तातो हावाले ३० जापानीको मृत्यु
तोक्यो : जापानमा अत्यधिक गर्मीका कारण ३० जनाको ज्यान गएको अधिकारीले आइतबार जानकारी दिएका छन् । केही दिनयता यहाँको तापक्रम अनासायै बढेपछि व्यक्तिहरूलाई अनावश्क रूपमा घाममा नजान देशभर सूचना जारी गरिएको छ । अत्यधिक गर्मीका कारण उत्पन्न रोग र संक्रमणको उपचार गराउन हजारौँ व्यक्ति अस्पताल पुगेका छन् । गत साताको शुरुदेखि बढेको तापक्रम जापानमा ४०.७ डिग्री सेल्सियससम्म पुगेको छ ।
यो तापक्रम पाँचवर्ष यताकै उच्च भएको सरकारले बताएको छ । यसैबीच क्योतो सहरमा लगातार सात दिनसम्म ३८ डिग्री सेल्सियसभन्दा माथि तापक्रम रहेको जनाइएको छ । जापानमा तापक्रमको रेकर्ड राख्न थालिएयताकै यो उच्च तापक्रम भएको जापान सरकारको मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
जापानको शिक्षा मन्त्रालयले विद्यालयहरूलाई उच्च गर्मीबाट जोगिनका लागि सक्दो उपाय अपनाउन आदेश दिएको छ । मंगलबार जापानको क्योतो शहरको आइची जिल्लामा सञ्चालित एक विद्यालयमा ५ वर्षीय बालकको ज्यान गएको थियो । त्यसैले कतिपय जिल्लाका प्राथमिक विद्यालयको पठनपाठन पनि बन्द गराइएको छ । थप एक दुई दिन यस्तो गर्मी भए अन्य विद्यालय बन्द गर्ने बारेमा पनि सोच्न सकिने अधिकारी बताउँछन् ।
जापानमा यसै महिनाको शुरुमा भएको ठूलो वर्षाका कारण उत्पन्न बाढी र पहिरोले २ सयभन्दा धेरैको ज्यान गएको थियो । उक्त बाढी र वर्षा पनि यहाँ गएको करिब ४० वर्षपछिकै सबैभन्दा ठूलो भनिएको थियो । बाढीको प्रकोप घटेपछि लगत्तै तातो हावा चल्न थालेको छ । यसलाई कतिपय मौसमविद्ले यसलाई जलवायु परिवर्तनसँग तुलना गरेर पनि हेरेका छन् । यस विषयमा यहाँका अधिकारीले भने केही बताएका छैनन् ।
भियतनाममा आँधी र बाढीले १० को मृत्यु
हनोई : भियतनाममा भारी वर्षापछि आएको बाढी र आँधीका कारण ठूलो जनधनको क्षति भएको छ । बाढीबाट कम्तीमा दशजनाको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् । आँधीका कारण कैयौँ व्यक्ति हराएका छन् । यहाँ मौसमी वर्षा र आँधीमा परी वर्षेनि सयौँ व्यक्तिको मृत्यु हुने गरेको छ । भियतनाममा यस वर्षको शुरुदेखि हालसम्म आएको यो तेस्रोपटकको आँधी हो । बुधबारबाट आएको यस आँधीको नाम ‘सन टिन्ह’ रहेको बताइएको छ । भारी वर्षाका कारण राजधानी हनोईदेखि लिएर देशका सबै क्षेत्रमा बाढी आएको छ । साथमा आँधी पनि आएको छ । यसले गर्दा उद्धारको काम हुन सकिरहेको छैन । भियतनामको उत्तरी पहाडी प्रान्त येन बाई र तान्ह होआमा प्रकोपले बढी क्षति पुर्याएको छ । यी प्रान्तमा नै १० व्यक्तिको मृत्यु भएको छ ।
बाढीको प्रकोपका कारण करिब चार हजार घर भत्किएका छन् भने हजारौँ हेक्टर खेती लगाएको जमिन बगेको छ । मौसमविद्ले अझै भारी वर्षा हुने चेतावनी दिएका छन् । गत वर्ष पनि भियतनाममा जारी प्राकृतिक प्रकोपका कारण ३ सय ८९ व्यक्तिको मृत्यु भएको थियो ।