सडकमा टिपर आतंङ्क, ज्यान जोगाउनै मुस्किल
बनेपा : पछिल्लो समय सडकमा हुने टिपर आतंकका कारण ज्यान जोगाउन मुस्किल पर्न थालेको छ।
खासगरि काभ्रे जिल्लासँग जोडिएको अरनिको र बिपी राजमार्गमा दैनिकजसो हुने टिपर आतंक र दुर्घटनाका कारण सडकप्रयोगकर्ता हैरान भएका हुन्। टिपरको बढ्दो चाप, साँघुरो सडक र तीब्र गतिका कारण पैदलयात्री र साना सवारीचालक टिपरबाट आतंकित भएका हुन्।
दैनिक रुपमा बढ्दै गएको टिपरको चाप र अव्यस्थित सडकका कारण दुर्घटना बढ्दै गएको प्रहरीको तथ्यांक छ। जिल्ला ट्राफिक कार्यालय काभ्रेका अनुसार, ६० प्रतिशत दुर्घटना टिपरका कारणले हुने गरेको छ।
ट्राफिक कार्यालय काभ्रेका प्रमुख निशेष चापागाईले साँघुरो बाटो, तीब्र गति र कम उमेरका सवारीचालकका कारण अरनिको र बिपी राजमार्गमा बढी दुर्घटना हुने गरेको जानकारी दिए।
चापागाईले भने, ‘टिपर दुर्घटनामा संलग्न चालक अधिकांश २२ वर्षदेखि २५ वर्षका छन् जसका कारण उमेरको जोश, अपरिपक्वता, साँघुरा र बढी मोड भएका सडकमा तीब्र गति नै दुर्घटनाका प्रमुख कारण हुन्।’
प्रहरीका अनुसार, सिन्धुली, सिन्धुपाल्चोक र काभ्रेका ढुंगा खानी र क्रसरबाट गिटी, बालुवा र ढुंगा ओसारपसारमा तीन हजारभन्दा बढी टिपर सञ्चालन हुने गरेका छन्।
जिल्ला ट्राफिक कार्यालय काभ्रेका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ६५ दुर्घटनामा ६५ जनाले ज्यान गुमाएका छन्। जसमा टिपरका कारण २७ वटा दुर्घटना भए र १३ जनाले ज्यान गुमाए। आव २०७४/७५ मा ५३ वटा दुर्घटनामा ४४ जनाले ज्यान गुमाएका थिए जसमा २२ वटा दुर्घटना टिपरका कारण भएका थिए। यी दुर्घटनामा ९ जनाले ज्यान गुमाए।
दुर्घटना बढ्नुका प्रमुख कारण साँघुरो सडक बढ्दो सवारी चाप, धेरै खाल्डाखुल्टी र अपरिपक्व टिपर चालक भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए।
‘अधिकांश दुर्घटनाको कारण चालकको लापरबाही र तीब्र गति नै हो’, उनले थपे, ‘तीब्र गतिका कारण अधिकांश टिपरले अन्य सवारीलाई ठक्कर दिने घटना बढेको छ।’
टिपरले धेरैजसो मोटरसाइकल, साना सवारी र पैदलयात्रीलाई ठक्कर दिने गरेको तथ्यांक छ। उनले थपे, ‘टिपर चालकको छाडा प्रवृत्ति निर्मुल गर्न अभियान नै चलाएका छौं।’
तीन दर्जनभन्दा बढी टिपर चालकलाई राजमार्गमा पानी चुहाउँदै तीब्र गतिमा कुदाएको आरोपमा सार्वजनिक मुद्दा चलाएको जिल्ला प्रहरीको तथ्यांक छ।
तीब्र गति र साँझ बिहान हरेक समय ध्वनी प्रदूषण, वायु प्रदूषण गर्नुका साथै सडकमा पैदल र साना सवारी साधनमा हिँड्डुल गर्न डर भएको पनौती नगरपालिका–७ की देवकी बस्नेत बताउँछिन्।
‘सडकमा ढुक्कसँग हिँडडुल गर्ने वातावरण हुँदैन’, उनले भनिन्, ‘वर्षामा हिलो र हिउँदमा धुलोले सताउने त सामान्य छ तर सडकमा हिँडडुल गर्दा कुन बेला ठक्कर दिन्छ पत्तो हुँदैन।’
स्थानीय सरकारका साथै केन्द्रीय सरकारले पनि यसबारे चासो देखाउनु पर्ने स्थानीय बासिन्दाको भनाई छ। उनीहरु भन्छन्, ‘दुई चार व्यवसायीका लागि र राजस्व उठाउने नाममा जनताको जिउधन क्षति पु¥याउने भएकाले टिपर चलाउन रोक्नुपर्छ।’
दुर्घटना न्यूनीकरणका लागि फागुनदेखि प्रशासनले ट्रिपरलाई टाइम कार्ड लागू गरे पनि टिपर आतंक र दुर्घटना रोकिएको छैन।
सरकारले उपत्यकाका तीन जिल्लामा साँझ आठ बजेदेखि बिहान पाँच बजेसम्ममात्र टिपर चलाउन अनुमति दिएको छ।