तीन चलचित्रको भिडन्त : भैरे, पण्डित बाजेको लौरी र चक्करमध्ये कसले मार्ला बाजी ?

तीन चलचित्रको भिडन्त : भैरे, पण्डित बाजेको लौरी र चक्करमध्ये कसले मार्ला बाजी ?

काठमाडौं : असार महिनाभर विश्वकप फुटबलका कारण नेपाली सिनेमाको बजार नराम्रोसँग प्रभावित भयो । त्यस क्रममा रिलिज भएका कुनै पनि चलचित्रले सन्तोषजनक व्यापार गर्न सकेनन् । महिनाको अन्तिम शुक्रबार एकैसाथ रिलिज भएका चार चलचित्र जुध्दा सबैलाई घाटा भएको छ ।

मिलन चाम्स निर्देशित बबी, शोभित बस्नेत निर्देशित बाबु कान्छा, राजबहादुर साने निर्देशित वीरांगना र कल्याण अधिकारी निर्देशित यो पागल मन प्रदर्शनमा आएका थिए । एक महिनाको अन्तरालमा रिलिज भएका चलचित्रहरूले आशातीत व्यापार गर्न नसक्दा सिनेमामा लगानी भएको आठ करोड रुपैयाँभन्दा बढी लगानी डुबेको छ ।

फ्राइडे रिलिजअन्तर्गत यो शुक्रबार पनि एकसाथ तीन चलचित्र मैदानमा उत्रन लागेका छन् । सूर्य बोहोराको निर्देशनमा बनेको भैरे, दीपक ओलीको निर्देशनमा बनेको पण्डित बाजेको लौरी र अनुष्क रौनियारको निर्देशन रहेको चक्कर प्रदर्शनमा आउन लागेका हुन् । तीनवटा चलचित्र जुध्दा सबैलाई घाटा हुने निश्चित छ ।

अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको ‘भैरे’मा उनको जोडी अभिनेत्री सुरक्षा पन्तसँग बाँधिएको छ । यस वर्ष रिलिज भएको राईको यो पहिलो फिल्म हो । निर्देशक एभरेस्ट सूर्य बोहराले ‘भैरे’मा फरक किसिमको प्रयास गर्ने कोसिस गरिएको बताए । बिहीबार राजधानीमा पत्रकार भेटघाट गर्देै उनले यो नेपाली माटोकै मौलिक र मनोरञ्जक चलचित्र भएको बताए । उनले भने, ‘कोही यो अग्र्यानिक भन्छन् । कोही कमर्सियल फिल्म भन्छन् । तर, म भने यो शुद्ध नेपाली कथानक फिल्म हो भन्छु । यसले मनोरञ्जन पनि दिन्छ र देशको समस्या पनि बोल्छ ।’

बालकलाकार अनुभव रेग्मीले ‘भैरे’मा आफूहरूले धेरै मेहनत गरेको बताए । उनले छायांकनका बेला टुकुचे पुग्दा आफू बिरामी भएको जानकारी दिए । अभिनेत्री वर्षा सिवाकोटीले फिल्म राम्रो बनेका कारण दर्शकलाई मन पर्नेमा विश्वस्त रहेको बताइन् । सुरक्षा पन्त पनि यो फिल्मले आफूलाई उचाइ दिने बताउँछिन् । कलाकार बुद्धि तामाङले युवाले चाहेको खण्डमा आफ्नै देशमा बसेर पनि केही गर्न सकिन्छ भन्ने सन्देश फिल्मले दिन खोजेको बताए । अभिनेता राईले खिच्नका लागि ठाउँ र मौसमका कारणले गाह्रो भए पनि फिल्ममा त्यसको सही सदुपयोग भएको बताए ।

प्रेमप्रसाद पौडेल र देवीमाया अधिकारी निर्माता रहेको फिल्ममा करुणाकर घिमिरे, सबिता गुरुङ, यम बराल र कुमार बस्नेत सहनिर्माता छन् । पुरुषोत्तम प्रधानले ‘भैरे’को सम्पूर्ण दृश्य खिचेका छन् । नेपालय सिनेमा इन्टरनेसनलद्वारा निर्मित तथा लेखबहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’को सम्पादन बनिष शाहले गरेका छन् ।

सूर्य थोक्करको द्वन्द्व रहेको यस फिल्ममा विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सूरवीर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारको पनि अभिनय छ । चलचित्रमा यम बराल र वसन्त सापकोटाको संगीत तथा स्वर रहेको छ ।

यसैगरी शुक्रबार नै अर्को चलचित्र पण्डित बाजेको लौरी प्रदर्शनमा आउँदैछ । पण्डित बाजेको लौरीमा सन्ध्या केसी लिड रोलमा छिन् । यसमा उनले बादी महिलाको भूमिका निर्वाह गरेकी छन् । फिल्मको सेन्ट्रल क्यारेक्टर नै उनी हुन् । यो फिल्मलाई दीपक ओलीले निर्देशन गरेका हुन् । तल्लो जात भनेर हेपिने बदिनी र समाजमा ठूलो जात भनिने पण्डितबीचको सम्बन्धलाई यो फिल्ममा देखाउन खोजिएको छ । अधृत फिल्मस् प्रालिको ब्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयुक्त रूपमा निर्माण गरेको फिल्ममा भोलाराज सापकोटा, प्रवीण खतिवडा, विजय बराल, प्रमोद अग्रहरि, मरिश्का पोखरेल, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय छ ।

यसैगरी आजै फिल्म ‘चक्कर’ पनि रिलिज हुँदैछ । चलचित्रको ‘बिहानीको किरणसँगै’ बोलको गीत चर्चामा छ । अनुष्क रौनियारले निर्देशन गरेको फिल्मलाई अनुष्कले नै सम्पादन गरेका छन् । नेसनल मिडिया प्रोडक्सन र केटीएम आर्टस्को ब्यानरमा बनेको फिल्म ‘चक्कर’लाई रविन आचार्यले निर्माण तथा छायांकन गरेका छन् । फिल्ममा सेक्स र क्राइमको मि श्रण छ । अभिनेता अर्पण थापाले आफ्नो अनुहारमा ब्यान्डेज लगाएका छन् भने अभिनेत्री ऋचा शर्मा प्रहरी अफिसर्सको भूमिकामा देखिएकी छन् ।

कलाकारद्वय एभोनराज उप्रेती र अर्पणबीच द्वन्द्व छ । यस्तै अभिनेत्रीद्वय सिर्जना सुब्बा र स्मृति पोखरेलको इन्टिमेट दृश्यसमेत जोडिएको छ, जसले फिल्मको कथामाथि केही सस्पेन्स पनि छोड्छ । फिल्ममा संगीत संगम पन्त र पुष्प पलाञ्चोकेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.