पुटिनले ट्रम्पलाई दिएको उपहारको छानबिन हुँदै
न्यूयोर्क : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिएको उपहारको अनुसन्धान भइरहेको छ । पुटिनले ट्रम्पलाई रातोमा सेतो रंगको फुटबल उपहार दिएका थिए । अमेरिकी सुरक्षा सेवाले उक्त फुटबलको अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
सुरक्षा सेवाका अनुसार राष्ट्रपतिलाई प्रदान गरिएका सबै उपहारको अनुसन्धान गर्न उसको कर्तव्य हो । फिनल्यान्डको राजधानी हेलसिन्कीमा आयोजित शिखर वार्तापछि भएको संयुक्त पत्रकार सम्मेलनमा पुटिनले ट्रम्पलाई उक्त फुटबाल उपहार दिएका थिए । सन् २०१८ को विश्वकप रूसको सोचीमा सम्पन्न भएको थियो । ट्रम्पले उक्त उपहार स्वीकार गर्दै आफ्ना १२ वर्षीय छोरा बेरनलाई दिने बताएका थिए । बेरेन फुटबल खेलका प्रशंसक हुन् ।
रिपब्लिकन पार्टीका सिनेटर एवं पुटिनका आलोचक लिन्डसे ग्राहले पुटिनले दिएको बलको अनुसन्धानमा विभिन्न प्रश्न उठाएका थिए । राष्ट्रिय सुरक्षाका निर्देशक डान कोट्सले उक्त बलको निकै गम्भीरताका साथ अनुसन्धान भएको जानकारी दिएका छन् ।