मलद्वारबाट सुन तस्करी
काठमाडौं : ढिक्का सुन लुकाएर ल्याउँदा विमानस्थलमा एक्सरे मेसिनबाट पत्ता लाग्ने देखिएपछि कारोबारीले नौलो तरिका अपनाउन थालेका छन्। तस्करले मुखदेखि मलद्वारभित्र सुन लुकाएर ल्याउने गरेको प्रमाण प्रहरीले फेला पारेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले शनिबार दुई भारतीय नागरिकलाई मलद्वारभित्र लुकाएर ल्याएको सुनसहित पक्राउ गरेपछि यस्तो तथ्य बाहिर आएको हो।
विमानस्थलको आगमन कक्षबाट भारतीय नागरिक इम्रान र अरिफ अलिले सुन ल्याएको सूचनापछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। सुरुमा उनीहरूले सुन नल्याएको ढिपी कसे। शरीर खानतलासी गर्दा शौचालय जान मन लागेको बताएपछि प्रहरीले उनीहरूलाई शौचालय लगियो। शौच गर्न समय लागेपछि प्रहरीले उनीहरूमाथि थप केरकार गर्दा मुख खोले। प्रहरीले दुवैलाई चिकित्सककहाँ पुर्याएर शौच गर्न लगाएपछि गोलो चक आकारमा एकदेखि नौसम्म वटा नम्बर लेखिएका टुक्रा सुन फेलापर्यो। तस्करले सुनलाई प्लास्टिकमा र्यापिङ गरेर जबर्जस्ती मलद्वारभित्र छिराई लुकाएर दुई किलो ६ सय ८० ग्राम सुन ल्याएको प्रहरीले जानकारी दिएको छ।
कतिपय तस्करले मुखमा लुकाएर पनि सुन ल्याउने गरेका छन्।
सुन तस्करीमा यो नौलो प्रयोग रहेको विमानस्थलका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए। थाई एयरको उडानद्वारा बैंककबाट काठमाडौं ओर्लिएका उनीहरूले बैंककबाटै उक्त परिमाणको सुन मलद्वारभित्र लुकाई ल्याएका थिए। बरामद सुनको मूल्य एक करोड ३० लाख दुई सय ३० रुपैयाँ पर्छ।
यसअघिको घटना झनै रोचक छ। गत बिहीबार तीन भारतीय नागरिक एयर अरेबियाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए। सुरुमा त उनीहरु बोल्दै बोलेनन्। प्रहरीले उनीहरूको पिछा गर्यो। एक पटक पनि मुख नखोलेपछि प्रहरीले उनीहरूलाई मुख खोल्न आग्रह गर्यो। मुख खोल्न नमानेपछि जबर्जस्ती मुख खोल्न लगाउँदा टाँक आकारका सुनका टुक्रा फेला परे। भारतीय नागरिक फैजान खान, साइद मोहम्मद कासिफ र अडिलले सुनलाई टाँक आकारको बनाएर मुखभित्र लुकाई ल्याएका थिए। फेला परेको सुनको परिमाण पाँच सय ५९ ग्राम तौल थियो। ‘हामी त सुन ल्याउने तरिका देखेर छक्क पर्यौं, सुरक्षा जाँचमा कडाइ गरेपछि कारोबारीले विभिन्न तरिका अपनाउँदै आएका रहेछन्’, एसपी मैनालीले अन्नपूर्णसँग भने, ‘भन्सार र अन्य संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेपछि तस्करले अनेक तिक्डम लगाउने गरेका छन्।’