‘नेपाली भएर पनि नागरिकता पाइनँ’
ललितपुर : तीन वर्षदेखि २२ बर्से सागर सिलवालले सिफारिस बोकेर जिल्ला प्रशासन कार्यालय धाए पनि अहिलेसम्म नागरिकता बनेको छैन। नेपाली भएर पनि नागरिकता नपाउँदा उनी बिलखबन्दमा छन्। नागरिकता नभएर राज्यबाट पाउने सुविधामात्र नभएर कुनै पनि काम गर्नबाट वञ्चित भएका छन् उनी।
उनीसँग तत्कालीन ललितपुर नगरपालिका-४ निवासी तुलसा बस्नेतको कोखबाट २०५३ साउन ५ गते जन्मेको सिफारिस छ। तर नेपालमै जन्मेहुर्केका सागरलाई पालनपोषण तथा सुरक्षा गर्न नसक्ने अवस्था भएको भन्दै रामेछाप, कुभुकास्थली-७ का हर्कबहादुर सुनुवारको जिम्मा लगाइएको थियो। कागज बमोजिम सुनुवारले ती बालक अरुलाई धर्मपुत्र दिनसक्ने उल्लेख थियो। त्यसपछि साविक वडा ७ विशंखुनारायण (अहिले २) का सुरेन्द्र-सावित्री सिलवालका दम्पतीले सागरलाई धर्मपुत्रका रुपमा लिए। कागजमा बालक हुर्केपछि अंशियार हुने, सम्पत्तीमा हक दाबी गर्न सक्ने उल्लेख गरिएको थियो।
तर सिलवाल दम्पतीबाट उनी शारदा सिलवाल (हालकी पालनपोषण गर्ने अविवाहित आमा) को जिम्मामा पुगे। शारदाको भनाइअनुसार एक वर्ष पनि नपुगेका बालक भर्याङमुनि बाख्राको खोरमा सुताइएको दयनीय स्थितिमा देखेर पाल्न लगेकि थिइन्। ‘उनको बिजोग देख्न नसकेर आफूसँग ल्याएको हुँ’, उनले भनिन्। धेरै उपचार गर्नुपरेको बताउँदै उनले आफूले सागरको जिम्मा लिँदा कुनै कागज नगरेकाले अहिले समस्या बनेको उनको भनाइ छ।
फर्पिङस्थित त्रिभुवन आदर्श स्कुलबाट ०७२ सालमा एसएलसी पास गरेका किशोरावस्थाका उनी जहाँ जन्मे, हुर्के त्यहींको नागरिक बन्न चाहन्छन्। उनको समस्या यतिबेला गोदावरी नगरपालिकामा विचाराधीन छ भने न्यायिक समितिको संयोजक उपमेयर मुना अधिकारीले उनलाई नागरिकताको हक दिलाउने प्रयासमा लागेको बताइन्।
सोही वडाका अध्यक्ष देवेन्द्र बस्नेतकाअनुसार सागरका पहिलेका बाआमा (सुरेन्द्र-सावित्री) ले अंश नखोज्ने सहमति गरे उनको नागरिकता बनाइदिने बताएका छन्। ‘सागरले कुनै अंश मागेका हैनन्, तर नागरिकता लिइसकेपछि सम्पत्तिको हकदार बन्ने भएकाले समस्या बनेको हो’, बस्नेतले थपे, ‘जन्मदर्ता भएको छैन, कुनै कागज छैन, काम नगर्दा बच्चालाइ अप्ठेरो, काम गरौं भने कानुनले दिँदैन। नागरिकता पाए गरी खान्थ्यो उसले। धेरै अप्ठेरोमा परेको छु।’
अन्तरिम संविधान २०६३ अनुसार नागरिकता वितरण गर्न भनिए पनि नागरिकता ऐन नबन्दा व्यवहारमा लागू गर्न नसकिएको हो।
-महादेव पन्थ, प्रजिअ ललितपुर
यस्ता घटनामा बालकलाई कस्ले, कहाँ भेटेको हो केही प्रमाण हुनुपर्ने वा मुचुल्का उठाएको हुनुपर्ने नियम भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए। उनका अनुसार संविधानको धारा ११ को उपधारा ४ ले नेपालभित्र फेला पारेको, बाआमा पत्ता नलागेकोलाई वंशजका आधारमा नागरिकता दिने उल्लेख भए पनि यस्ता घटनामा केही निस्सा हुनैपर्ने बताए। ‘अन्तरिम संविधान २०६३ अनुसार नागरिकता वितरण गर्न भनिए पनि नागरिकता ऐन नबन्दा व्यवहारमा लागू गर्न नसकिएको हो’, उनले भने। नागरिकताका लागि कागजी प्रक्रिया पूरा हुनुपर्ने भन्दै उनले संघीय कानुन लागू भएपछि नागरिकता वितरण गर्न सकिने बताए।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत काजी प्याकुरेलले यस वर्ष ६ हजार ३ सय ३३ जनाले वंशजका आधारमा नागरिकता लिएको र ९ जनाले अंगीकृत नागरिकता लिएको जानकारी दिए। कार्यालयमा सागरका जस्तै केही जटिल मामिला आउने गरेको उनको भनाइ छ।
सागर भने नागरिकता नहुँदा आफू अनागरिक भएको महसुस भएको र कुनै पनि काम गर्न नपाएको गुनासो गरे। उनले भने, ‘अत्यधिक मानसिक तनाव भएको छ, कतै जाँदा पनि नागरिकता बनेन।’ उनले एसएलसीपछि आफ्नो पढाइमा पूर्णबिराम लगाइसकेका छन्। यतिबेला जाउलाखेलस्थित आफन्तको बेकरीमा काम गरिरहेका छन्।
ललितपुरमा नागरिकतासम्बन्धी यस्ता मामिला निकै बढेको महानगरपालिका-१८ की सदस्य रुक्मिणी केसी महर्जनले बताइन्। उनको वडामा पनि नागरिकताका लिन दुई जना महिलाले अहिले यस्तै दुःख बेहोरिरहेका छन्। दुवैका पति बेपत्ता छन्। सन्तानको बाबु पहिचान भए पनि आमाको नामबाट जिल्ला प्रशासनले नागरिकता नदिएको महर्जनको गुनासो छ। नेपालको संविधान २०७२ को भाग २ मा पनि कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भनिएको छ।