युक्रेनमा जनमत संग्रह अवैध : अमेरिका

युक्रेनमा जनमत संग्रह अवैध : अमेरिका

वासिङटन : अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले युक्रेनमा जनमत संग्रह गराउनु अवैध भएको बताएको छ। यस्तो जनमत संग्रह स्वतन्त्र र निष्पक्ष पनि हुन नसक्ने अमेरिकाले जनाएको छ।

बिहीबार रूसले जनमत संग्रहको प्रस्ताव गरेको थियो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा जनमत संग्रहको माग गरेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पुटिनबीच हेलसिन्कीमा भएको शिखर वार्तामा अमेरिकाले युक्रेनमा जनमत संग्रहको समर्थन गरेका खबर आएका थिए। केही वर्षअघिको क्रिमिया रूसमा विलय हुने प्रक्रियाको पनि अमेरिका विरोधमा रही आएको थियो। अमेरिकाका लागि रूसका राजदूत एनातोली एन्तोनोभले हेलसिन्की शिखर वार्तामा यो विषयमा चर्चा भएको बताएका थिए।

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता गारेट मार्किसले रूस र युक्रेन सरकारबीच डोनाबास क्षेत्रमा भइरहेको संघर्ष समाप्त गर्न जनमत संग्रहको कुनै विकल्प नराखिएको जानकारी दिएका छन्। मार्किसले भने, ‘’तथाकथित जनमत संग्रह गराउने कुनै पनि प्रयास वैध हुनेछैन।’ ट्रम्प र पुटिनबीच आगामी शरद ऋतुमा हुने शिखर वार्तामा छलफल हुने विषयमा यो नपरेको ह्वाइट हाउसले बताएको छ। उक्त शिखर वार्तामा राष्ट्रिय सुरक्षामा केन्द्रित हुनेछ।

क्रिमिया रूसमा विलय भएपछि पूर्वी युक्रेनमा पनि जनमत संग्रह गराउन माग गरिएको छ। क्रिमियामा गराइएको जनमत संग्रहमा अत्यधिक बहुमतले रूसमा विलय हुने निर्णय गरेको थियो। अमेरिका लगायत पश्चिमा शक्तिले भने क्रिमिया विलयलाई अवैध भएको भन्दै आएका छन्।

क्रिमिया रूसमा विलय भए पनि पूर्वी युक्रेनमा हिंसा रोकिएको छैन। त्यहाँका विद्रोहीले भाषिक र क्षेत्रीय एजेन्डा उठाएर स्वायत्त राज्य माग गरिरहेका छन्। युक्रेनले त्यो स्वीकार गरेको छैन। युक्रेनी सरकारले यो विद्रोहको एजेन्डा कुनै पनि हालतमा स्वीकार नगरिने जनाएको छ। यस विद्रोहमा पनि रूसको हात रहेको आरोप अमेरिकाको छ। रूसले भने युक्रेनका नागरिकले उठाएका एजेन्डामा आफ्नो कुनै पनि हात नरहेको बताएको छ।

युक्रेनको सैन्य सुधारका लागि अमेरिकी सहयोग

रूसको प्रस्तावलगत्तै अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले युक्रेनी सेनाको क्षमता बढाउन सैन्य सहयोग घोषणा गरेको छ। अमेरिकाले युक्रेनलाई सहयोगको घोषणा गर्नु संयोगमात्र नभएको अधिकारीहरूको भनाइ छ।

युक्रेनको सैन्य सुधारका लागि अमेरिकाले २० करोड अमेरिकी डलर बराबरको सहयोग गर्ने भएको पेन्टागनले शुक्रबार सार्वजनिक गरेको छ। पेन्टागनले युक्रेनलाई सुरक्षा सहायता कार्यक्रमअन्तर्गत पहिलो चरणमा उक्त रकम उपलब्ध गराएको हो। युक्रेनी सेनाको क्षमता अभिवृद्धि गर्ने, सैन्य उपकरण खरिद गर्ने तथा सेनालाई तालिम दिने जस्ता कार्यमा उक्त रकम प्रयोग गरिन बताइएको छ। 
विशेषगरी युक्रेनको सेनाको आफ्नो प्रतिरक्षात्मक क्षमता अभिवृद्धिका काममा उक्त रकम सदुपयोग गरिने अमेरिकी दाबी छ। युक्रेनी सेनाको क्षमता अभिवृद्धिका लागि भन्दै अमेरिकाले सन् २०१४ मा नै १ अर्ब अमेरिकी डलर बराबरको सैनिक सहयोग कोष घोषणा गरेको थियो। त्यसयताको सहयोगमा यो २० करोड डलर छिट्टै दिने घोषणा शुक्रबार गरेको हो। विशेषगरी युक्रेनी भूभाग क्रिमिया रूसमा विलय हुने प्रक्रियाको शुरुआतसँगै अमेरिकाले युक्रेनी सेनालाई सहयोग गर्ने प्रक्रियाको थालनी गरेको हो।

पुटिनले दिएको उपहारको अनुसन्धान

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिएको उपहारको अनुसन्धान भइरहेको छ। पुटिनले ट्रम्पलाई रातोमा सेतो रंगको फुटबल उपहार दिएका थिए। अमेरिकी सुरक्षा सेवाले उक्त फुटबलको अनुसन्धान भइरहेको जानकारी दिएको छ। सुरक्षा सेवाका अनुसार राष्ट्रपतिलाई प्रदान गरिएका सबै उपहारको अनुसन्धान गर्न उसको कर्तव्य हो। फिनल्यान्डको राजधानी हेलसिन्कीमा आयोजित शिखर वार्तापछि भएको संयुक्त पत्रकार सम्मेलनमा पुटिनले ट्रम्पलाई उक्त फुटबाल उपहार दिएका थिए। सन् २०१८ को विश्वकप रूसको सोचीमा सम्पन्न भएको थियो। ट्रम्पले उक्त उपहार स्वीकार गर्दै आफ्ना १२ वर्षीय छोरा बेरनलाई दिने बताएका थिए। बेरेन फुटबल खेलका प्रशंसक हुन्। रिपब्लिकन पार्टीका सिनेटर एवं पुटिनका आलोचक लिन्डसे ग्राहले पुटिनले दिएको बलको अनुसन्धानमा विभिन्न प्रश्न उठाएका थिए। राष्ट्रिय सुरक्षाका निर्देशक डान कोट्सले उक्त बलको निकै गम्भीरताका साथ अनुसन्धान भएको जानकारी दिएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.