बाबुराम भट्टराई तीन साता लामो युरोप भ्रमणमा
काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई आइतबार रुस जाँदै छन्। उनी रुससहित युरोपेली मुलुकको तीन साता लामो भ्रमणमा निस्कन लागेका हुन्। उनको निजी सचिवालयले 'प्राज्ञिक भ्रमणका लागि' जान लागेको जनाएको छ।
उनी रुस हुँदै युरोपका स्विडेन, जर्मनी, बेल्जियम, फ्रान्स, इटलीसहित अन्य देश पुग्नेछन्। 'उहाँले सम्भव भएसम्म प्रवुद्ध मण्डल, चिन्तक, प्राध्यापक, विद्यार्थी तथा प्राज्ञिक व्यक्तित्वहरुसँग भेटघाट तथा अन्तरक्रिया/छलफल गर्नुहुनेछ', उनको निजी सचिवालयद्वारा जारी प्रेस नोटमा भनिएको छ, 'यो भ्रमणलाई उहाँले सकेसम्म आफ्नो ज्ञानको दायरा फराकिलो पार्ने र आफ्नो अनुभव आदानप्रदान गर्नमा उपयोग गर्नुहुनेछ।'
भ्रमणका क्रममा भट्टराई गैह्र आवासीय नेपाली संघको निमन्त्रणामा साउन १३ गतेदेखि लक्जमवर्गमा हुने गैह्र आवासीय नेपाली संघको युरोप क्षेत्रीय बैठकमा पनि सहभागी हुनेछन्।
भट्टराईसँग उनकी पत्नीसमेत रहेकी नयाँ शक्ति पार्टीकी नेत्री हिसिला यमी पनि हुनेछिन्। भ्रमण पूरा गरी उनीहरू साउन २३ गते काठमाडौं फर्कनेछन्।