्षण भवन निर्माणका साथै विभिन्न गाउँका स्कुल पुनर्निर्माण तथा लाइब्रेरी स्थापनाका लागि सहयोग गरिने भएको छ।
महोत्सवमा फाउन्डेसनले नेपालमा गरेका विभिन्न काम तथा भावी योजना बारे निर्माण गरेको वृत्तचित्र पनि देखाइएको थियो। सो अवसरमा गार्मेट इन्नोभेसनका प्रमुख मार्क नेमिकले ११ हजार अमेरिकी डलर सहयोग प्रदान गरेका थिए।
त्यसैगरी, केटिएम ग्रुप एलएलसी र सान फ्रान्सिस्को होलसेल कि प्रमुख एवं हिमालयन फाउन्डेसनकी प्रमुख टीण्डु शेर्पाले संयुक्त रुपमा ११ हजार डलर रामबाबु पाण्डेले पनि ५ हजार डलर सहयोग गरेको आयोजक संस्थाले जनाएको छ।