पूर्वाधार र कृषिमा ध्यान

पूर्वाधार र कृषिमा ध्यान

फुङलिङ : ताप्लेजुङका स्थानीय तहले आफ्ना नीति तथा कार्यक्रममा पूर्वाधार र कृषि विकासलाई प्राथमिकतामा राखेका छन् । अधिकांश तहले विकास बजेटको ठूलो हिस्सा सडक, भवन र खेलमैदान निर्माणमा लगाउने योजनासहितको बजेट सार्वजनिक गरिरहेका छन् ।

जिल्लाको एक मात्र नगरपालिका फुङलिङले सडक निर्माणमा ५ करोड ८० लाख बजेट विनियोजन गरेको छ । सदरमुकामसमेत रहेको नगरपालिकाले ९० लाख रुपैयाँ बसपार्क निर्माणमा लगानी गरेको छ । भवन निर्माणमा १ करोड ४८ लाख, ढल निकासमा १ करोड १ लाख, खानेपानीमा ७४ लाख, खेलमैदान निर्माणमा ६७ लाख विनियोजन गरिएको नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले बताए ।

गाउँपालिकाले भने प्रत्येक वडा कार्यालय र गाउँपालिका जोड्ने सडक निर्माणलाई गौरवकै आयोजनाका रूपमा अगाडि बढाउने भएका छन् । २३ करोडको बजेट ल्याएको मैवाखोलाले पूर्वाधार निर्माणमा ४ करोड ८ लाख विनियोजन गरेको छ । ‘हामी शिशु अवस्थामै छौं’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीणहाङ योङहाङले भने, ‘त्यसैले हाम्रो ध्यान सडक निर्माण, स्तरोन्नति र गाउँपालिका, वडा कार्यालय भवनजस्ता पूर्वाधारमै छ ।’

भौतिक संरचना राम्रो भए मात्र सेवा प्रवाह गर्न सहज हुने गाउँपालिका अध्यक्ष राजन थत्लुङको ठम्याइ छ । निर्वाहमुखी कृषिलाई निर्यातमुखी बनाई जनताको जीवनस्तर उकास्ने योजनामा ४० लाखका कार्यक्रम सञ्चालन गरिने उनले बताए । ‘प्रत्येक वडामा कम्तीमा १÷१ वटा प्रयोगात्मक कृषक पाठशाला सञ्चालन गरी किसानलाई व्यावसायिक ज्ञान प्रदान गर्ने कार्यक्रम छ’, उनले भने, ‘सुन्तला, कागती, किवीजस्ता फलफूलको व्यावसायिक खेतीका लागि उन्नत जातका बीउ र बिरुवा वितरण गर्ने, अकबरे खुर्सानी खेतीलाई प्रोत्साहन गर्नेजस्ता कार्यक्रम पनि छन् ।’

गाईपालनमा किसानलाई ५० प्रतिशत अनुदान दिने योजना पाथीभरा याङ्वरक गाउँपालिकाको छ । ‘दुग्धजन्य वस्तु उत्पादनका माध्यमबाट रोजगारी सिर्जना गर्दै किसानको आत्मसम्मान बढाई गरिबी न्यूनीकरण गर्दै लैजाने हाम्रो मुख्य लक्ष्य छ’, गाउँपालिका अध्यक्ष केशर मेन्याङ्बोले भने, ‘गाईपालनका लागि ५० प्रतिशत अनुदान र प्रतिगाई ३ हजारका दरले ढुवानी अनुदानको व्यवस्था गरेका छौं ।’

पूर्वाधारअन्तर्गत गौरवका आयोजनाका रूपमा कामीडाँडा–थेचम्बु–चाक्सीबोटे हुँदै चिउरिगोलाई जोड्ने सडकका लागि १ करोड छुट्याइएको छ । मेची राजमार्गसँग गाउँपालिका केन्द्र जोड्ने सीधा सडक स्तरोन्नति गर्ने, गाउँपालिका केन्द्रसम्म सबै वडा सडक सञ्जालले जोड्ने नीति अघि बढाइने र जसको चौडाइ ६ मिटरको बनाउने गाउँपालिकाको योजना छ ।

आठराई त्रिवेणी गाउँपालिकाले पूर्वाधार विकासका लागि गुरुयोजना बनाउने भएको छ । हरेक वडालाई जोड्ने गौरवका सडक निर्माण गरी आठराई त्रिवेणी मार्ग नामकरण गर्ने जनाइएको छ । गाउँपालिकाभित्र जुनसुकै संरचना पनि बालमैत्री, अपांगमैत्री बनाइने गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौलाले बताए ।

उन्नत जातका गाई, बाख्रा उत्पादन गरी कम लगानीमा बढी आयआर्जन गर्न नश्ल सुधार गर्ने तथा गाउँपालिकालाई एक वर्षभित्रै मासु र अण्डामा आत्मनिर्भर बनाउने योजना छ । पर्यटकीय स्थलको प्रवद्र्धन गरी पर्यटकलाई आकर्षित गर्नेजस्ता कार्यक्रम पनि रहेको प्रमुख प्रशासकीय अधिकृत छविलाल राईको भनाइ छ ।

मेरिङदेन गाउँपालिकाले वडा कार्यालय र स्वास्थ्य चौकी भवन निर्माणलाई यो वर्ष प्राथमिकता दिएको छ । चार वडा कार्यालय, एउटा स्वास्थ्य चौकी र एउटा नमुना विद्यालय निर्माण गर्ने लक्ष्य रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले बताए । तमोर र मैवा नदी किनारमा रहेको दोभान बजारको तटबन्ध निर्माण, गुराँसे पोखरी संरक्षणलगायत प्रत्येक वडालाई केन्द्रसँग जोड्ने नमुना सडक निर्माणका लागि ६ वटै वडामा २५ लाखका दरले विकास बजेट रहेको बस्नेतको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.