‘भाग्यले बाँचेकाहरु’का निर्देशक पाण्डेलाई अमेरिकीको सम्मान
काठमाडौँ : बहुचर्चित वृत्तचित्र फिल्म ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सभाईभर्स एण्ड मिराकल्स) का निर्देशक गणेश पाण्डेलाई अमेरिकामा सम्मान गरिएको छ।
अमेरिकी सरकारको न्यूजर्सी सिटी काउन्सिलले निर्देशक पाण्डेलाई सम्मान गरेको हो । नेपालको भूकम्पका विषयमा बहुचर्चित फिल्म बनाएर विश्वको ध्यान नेपालमा खिच्न सफल भएको पाण्डेले १७ वटा अवार्ड पाइसकेका छन् । विश्वकै ध्यान खिच्न सफल भएको भन्दै निर्देशक पाण्डेलाई सम्मान गरिएको न्यूजर्सी सिटी काउन्सिलका प्रेसिडेन्ट रोलान्डो लाभारोबाट हस्ताक्षरित सम्मानपत्रमा उल्लेख छ।
न्यूजर्सी सिटीकी सल्लाहकार डा. विष्णुमाया परियारले न्यूयोर्कमा आयोजित ‘भाग्यले बाँचेकाहरु’को प्रदर्शनीमा प्रेसिडेन्ट लाभारोका तर्फबाट निर्देशक पाण्डेलाई सम्मानपत्र हस्तान्तरण गरेकी थिइन् । न्यूजर्सी सिटीबाट यो विशेष सम्मान पाउने निर्देशक पाण्डे पहिलो नेपाली फिल्ममेकर भएको सल्लाहकार डा. परियारले बताइन्।
न्यूयोर्कमा युनाइटेड शेर्पा एशोशियशन र यूएसनेपाल अनलाइनले संयुक्त रुपमा ‘भाग्यले बाँचेकाहरु’को प्रदर्शन गरेका थिए । कार्यक्रममा युएसनेपाल डटकमका सम्पादक प्रदीप थापा मगर र युनाइटेड शेर्पा एशोशियशनका अध्यक्ष उर्गेन शेर्पाले अमेरिकामा रहेका नेपालीहरुलाई विश्वचर्चित ‘भाग्यले बाँचेकाहरु’ देखाउन पाउँदा आफूहरु निकै खुसी भएको बताए । बैशाख १२ गतेको भूकम्पलाई विदेशी भूमिमा बसेर पर्दामा हेर्दा अधिकांश दर्शकहरु भावुक बनेका थिए।
१७ वटा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल ‘भाग्यले बाँचेकाहरु’ले बेलायतको संसदमा समेत प्रदर्शन हुने पहिलो नेपाली डकुमेन्ट्रीको इतिहास राखेको छ । ३२ भन्दा बढी देशमा प्रदर्शन भइसकेको यो वृत्तचित्र १३ वटा अन्तर्राष्ट्रिय भाषामा अनुवाद भइसकेको छ।
साइन मिडिया प्रालिका तर्फबाट शारदा गैरेले निर्माण गरेको यस डकुमेन्ट्री छायाँकन विनोद विष्ट, सम्पादन कुमार शाह, संगीत जुगल डंगोल, लेखन सपना शाक्य र दीपक कोइरालाले गरेका छन् भने अमेरिकन चलचित्रकर्मी जोजाय हुपरले परामर्शदाता सम्पादकको रुपमा काम गरेका छन्।