साैखिन युवाको भरमा मोटोरेस

साैखिन युवाको भरमा मोटोरेस

काठमाडौं : किशोरावस्थामा साइकल कुदाउने रहर धेरैको हुन्छ। विवेश श्रेष्ठले १३ वर्षको उमेरमै मोटरसाइकलमा हात बसाइसकेका थिए।

‘खेलौना खेल्ने उमेरमै मोटरसाइकलमा हात बसिसकेको थियो’, उनी सम्झिन्छन्, ‘१३ वर्षको उमेरमै बुवाको यामाहा वाईबीएक्सबाट मोटरसाइकल चलाउन सिकेँ, कलेज पढ्दा मोटसाइकलमा साथीभाइसँग घुम्न जाँदा पनि रेस गरिन्थ्यो। युवा जोसमा सडकमा तीव्र गतिमा मोटरसाइकल कुदाउँदा बेग्लै मज्जा मिल्थ्यो।’

२९ वर्ष पुगिसेकेका उनी बाइक रेसबाट अझै थाकेका छैनन्। रेसिङको सोख पूरा गर्न ‘मोटोरेस’मा सहभागी हुने गरेको श्रेष्ठ बताउँछन्। चुनौतीपूर्ण र खतरनाक खेलप्रति लगाव भएकै कारण ‘मोटो रेसिङ’मा उनको ‘लत’ बसेको हो।

काठमाडौंकै प्रत्युस कुइँकेल पनि बाइक रेसका जबरजस्त सौखिन हुन्। उनी आफूलाई खेलाडी भन्न रुचाउँछन्। उनको प्रिय खेल हो, मोटरसाइकल रेसिङ (मोटो रेसिङ)।

‘टेलिभजनमा अन्तर्राष्ट्रिय खेलाडीको बाइक रेसिङ हेरेर हुर्किएँ। विदेशी खेलाडीले रेसिङ ट्र्याकमा तीव्र गतिमा बाइक कुदाएको हेर्दा निकै रोमाञ्चित हुन्थेँ’, उनले भने, ‘आफूलाई पनि त्यसरी ट्र्याकमा मोटरसाइकल चलाउन सक्छु जस्तो भान हुन थाल्यो। सन् २०१५ देखि नियमित रूपमा मोटरसाइकल रेसमा सहभागी हुँदै आएको छु।’

यी दुई त प्रतिनिधि पात्र मात्र हुन्। सहर बजारका युवाहरू मोटरसाइकलका पारखी नै हुन्छन्। युवाहरूको प्रिय सवारीको रूपमा मोटरसाइल भएको नेपाल अटोमोबाइल्स स्पोर्ट्स एसोसिएसनका उपाध्यक्ष सीताराम न्यौपाने बताउँछन्। ‘सहरमा हुर्के बढेका युवा महँगो मोटरसाइकल चढ्न रुचाउँछन्। एउटा युवा जमात विदेशमा भइरहेको मोटोजीपी, मोटोक्रस च्याम्पियनसिप, क्रसकन्ट्री रेस हेरेर हुर्किएका छन्’, न्यौपानेले भने, ‘त्यस्ता युवा मोटरसाइकल रेसिङका सौखिन देखिने गरेका छन्।’

मोटोस्पोर्ट्सको इतिहास

मोटरसाइकल रेसिङ विश्वको लोकप्रिय खेलमध्ये पर्छ। सन् १८९४ मा जर्मनी हिल्डब्रान्ड एन्ड वुल्फमुलर नामको पहिलो मोटरसाइकल निर्माण भएको थियो। मोटरसाइकल आविष्कार भएको केही वर्षपछि फ्रान्समा चार सय किलोमिटर मोटरसाइकल रेस भएको थियो। सन् १९०६ मा इङ्ल्यान्डमा टुरिस्ट ट्रफीको आयोजनापछि युरोपियन मुलुकमा मोटोस्पोर्ट्स विस्तार भएको देखिन्छ। दोस्रो विश्व युद्धपछि सन् १९४९ फेडेरेसन इन्टरनेसनल डीई मोटरसाइक्लिजम (एफआईएम) स्थापना भएसँगै सडक रेसिङको मोडालिटी तयार भएको थियो। हाल विश्व जीपी सिरिज एफआईएम मातहत सञ्चालन भइरहेको छ। सन् १९६० मा जापानको मोटरसाइकल उत्पादक कम्पनी होन्डाले एक सय २५ सीसी तथा दुई सय ५० सीसीको रेसमा सहभागी जनाएसँगै अन्य महादेशमा पनि मोटोरेस विस्तार भएको विश्वास गरिन्छ।

नेपालमा सुरुवात

नेपालमा मोटोस्पोर्ट्सको विकास गर्ने उद्देश्यले सन् २००८ मा नेपाल अटोमोबाइल स्पोट्स एसोसिएसन गठन भएको छ। नेपाल अटोमोबाइल स्पोर्ट्स एसोसिएसन राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भई मोटोस्पोर्ट्स विस्तार गर्ने काम गरिरहेको उपाध्यक्ष न्यौपाने बताउँछन्। सुरुवाती दिनमा नेपाल अटोमोबाइल स्पोटर््स एसोसिएसनले टाइम डिस्ट्यान्स स्पिडी (टीडीएस) ¥यालीहरू आयोजना गरी मोटरसाइकल चालकलाई सडकअनुसार कसरी सवारी चलाउने तालिम सुरु गरेको उनी बताउँछन्। ‘सन् २०१२ बाट भने आधिकारिक रूपमै मोटरसाइकल रेसको सुरुवात गरिरहेका छौं, रेसिङ गर्न हामीसँग ट्र्याक थिएन। पहिलो मोटरसाइकल रेस (रेसमान्डू) राखेपको कार्यालय सातदोबाटोमा आयोजना गरियो’, उनले भने, ‘त्यसपछि निरन्तर रूपमा रेसमान्डू, क्रसमान्डू, रेसनारी आयोजना गरिरहेका छौं। यी रेसले केही हदसम्म सौखिन युवाहरूको रेसिङप्रतिको मोह पूर्ति गरिरहेको छ।’

मोटरसाइकल रेसिङ लोकप्रिय खेलमध्ये पर्छ। सन् १८९४ मा हिल्डब्रान्ड एन्ड वुल्फमुलर नामक पहिलो मोटरसाइकल जर्मनीमा निर्माण भएको थियो। मोटरसाइकल आविष्कार भएको केही वर्षपछि फ्रान्समा चार सय किलोमिटर मोटरसाइकल रेस भएको थियो।

नेपालमा अयोजना हुने मोटरसाइकल रेसमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले विदेशमा पनि आफ्नो क्षमता प्रस्तुत गर्ने मौका पाइरहेका छन्। नेपाली खेलाडीहरूले जापान, मलेसिया, भारत, ताइवान, सिंगापुरलगायत देशमा आफ्नो प्रतिभा देखाउने मौका पाइरहेको उपाध्यक्ष न्यौपाने बताउँछन्। तर त्यस्ता प्रतियोगितामा सहभागी हुन खेलाडी आफैले खर्च व्यहोर्नु पर्ने अवस्था छ। ‘मोटोस्पोर्ट्समा सरकारी स्तरबाट सहयोग हुन सकेको छैन। विदेशमा सञ्चालन हुने प्रतियोगितामा आयोजकले लगानी गरेर खेलाडी पठाउने वातावरण विकसित भइसकेको छैन। विदेशी भूमिमा मोटरसाइकल रेसिङमा सहभागी हुन पाउने भएकाले खेलाडीहरू आफ्नै खर्चमा त्यसतर्फ जाने गरेका छन्’, उनले भने।

रेसिङ सोख

धेरैले व्यावसायिक हिसाबले भन्दा आफ्नो सोख पूरा गर्न मात्र रेसिङमा भाग लिने गरेका छन्। विदेशमा यसलाई व्यावसायिकरूपमा लिने गरे पनि नेपालमा त्यस्तो कल्चर विकास नभएको जानकारहरू बताउँछन्।

मोटरसाइकल रेसिङप्रतिको मोह पूरा गर्न खेलाडीहरु मोटोस्पोर्ट्समा सहभागी हुने गरेको उपाध्यक्ष न्यौपाने बताउँछन्। ‘अधिकांश खेलाडीहरू कलेज पढ्ने हुन्छन्। पढाइ अवधिभर विद्यार्थीलाई व्यवहारले च्यापेको हुँदैन’, उनले भने, ‘पढाइपछि भने पारिवारिक दायित्व थपिन्छ। कोही विदेश जान्छन् भने केही जागिरमै रुमलिन्छन्।’

खेलाडीहरू पनि सोख पूरा गर्न मोटोस्पोटर््स सहभागी हुने गरेको बताउँछन्। विवेश श्रेष्ठ भन्छन्, ‘मोटोरेसमा सहभागी हुन रेसिङ बाइक चाहिन्छ। साधारण मोटरसाइकलबाट रेस जित्न सकिँदैन। बाइक नै महँगो पर्ने भएकाले मर्मत खर्च पनि धेरै लाग्छ। मोटोस्पोर्ट्समा अन्य खेलजस्तो पैसा छैन। रेसिङको मोहले मोटोस्पोर्ट्समा सहभागी हुने गरेको छु।’ श्रेष्ठ आईटीका विद्यार्थी हुन्। रेसिङप्रतिको लगावले उनले आफ्नो गन्तव्य नै परिवर्तन गरेका छन्। रेसिङमा लाग्न सहज हुने भएकाले क्रसफायर मोटरसाइकल सोरुममा काम गर्न लागेको उनी बताउँछन्।

रेसिङप्रति युवाको आकर्षण बढेअनुरूप मोटोस्पोटर््स क्षेत्र विस्तार हुन नसकेको काभ्रेकी दीक्षा श्रेष्ठ बताउँछिन्। ‘रेसिङ गर्न राम्रो लाग्ने भएकाले मोटोस्पोटर््समा सहभागी भइरहेका छौं। यो त हाम्रो रेसिङको भोक मेट्ने बाटो मात्र भइरहेको छ’, श्रेष्ठले भनिन्, ‘यसमा लागेर अहिले नै भविष्य सुनिश्चित हुने अवस्था सिर्जना हुन सकेको छैन। परिवारको साथ रहेसम्म मोटोस्पोर्ट्समा सहभागी भइरहनेछु।’

उपाध्यक्ष न्यौपाने पनि युवाहरूको सोखकै भरमा नेपालमा मोटोस्पार्ट्स सञ्चालन भइरहेको स्वीकार्छन्। ‘मोटोस्पोर्ट्स फुटबल तथा क्रिकेटजस्तै खेल हो, ती खेलभन्दा मोटोस्पोर्ट्स महँगो हुन्छ। रेसिङ गर्ने बाइकहरू आफैमा महँगा हुन्छन्’, उनले भने, ‘रेसमा सहभागी हुनका लागि आवश्यक सेफ्टी गियर पनि महँगो पर्छ। आर्थिक अवस्था बलियो नभएकाले मोटोस्पोर्ट्समा सहभागी जनाउन कठिन छ।’

खेलेर कमाउने वातावरण छैन

खेलकुद पनि एउटा पेसा हो। खेलकुदमा लागेर कैयौंले नाम र दाम दुवै कमाएका छन्। तर नेपालमा खेलेर कमाउने वातावरण नभएको रेसरहरूको भनाइ छ।

मोटोस्पोर्ट्सका सर्वाधिक सफल खेलाडी हुन्, इटालीका भ्यालेन्टिनो रोसी। उनले मोटोस्पोर्ट्सबाटै एक सय २० मिलियन अमेरिकी डलर बराबरको सम्पत्ति आर्जन गरेका छन्। उनले एउटै प्रतियोगितबाट लाखौं डलर कमाइ गर्छन्। नेपालमा मोटोस्पोर्ट्समा विजयी हुने खेलाडीले ५० हजारदेखि १० हजार रुपैयाँसम्म प्राप्त गर्ने उपाध्यक्ष न्यौपाने बताउँछन्।

‘मोटोस्पोटर््स प्रायोजन गर्न व्यापारिक घरानाले त्यति रुची देखाउँदैनन्। प्रायोजकले सहयोग गर्ने राशी पनि कम छ’, उनले भने, ‘प्रायोजकको पैसाले प्रतियोगिता सञ्चालन गर्न मुस्किल हुने अवस्था छ। त्यसबाट खेलाडीले पाउने धनराशी पनि निकै कम छ।’

नेपालमा मोटोस्पोर्ट्समा सहभागी भएर कमाउने वातावरण अहिले विकसित भइनसकेको प्रत्युस कुइँकेल बताउँछन्। ‘खेलमा लागेर मात्र परिवार पाल्न सकिने अवस्था छैन। अन्य काम नगरी खेलकुदमा मात्र लागरे जीवन चल्दैन’, उनले भने, ‘बाइक रेसमा सहभागी हुनु प्यासन हो। प्यासनका कारण पैसा कमाइ नभए पनि रेसिङमा भाग लिइरहेको छु।’ आर्थिक अवस्था सुदृढ गर्न होन्डा कम्पनीमा काम गरेर रेसिङमा सहभागी हुँदै आएको उनी बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.