नाडी जाँच्न पनि अस्वीकार
काठमाडौं : स्वास्थ्य नाजुक बन्दै गएपछि डा. गोविन्द केसीले हातको इशारामा कुरा गर्न थालेका छन्। हातले इशारा गरेपछि दुईजना सहयोगीका भरमा उनले पिसाब फेर्ने गरेका छन्। डा. केसीले नाडी मापन गर्न नमानेको र मुटुको चाल नाप्ने ईसीजी मनिटरसमेत जोड्न अस्वीकार गरेको त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सक डा.हरिप्रसाद पन्थीले बताए। पन्थीका अनुसार डा. केसीको रक्तचाप समेत मापन हुन सकेको छैन।
उनको दायाँ हातमा सलाइन लगाइएको छ। कृत्रिम अक्सिजन दिइएको छ। शौचालयमा गएर पिसाबसमेत फेर्न नसकेपछि शैड्ढयामै भाँडो लगेर पिसाब फेराउने गरिएको हो। उनलाई आवासीय चिकित्सक र एमबीबीएस अध्ययनरत विद्यार्थीहरूले रातदिन पालो गरेर निगरानी गरिरहेका छन्।
केसीका सहयोगी विशद दाहालका अनुसार कुनै जाँच गर्न नमानेका कारण भित्री अंगहरूमा एक्कासि असर पर्ने हो कि भन्ने चिन्ता छ। ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहँदा मनिटर जडान गरिएका कारण मुटुको चाल थाहा पाउन सकिन्थ्यो। अहिले स्वास्थ्य जाँच नगरेका कारण भित्री अंगमा एक्कासी असर पर्ने हो कि भन्ने डर छ,’ दाहालले भने।
मृगौला र मुटुमा असर पर्न सक्ने चिन्ता चिकित्सकले गरेका छन्। केसीको रगतमा गत मंगलबार नै पोटासियमको मात्रा अत्यन्त न्यून भएका कारण ‘हाइपोक्यालेमेसिया’का लक्षण देखिन थालेका थिए। रगत जाँच गर्दा पोटासियमको मात्रामा कमी देखिएको थियो।
शुक्रबार सरकारले जुम्लाबाट काठमाडौं ल्याएपछि डा. केसीले स्वास्थ्य जाँच गर्न मानेका छैनन्। यसैबीच केसीका वार्ताटोलीका तर्फबाट विज्ञप्ति जारी गर्दै डा. केसीलाई जुम्लाबाट काठमाडौं ल्याउने क्रममा सरकारद्वारा अत्यधिक बल प्रयोग गरिएका कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका भौतिक संरचनामा ठूलो क्षति भएको जनाइएको छ।
त्यसकै कारण अहिले डा. केसीले स्वास्थ्य जाँच गर्न समेत इन्कार गरिरहेको केसी वार्ता टोलीका तर्फबाट डा. जीवन क्षेत्रीले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ‘त्यसले गर्दा निरन्तर बिग्रिरहेको डा.केसीको स्वास्थ्य कति गम्भीर छ भन्ने जानकारी पाउनसमेत असम्भव भएको छ र कुनै पनि बेला गम्भीर जटिलता आउने सम्भावना बढेको छ,’ विज्ञप्तिमा भनिएको छ।
चिकित्सा शिक्षासम्बन्धी विधेयक फिर्ता गरेर सार्थक र परिणाममुखी वार्ताका लागि पूर्ण म्यान्डेटसहितको सरकारी टोली वार्तामा आउनासाथ डा. केसी तत्काल वार्तामा बस्ने पनि विज्ञप्तिमा जनाइएको छ।
यस्तै, डा. केसीका समर्थकले आइतबारदेखि वसन्तपुरमा सामूहिक अनशन बस्ने जनाएका छन्। डा. केसीको जीवनरक्षाका लागि सामूहिक सत्याग्रह सुरु गर्न लागिएको डा.केसीका समर्थक अधिवक्ता ओमप्रकाश अर्यालले बताए।