तरुण दलको प्रदर्शन : इट्टा प्रहारपछि अश्रुग्यास र लाठी चार्ज

तरुण दलको प्रदर्शन :  इट्टा प्रहारपछि अश्रुग्यास र लाठी चार्ज

 काठमाडौं : सरकारविरुद्ध शनिबार सडकमा उत्रिएको प्रमुख विपक्षी कांग्रेसको भ्रातृ संगठन तरुण दलका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा ५४ जना प्रदर्शनकारी र २ डीएसपीसहित ११ जना प्रहरी घाइते भएका छन् ।

तरुण दलको आह्वानमा भएको प्रदर्शनमा प्रमुख सचेतक बालकृष्ण खाण, राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलगायत सहभागी थिए । माइतीघरमण्डलबाट सुरु भएको प्रदर्शन बिजुलीबजार पुल तरेपछि प्रहरीसँग आमनेसामने भएको थियो । चर्को नाराबाजी गरेका प्रदर्शनकारीलाई नयाँ बानेश्वरमा प्रहरीले रोक्न खोजेपछि तनाव उत्पन्न भएको थियो ।

तरुण दलका कार्यकर्ताले प्रहरी घेरा तोडेर अघि बढ्न खोज्दा झडप भएको हो । प्रदर्शनकारीले प्रहरीमाथि इँटा प्रहार गरेपछि प्रहरीले २३ सेल अश्रुग्यास र लाठी चार्ज गरेको थियो । झडपमा तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, पूर्वमन्त्री वीरबहादुर बलायर, ललितपुर कांग्रेसका सभापति मदन अमात्य, तरुण दल रामेछापका सभापति काजीबहादुर खड्का, नेविसंघका वरिष्ठ उपाध्यक्ष पुष्पकुमार शाही, मोरङ तरुण दलका नेता अनुरोध शाहलगायत १४ जना घाइते भए ।

नयाँ बानेश्वरस्थित सिभिल अस्पतालले दिएको जानकारीअनुसार शाहको टाउकोमा रगत जमेकाले भैंसेपाटीस्थित मेडिसिटी अस्पताल पठाइएको छ । नागरिक समाजको भेलामा पुगेका अविभावक संघका अध्यक्ष सुप्रभात भण्डारीलाई पनि लाठी चार्जमा चोट लागेको छ । प्रदर्शनकारीको ढुंगामुढाबाट घाइते प्रहरी इन्स्पेक्टर खेम नेपाल वीर अस्पतालमा भर्ना भएका छन् ।

 

  • प्रहरीतर्फ डीएसपीसहित ११ जना घाइते
  • प्रदर्शनकारीतर्फ पूर्वमन्त्री बलायरसहित ५४ जना घाइते
  • २३ सेल अ श्रुग्याँस प्रहार
  • पाँच पत्रकार पनि कुटिए

महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विश्वराज पोखरेलले इन्स्पेक्टर नेपालको घाँटी र गुप्तांगमा प्रदर्शनकारीले रड प्रहार गरेको बताए । पोखरेलका अनुसार नेपालसँगै डीएसपी दानबहादुर मल्ल, कुलदीप चन्दलगायत ११ जना प्रहरी घाइते भएका छन् । ‘प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले सम्झाउन खोज्यो । उल्टै उनीहरूले लाठी खोसेर प्रहरीलाई हान्न थाले’, उनले भने, ‘प्रहरीका पेस्तोल र सञ्चारसेटसमेत कब्जामा लिने काम भयो ।’ उनका अनुसार पेस्तोल र सञ्चारसेट प्रहरी टोलीले फिर्ता माग्दा प्रदर्शनकारी झन् उत्तेजित भएर प्रहरीमाथि खनिएका थिए ।

झडप रोकिएपछि प्रदर्शनकारीले एउटा सञ्चारसेट फिर्ता दिएको जानकारी पोखरेलले दिए । तरुण दल अध्यक्ष बस्नेतले शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेर सरकारले प्रदर्शनकारीलाई उत्तेजित बनाएको आरोप लगाए । ‘हामी शान्तिपूर्ण आन्दोलन गरिरहेका थियौं । प्रहरीले नै उक्साउने काम गर्‍यो’, उनले भने ।

प्रहरीको लाठीबाट समाचार संकलन गर्न गएका नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी, राजधानी दैनिकका पत्रकार महेश्वर गौतम, न्युज २४ का पत्रकार निवेश कुमार, द हिमालयन टाइम्सका स्कन्द गौतम र प्रवीण महर्जनसमेत घाइते भएका छन् । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले विज्ञप्तिमा जारी गर्दै स्वतन्त्रतापूर्वक आफ्नो जिम्मेवारी पूरा गरिरहेका पत्रकारमाथि भएको प्रहरी ज्यादतिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गरेको भन्दै खेद व्यक्त गरिएको छ । कांग्रेसले शान्तिपूर्ण प्रदर्शनमा गरिएको प्रहरी हस्तक्षेपको भत्सर्ना गरेको छ ।

झडपमा नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डको झ्यालका सिसा फुटेका छन् भने तीन वटा सरकारी गाडी तोडफोड भएको छ । यस्तै एउटा निजी गाडीसमेत तोडफोड भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.