कलाकारको तीज तयारी
हरेक वर्षझै कलाकारले यसपालिको तीजका लागि पनि विभिन्न तयारी गरेका छन् । कोही तीजका लागि नयाँ भाका निकाल्ने तयारी गरिरहेका छन् भने कोही आफ्ना गीतको म्युजिक भिडियोको छायांकनमा व्यस्त छन् । एकथरी कलाकार भने स्वदेश तथा विदेशमा आयोजना हुने तीजका कार्यक्रमका लागि गाउने र नाच्ने गीतको छनोटमा व्यस्त छन् ।
यस वर्ष अघिल्ला वर्षहरूमा भन्दा फरक शैलीका तीजका भाका पनि सुन्न पाइने भएको छ । यसै क्रममा गायक सुनिता दुलालले पातै राम्रो पीपलुको बोलको तीज गीत बजारमा ल्याउने भएकी छन् । उनले अर्को गीतको पनि भर्खरै मात्र रेकर्डिङ सकाएकी छन् ।
आमाको हातले पकाएको खान हो
तीज भनेकै चेली हो माइत जान हो ।
तीज पर्व संस्कृति हस्तान्तरणका लागि पनि जोगाउनुपर्छ भन्ने मान्यता राख्ने सुनिता हरेक वर्षझैं यस वर्ष पनि तीजको समयमा नेपाल बाहिर नै रहनेछिन् ।
लोकगायनमा गायक खुमन अधिकारीले यो वर्ष आफंैले गाएको १५ वटा गीत रिलिज गरिसकेका छन् । उनले यस वर्ष ३० वटा तीजगीतमा स्वर दिने जानकारी गराए ।
नाच्न र गाउन सानै उमेरदेखि रुचि राख्ने अधिकारी विगत १० वर्षदेखि तीजका गीत गाउँदै आएका छन् । तीजको गीतका अलावा उनले हरेक दिन दुईदेखि तीनवटा लोकदोहोरी गीतमा आफ्नो आवाज दिने गरेका छन् ।
गायिका मञ्जु पौडेल र सन्तु थापाको स्वरमा रहेको ‘छम्म छम्म’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा शिव हमालको शब्द तथा पवित्रा
सर्तुंगेमगरको संगीत, आशिष अविरलको एरेन्ज रहेको छ । तीजमा व्रत बसेकी श्रीमती तब खुसी हुन्छे जब उसको पति उसँगै नाच्न आउँछ । गीतको यही भावलाई भिडियोमा उतारिएको छ । नीता ढुंगाना र दीपेन्द्र घिमिरेको अभिनय रहेको उक्त गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् ।
माण्डवी त्रिपाठीले यस वर्ष पनि नयाँ तीज गीत निकाल्ने सोच बनाएकी छन् । पेन्ट लाउँ कि सारी बोलका गीत केही दिनअघि मात्र उनले रेकर्ड गराएकी छन् ।
हरियो चुरा र मेहन्दीले हात सजाएर साउनको महिनादेखि नै तीजको रमझम सुरु हुने बताउने दुलालले हालसम्म करिब डेढ दर्जन तीजका गीत बजारमा ल्याइसकेकी छन् । अरूको जस्तोसुकै गीतमा गाउनुभन्दा उनलाई आफ्नै गीतमा स्वर दिन मनपर्छ । उनी भन्छिन्, ‘तीजका गीतमा संख्याभन्दा पनि गुणस्तरमा ध्यान दिनुप¥यो । कसरी राम्रो गीत तयार हुन्छ भनेर म लागिरहन्छु ।’
दुलालकै विचारमा सहमत हँुदै अधिकारीले आफ्ना कुनै पनि गीतले संस्कृति नतोडेको तर्क दिए । तीज गीतमा अश्लीलता भित्रियो नि भन्ने प्रश्नमा अधिकारी भन्छन्, ‘समाजका विकृति, विसंगतिविरुद्ध गीतसंगीतबाट हानेको झटारोलाई अश्लील भन्न मिल्दैन ।’ उनले आफ्नो गीत पूरै सुनेमा विकृतिप्रतिको व्यंग्य मात्र भेटिने बताए ।
चर्चा कमाउने निहुँमा केही कलाकारले गीतसंगीतमा अश्लील शब्द र भिडियो बनाएको स्वीकार गदै त्रिपाठीले त्यस्ता गीत केही समयपछि आउट डेटेड हुने बताइन् । यही क्षेत्रमा टिक्न गायकगायिका तथा कलाकारले रातदिन मेहनत गर्नुपर्नेमा जोड दिँदै उनले आफूले चर्चा कमाउनकै लागि मरिहत्ते नगरेको बताइन् ।
तीजको समयमा २० लाखदेखि ३० लाखको हाराहारीमा आम्दानी गर्ने दुलाल यस वर्ष पनि तीजको समय नेपालबाहिर नै हुने जानकारी दिइन् । उनी साउनको अन्तिमबाट सांगीतिक कार्यक्रमका लागि विदेश भ्रमणमा हुनेछिन् । यसपटक उनी अस्टे««लिया, अमेरिका, आयरल्यान्ड र यूकेमा हुन लागेको तीज विशेष कार्यक्रममा विभिन्न गीत गाएर सहभागी हुन लागेको जानकारी दिइन् ।
दुलालले साउनको १९ गते बानेश्वरमा चेलीबेटी सम्मान तथा दर खाने कार्यक्रमको आयोजना गर्न लागेकी छन् । कार्यक्रममा ५० भन्दा बढी सेलिब्रेटी एकै ठाउँमा भेला भएर रमाइलो गर्नेछन् ।
निरन्तर मेहनत गरेमा जुनसुकै कामबाट पनि सफल हुन सकिन्छ भन्ने अधिकारीलाई गीत गाएरै उत्कृष्ट आम्दानी गर्न कुनै समस्या छैन । उनले प्रत्येक गीत गाएबापत २० हजारको हाराहारीमा पारि श्रमिक लिने गरेका छन् । मेला पर्व, विभिन्न सांस्कृतिक कार्यक्रममा नछुट्ने अधिकारी यस पटकको तीजको अवसरमा जापान, अस्टे«लिया, दुबई र दिल्ली जाने तयारीमा छन् । उनले तीजको अवसरमा करिब २० लाखसम्म आम्दानी हुने बताए ।
आफ्नो संस्कृति र माटो सुहाउँदो गीत गाउनुपर्छ भन्ने त्रिपाठी यस वर्षको तीजमा अस्टे«लिया र इजरायलको भ्रमणमा हुने छिन् । यसका साथै उनी होटेल सिद्धार्थले आयोजना गरेको एकहप्ते तीज विशेष कार्यक्रममा नेपालका विभिन्न जिल्लामा पनि गीत गाउन जाने छिन् ।
साउन महिनाको सुरुसँगै युट्युबमा विभिन्न प्रकारका नया तीजगीत सुन्न सकिन्छ । यसैक्रममा गायिका रमिला न्यौपानेले भुरुरु उडेको पुतली बोलको तीजगीत युट्युवमार्फत रिलिज गरेकी छन् । यस गीतमा न्यौपाने र खुमन अधिकारीको स्वर रहेका छ ।
गायिका कोमल ओलीले पनि हरेक वर्ष तीजको अवसरमा गीति एल्बम बजारमा ल्याउँदै आएकी छन् । गत वर्ष उनले म त नाच्दिनँ केरे बोलको गीत बजारमा ल्याएकी थिइन् । यस वर्ष उनको माननीयज्यू बोलको तीजगीत बजारमा आएको छ । यसमा स्वर कोमल ओली र पशुपति शर्माको रहेको छ ।
गत वर्ष पहेँलपुरे फूल राम्रो बोलको गीत बजारमा ल्याएका पशुपति शर्माले यस वर्ष लौरी हरायो, पोखराको फेवाताल बोलको गीत युट्युबाट रिलिज गरिसकेका छन् ।
प्रेम रसाइली र अमृता मगरको पातलो कम्मर भाँचन बोलको गीत पनि बजारमा आइसकेको छ । अञ्जली अधिकारी र इन्दिरा गैरेले कोरियन सारी बोलको गीत निकालेका छन् । त्यस्तै खुमन अधिकारीले मायाको रिसाउनी बानी, चम्किए तरुनी, हरियो चुरा, छोरीको करिम, शिरफूल खस्यो मेरो जस्ता तीजगीत बजारमा ल्याएका छन् । तीजको अवसरमा प्रायः सबै लोक गायकगायिकाले कुनै न कुनै सिर्जना ल्याउन गर्छन् ।
यो वर्षको हरितालिका तीज भदौ २७ गते परेको छ । तीजमा प्रायजसो दिदीबहिनी एकै ठाउँ भेला हुने, गीत गाउने, दर खाने र रमाइलो गर्ने गर्छन् । हरेक वर्ष गाइने गीतका विषयहरू भने फेरिरहेका छन् ।
कुनै बेला महिलाले श्रीमानको घरमा पाएका दुःखहरूलाई माइतमा गएर गीतको रूपमा प्रस्तुत गरिन्थ्यो । अहिलेका तीजका गीतमा पतिपत्नप्बीचका भैmझगडा तथा रमाइला किस्सा, विकृति विसंगतिप्रति व्यंग्य र कमेडीले प्राथमिकता पाएको देखिन्छ । लोकदोहोरी प्रतिष्ठानले असार १५ देखि तीजको गीत बजारमा ल्याउन पाउने नियम बनाएको भए पनि धेरैजसो कलाकारले जेठ, असारदेखि नै तीजका गीतको रेकर्डिङ, छायांकन गरेका छन् ।