कफीले चिनिदै मुसिकोट

कफीले चिनिदै मुसिकोट

गुल्मी : जिल्लाको मुसीकोट नगरपालिका कफी हव बन्दै गएको छ । कफीखेती हुने जिल्ला भनेर चिनिने गुल्मीमा अझ बढी खेती मुसीकोट क्षेत्रमा हुने गरेको छ । कफी विज्ञका अनुसार नेपालमै गुल्मी धेरै कफीखेती हुने जिल्लामा पर्छ । 

    मुसिकोट–५ को आँपचौरमा झण्डै एकसय वर्ष अगाडी स्थानीय हिरा गिरीले बर्माबाट लिएर कफीको विरुवा रोपेका थिए । सोही कफीलाई २०३८ सालमा तत्कालिन राजा विरेन्द्रले अवलोकन गरेको इतिहास बुढापाकाहरु सुनाउँछन् । त्यसपश्चात सोही ठाउँलाई व्यवसायिक रुपमा कफी खेती गर्न कृषकलाई प्रोत्साहन गरियो । कफीको उत्पादन राम्रो हुँदै गएपछि जिल्लाका अन्य स्थानमा पनि किसानहरुले कफीखेती विस्तार गरेका छन् । 

कफीको उद्गमस्थल रहेको मुसिकोट नगरपालिकालाई कफी हबको रुपमा विकास गर्न लागिएको नगर प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए । ‘मुसिकोट कफीको उद्गम स्थल हो,’उनले भने,‘नगरलाई कफी हबको रुपमा अगाडी बढाउन लागेका छौं ।’

 सापकोटाले कफीलाई कृषकको प्रमुख खेतीका रुपमा विकास गरी उत्पादन बढाउने खालका कार्यक्रम तय गरेको समेत बताए । उनका अनुसार हाल नगरभित्रका झण्डै पाँच सय कृषकले कफी उत्पादन गरिरहेको भएपनि माग अनुसार पर्याप्त नभएको समेत जानकारी दिए ।

नगरपालिकाले कफी खेतीमा कृषकको आकर्षण बढाउन एक सय वटा कफीका बिरुवा रोपेर कफी उत्पादन गर्ने कृषकलाई दश हजार रकम अनुदान दिइने समेत जनाएको छ । प्रमुख सापकोटाका अनुसार आगामी वर्षमात्रै पालिकाले ५० हजार कफीका बिरुवा उत्पादन गर्ने लक्ष्य लिएको छ । 

पछिल्लो समय सिँचाई लगायत अन्य समस्याले कफी उत्पादनमा खासै चासो नदेखाएका कृषकलाई नगरपालिकाले फेरी सक्रिय बनाउन लागेको समेत सापकोटाको भनाई छ । बजारमा कफीको माग बढ्दै गएको र कृषकको आयमा वुद्धी गर्ने उद्देश्यले कफी खेतीलाई प्राथमिकतामा राखिएको नगर उपप्रमुख कमला शर्माले जानकारी दिइन् । उनले मुसिकोटका सबै वडामा कफीका बिरुवा उत्पादन र रोपाई गर्ने कार्यलाई सक्रिय रुपमा अगाडी बढाउने समेत बताइन् ।
कफी उत्पादनका लागि मुसिकोट नगरपालिका उत्तम रहेको बताउँदै प्रमुख सापकोटाले कृषकको सामाजिक जीवनशैलीमा परिवर्तन हुने देखेरै नगरलाई कफी हब बनाउने कार्यक्रम बनाएको जानकारी दिए । उनले उत्पादन भएको कफी प्रशोधन गरी जापान, कोरिया लगायत अन्य मुलकमा समेत पठाउन सकिने बताए । कफी खेतीका लागि पालिकाले आर्थिक वर्ष ०७५÷०७६ मा २५ लाख बजेट विनियोजन गरेको छ ।

मुसिकोट नगरपालिका–५ आपचौरमा देशकै एकमात्र कफी विकास केन्द्र रहेको छ । जिल्लाको खैरेनीमा एक कफी प्रशोधन केन्द्र र रुरु गाउँपालिकाको भण्डारी डाँडामा कफी अनुसन्धान केन्द्र स्थापना गरी कार्यक्रम अगाडी बढिरहेको छ । कफी उत्पादनलाई मदाने, मालिका, धुर्कोट, ईस्मा लगायत छत्रकोट गाउँपालिकाले समेत कार्यक्रम अगाडी बढाएका छन् । नेपाल सरकारले गुल्मी लगायत छ जिल्लालाई कफी जोनको रुपमा घोषणा गरेको छ ।
    तर, पछिल्लो समय जिल्लामा सोचे अनुसारको कफी उत्पादन हुन सकेको छैन । गुल्मीमा उत्पादन हुने कफीको माग विदेशमा बढ्दै गएपनि उत्पादन र प्रशोधन गरी प्रर्याप्त कफी विदेश पठाउन नसकिरहेको अवस्थामा मुसिकोट नगरपालिकाले कफी हव बनाउने लक्ष्य लिएको हो । 

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.